Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

रोकिएका परीक्षा सञ्चालन बारे अन्योल कायमै, विधि निर्माण नहुँदै सामाजिक सञ्जाल मार्फत् 'हल्ला खल्ला' !

विहीबार, ०४ बैशाख २०७७

भक्तपुर - कोरोना भाइरस (कोभिड - १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि स्थगित गरिएका परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा सरकारले कुनै निष्कर्श निकाल्न सकेको छैन । कक्षा १०, ११ र १२ का परीक्षा अन्तिम समयमा आएर स्थगित गरिए पछि कहिले र कसरी हुने भने विषयमा अन्योल जारी छ ।  परीक्षा सञ्चालनका विषयमा विभिन्न विकल्प माथि छलफल जारी रहेको राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरुले बताउँदै आएका छन् ।

तरबुधबार साँझ परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का कामु नियन्त्रक रामराज खकुरेलको हस्ताक्षर सहितको परीपत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक भए सँगै होम सेण्टर कायम गरेर परीक्षा हुने भयो भन्दै हल्ला शुरु भयो । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइहरुलाई गरिएको उक्त परीपत्र 'विद्यार्थीलाई परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्र सम्म आउ जाउ गर्ने व्यवस्था मिलाउँदा कति केन्द्र थप गर्नु पर्छ' भन्ने बारेमा केन्द्रित छ । थप केन्द्र बनाउँदा आवश्यक पर्ने जनशक्ति र खर्चको आँकलन गर्नका लागि आन्तरिक रुपमा उक्त परिपत्र गरिएको थियो । ३ दिन भित्र विवरण पेश गर्ने भनिएको उक्त परिपत्रलाई परीक्षा हुने भयो भन्ने शैलीमा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरे सँगै निर्णयमा ढिलाई गर्ने तर काम गरेको देखाउन हल्ला खल्लामा रुची राख्ने शिक्षाका कर्मचारीको स्वभाव उदाँगो भएको छ ।

उक्त परिपत्र विभिन्न विकल्प मध्येको एउटा विषयलाई सम्बोधन गर्नका लागि गरिएको आन्तरिक मात्रै भएकोले कुनै निर्णयका रुपमा बुझ्न नहुने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्पष्ट पारेका छन् ।

'कोभिडका कारण अवस्था प्रतिकुल भएको बारेमा सबै जानकार नै छौं, भाइरस शुन्यमा पुग्न नसक्ने लक्षण देखिदैं छ, यस्तो बेला कुनै न कुनै विकल्प अपनाएर परीक्षा गर्नु पर्छ भन्ने बारेमा हामी छलफलमै छौं'  एडुखबरसँग उनले भने 'तर बुधबार गरिएको आन्तरिक परिपत्र मात्रै हो, विद्यार्थीलाई कोठा भाडामा बस्न नपर्ने गरी केन्द्र बनाउँदा कति खर्च थप लाग्दो रहेछ भनेर आँकलन गर्न खोजिएको मात्रै थियो, यसलाई नै निर्णयका रुपमा बुझ्नु हुँदैन ।'

विद्यार्थीले घरमै बसेर परीक्षा दिने विधि पनि हुन सक्छ की भन्ने बारेमा पनि छलफल जारी रहेको उनले बताए । परीक्षाका बारेमा निर्णय भएपछि बोर्डले औपचारिक रुपमा सार्वजनिक गर्ने र त्यस अघि आउने विभिन्न हल्लाहरुलाई ध्यान नदिन उनले विद्यार्थी र अभिभावकलाई आग्रह पनि गरेका छन् ।

भाइरसको सक्रमण रोकथामका लागि कतिपय स्थानमा विद्यालयहरुलाई नै क्वारेण्टाईन बनाईएको अवस्था छ । यस्तो बेलामा पहिले निर्धारण गरिएका परीक्षा केन्द्रको संख्या पनि घट्न सक्छ । भाइरसका कारण विद्यार्थीको मनस्थतीमा परेको नकारात्मक प्रभाव हटाएर परीक्षाका लागि तयार बनाउनु अर्का चुनौती छ । त्यसैले अहिलेको परिस्थिती विषम भएकाले यस अघिका परीक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा विद्यालयहरुले नै आन्तरिक परीक्षण गरेर परीक्षाफल प्रकाशन गर्न सकिने विकल्पका बारेमा पनि चर्चा शुरु भएको छ ।

प्रतिक्रिया