Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

५ बर्ष सम्म पनि बन्न सकेनन् सबै विद्यालय, पुनर्निर्माणको उपलब्धि चानेचुने हैन : प्रधानमन्त्री

शुक्रबार, १२ बैशाख २०७७

काठमाडौं - भुकम्प गएको ५ बर्ष सम्म पनि सरकारले सबै विद्यालय पुनर्निर्माण गर्न सकेको छैन । सरकारको सुस्त कार्यशैलीका कारण भुकम्पले भत्काएका विद्यालयमा अध्ययनरत विद्यार्थीको मर्का भने जारी रहेको छ । २०७२ सालको विनाशकारी भुकम्पका कारण क्षती पुगेका मध्ये ५ हजार ५ सय ९८ विद्यालयको मात्रै  पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण गर्नु पर्ने विद्यालयको संख्या भने ७ हजार ५ सय ५३ छ ।
पाँचौ भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शन्देशमा पुनर्निर्माण सम्पन्न भएका विद्यालयको उक्त संख्या उल्लेख गर्दै अहिले सम्म प्राप्त भएको पुनर्निर्माणको उपलब्धि चानेचुने नभएको दावी गरिएको छ ।

'फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा हामीले भूकम्प प्रतिरोधी र आकर्षक कैयौं संरचनाहरु बनाउन सफल भएका छौं । निजी आवासतर्फ मात्रै हामीले करिव पाँच लाख घरहरुको पुनर्निर्माण सम्पन्न गरिसकेका छौं । १ लाख ९० हजार घरहरु पुनर्निर्माणको क्रममा छन्' प्रधानमन्त्रीको शन्देशमा भनिएको छ 'हालसम्म ९ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न भई नै सकेका छन् । थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्तीहरु बनिरहेका छन् । ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छं ।'

तर, यतिका समय सम्म अझै पनि १ हजार ९ सय ५५ विद्यालय पुनर्निर्माण हुन सकेको छैन । विद्यालयहरुको पुनर्निर्माण गर्न भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगत छुट्टै निकायका रुपमा शिक्षाका लागि काम गर्ने गरी केन्द्रीय आयोजना कार्यान्वयन इकाई गठन गरेको छ । इकाईको तथ्याङ्क अनुसार पुनर्निर्माण भएका मध्ये ४ हजार ५ सय ५३ विद्यालय विद्यालय व्यवस्थापन समितिको सहकार्यमा, ४ सय ११ ठेकेदार मार्फत् र ६ सय ३४ विभिन्न गैह्र सरकारी संस्थाहरु मार्फत् पुनर्निर्माण गरिएका हुन् । पुनर्निर्माण गर्न बाँकी मध्ये १ हजार ४ सय ९४ मा काम भईरहेको र ४ सय ६३ वटामा कामै शुरु भएको छैन ।
गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाएका थिए । मुलुकले करिव सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको सरकारी तथ्याङ्क छ ।
प्रधानमन्त्री द्वारा सार्वजनिक शन्देशमा त्यति बेला कतिपयले पुनर्निर्माण गर्न सकिएला भन्ने शँका गरेको स्मरण गर्दै धरहराको दशौं तल्ला ढलान भइसकेको उल्लेख गरिएको छ ।

'सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी हामीले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ । ३२ जिल्लाका सम्पदाहरुको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । यो हाम्रा लागि चानेचुने उपलब्धि मात्र होइन' शन्देशमा उल्लेख छ, 'यदि यस बीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो । मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो । सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।'

पुनर्निर्माण तथा पुनस्र्थापनामा नेपालको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने प्रधानमन्त्रीको दावी छ ।

विश्वका विभिन्न देशजस्तै नेपाल पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले शन्देशमा भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाईंमा एकताबद्ध हुन आग्रह पनि गरेका छन् ।

'सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यस भन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं' शन्देशमा भनिएको छ 'कोरोना भाइरस विरुद्धको यस लडाईँमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं ।'

* फाईल तस्विर

प्रतिक्रिया