काठमाडौं - शिक्षक हुनका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गेको छ । श्री भुमिराज प्राथमिक विद्यालय बडम डडेल्धुराका राहत शिक्षक कलापति देवी अवस्थीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको अख्तियारको दावी छ ।
शिक्षक हुन उनले पेश गरेको माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट जारी हाइस्कुल परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले दावी गरेको छ । २०५७ मंसिर १ गते देखि साही विद्यालयमा निजी स्रोतमा नियुक्त अवस्थी २०६१ पुस २४ मा राहत दरबन्दीमा नियुक्त भएकी थिईन् । नक्कली प्रमाणपत्रको भरमा नियुक्ति भई सरकारी सुविधा एवं लाभ समेत लिई भ्रष्टाचार जन्य कसुर गरेको भन्दे अख्तियारले अधिकतम ६ बर्ष सम्म कैद माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०१७ को उफदफा १२ मा शैक्षिक योग्यता ढाँटेमा कसूरको मात्रा हेरी २ बर्ष देखि ६ बर्ष सम्म कैद र १६ मा ६ महिना देखि १ बर्ष सम्म कैद तथा १० देखि २० हजार जरिवाना तोकिएको छ । यस्तै दफा २९ मा २ मा ५ हजार जरिवाना एवं उक्त रकम भन्दा धेरै विगो भएमा सोही बमोजिम जरिवाना हुने ऐनमा व्यवस्था छ ।
प्रतिक्रिया