ब्रह्मा, गुरु विष्णु,गुरु देव महेश्वर ।
गुरु साक्षात् परम् ब्रह्म, तस्मै श्रीगुरवे नमः
संस्कृतमा व्यक्त यो अँश गुरूको महिमामा आधारित छ । गुरूलाई साक्षात् भगवानसँग सादृश्य गरिएको छ । प्राचीन कालमा गुरूको स्थान सर्वोच्च रहेको छ । गुरूका वाणीमा शक्ति रहन्थ्यो । गुरूमा साधना हुन्थ्यो । गुरू सत्पात्र हुन्थे । सादा जीवन उच्च विचार आदर्श थियो । गुरु भृतध्यायनलाई हेय सम्झन्थे, शिष्यहरू दीक्षा लिनको लागि गुरु आश्रम जान्थे । गुरूबाट प्राप्त दीक्षाले यस सांसारिक लोभ र मोहबाट मुक्ति गराउँथ्यो । पूर्वीय सभ्यतामा वेदव्यास, वशिष्ठ र द्रोणाचार्य आदीलाई असल गुरूका उदाहरणका रुपमा लिईन्छ ।
गुरूको महत्व प्रत्येक जाति र धर्ममा फरक रहेको छ । पछिल्लो समयमा गुरूको सट्टा शिक्षक हुँदै खैराँती माष्टर शब्दको सम्म प्रयोग हुन थाल्यो । पछिल्लो समयका औपचारिक शिक्षा दिने व्यक्तिको रूपमा शिक्षक शब्दको प्रयोग भयो । वास्तवमा उत्तम शिक्षा त्यो हो, जुन जीवन निर्वाहको संघर्षबाट प्राप्त हुन्छ । आत्मा अनुभुति नै शिक्षा हो । शिक्षा बानीहरूको निर्माण हो । शिक्षा केवल मानवमात्र लाई चाहिने वस्तु हो । शिक्षा दिने पहिलो शिक्षक आमा हुन्, जसले बालकलाई स्नेह, माया, ममता, शिष्टाचार दिन्छिन् र सिकाउँछिन् पनि । दोस्रो शिक्षक बाबु हुन् , जसले बालकलाई कुल, धर्म, पेशा र व्यवसाय सिकाउँछन् । हुनत शिक्षा प्रत्येक व्यक्तिले प्रत्येक वस्तु, व्यक्ति र घटनाबाट प्राप्त गर्छ । त्यसैले सबै प्रकृति नै शिक्षक हो । आज औपचारिक रूपमा प्रदान गरिएको शिक्षालाई मात्र शिक्षाको रूपमा लिइन्छ ।
दरबार स्कुलको स्थापना भए पछि बल्ल नेपालमा औपचारिक शिक्षाको थालनी भयो । दरबार स्कुल प्रथम शिक्षक क्यानिङ्ग थिए । उनीदेखि आजसम्म आइपुग्दा सत्र प्रकारका शिक्षकको संख्या करीब तीन लाख ५६ हजार छ । शिक्षक आफैँ जन्मन्छन्, शिक्षक बनाईंदैनन् । उचालेको कुकुरले मृग मार्दैन भनेझैं बनेका शिक्षक, असल शिक्षक हुन सक्दैनन् । कयौँ शिक्षक नचाहाँदा नचाहँदै शिक्षक बन्न पुगेका छन् । कयौं बनाइए । हालको शिक्षक छनौट प्रक्रियाले असल शिक्षक छान्न सक्दैन । घोकेको कुरा लेखेर शिक्षक छान्ने प्रवृत्ति गलत छ । शिक्षकले पढेको ज्ञान मात्र विद्यार्थी माझ खन्याउने होइन । शिक्षकको, व्यवहारको अनुकरण गरेर पनि विद्यार्थीले सिक्छन् । तसर्थ, आयोगले शिक्षकको छनौट गर्दा एप्टिच्यूट टेष्ट लिने व्यवस्था पनि गर्नु उपयुक्त हुन्छ । शिक्षक नियुक्ति हुनु पूर्व शिक्षकले पालना गर्नुपर्ने नैतिक एवं पेशागत आचार संहिता तयार गर्नुपर्छ । पाएसम्म अरूनै पेशा खोज्ने नपाए मात्र शिक्षक बन्ने चलन छ । मेघावी विद्यार्थीको रोजाइ अझै शिक्षा क्षेत्र हुन सकेको छैन । शिक्षक प्रति राज्य र समाजले हेर्ने दृष्टिकोण समेत हेय रहेको छ ।
सरकार, खरदार र मुखियालाई राष्ट्रिय मर्यादाक्रमा राख्छ, उच्च शिक्षामा पढाउने प्राध्यापकको मर्यादाक्रम हुन्छ तर विद्यालयमा पढाउने शिक्षकलाई राष्ट्रियस्तरको मर्यादा क्रममा समेत समावेश गर्दैन । हुनत यसका आन्तरिक र बाह्य कारण हुनसक्छन् । जहाँ गरिबी छ, त्यहाँ शिक्षकको सम्मान हुँदैन । कतिपय शिक्षक सेवामा प्रवेश गर्दा अर्काको सोर्सफोर्सको आधारमा, नातावादको आधारमा र धनको आधारमा गरे । ती मध्ये केही शिक्षकले आफूलाई कमजोर ठानी जहिले पनि प्रतिष्पर्धाबाट उम्कने प्रयास गरे । यसले पनि समाजको शिक्षक प्रति हेर्ने नजरमा फरक छ ।
विगतमा प्रजातान्त्रिक सरकारले कहिले शिक्षकलाई स्वतः स्थायी, कहिले आन्तरिक प्रतिस्पर्धा, कहिले आन्तरिक प्रतिस्पर्धा सहितको गोल्डेनह्याण्डसेक दिने कानुनी व्यवस्या गर्यो । धेरै शिक्षकले राहात पाए । अझै पनि यी अधिकारबाट वञ्चित इसिडि, निजी, राहात तथा अनुदानका अध्यापन गराउने शिक्षकको कुल संख्या एक लाख २६ हजार दुईसय २७ छ । यी सबै शिक्षकको व्यवस्थापन वान विन्डो सिष्टमबाट गर्नुपर्छ । फेरि किस्तावन्दीमा समस्याको समाधान खोजियो भने शिक्षामा सुधार दीवास्वप्न सरह हुन्छ । समान समस्याको समाधान समान आधारबाट गर्नुपर्छ । नीति बनाएर कसैलाई लाखा र कसैलाई पाखा गर्नु नीतिगत भ्रष्टचार हो । तर शिक्षक छनौट गर्दा हाम्रा भन्दा पनि असल शिक्षक छनौट गर्नुपर्छ ।
शुरूका वर्षमा राम्रा भन्दा हाम्रा शिक्षक नियुक्ति गर्न टिपेक्स काण्ड चल्यो । एकपटक आयोगले परीक्षा लिए पछि नतिजा प्रकाशन गर्न एक दशक लाग्यो । नयाँ विज्ञापन खोल्न डेढ दशक कुर्नु पर्यो । यसले एकातिर विद्यालयमा दक्ष जनशक्ति भित्रिन पाएन । अर्कोतर्फ, अध्पापनरत शिक्षकको व्यवस्थापनको पाटो झन झन जटिल बन्दै गयो । विगतका सरकारका यी अदूरदर्शी कार्यले शिक्षाको विकास पाँच दशक पर धकेलिएको छ ।
सरकार शिक्षा ऐन संशोधनको क्रममा छ, यसतर्फ बेलैमा सोच्नुपर्छ । नत्र, अब आउने पुस्ताले फेरि हामीलाई धिक्कार्ने छ । असल शिक्षकबाट शिक्षा लिन पाउनु विद्यार्थीको अधिकार हो । असल शिक्षक हुन असल गुणयुक्त र विषयवस्तुमा दक्ष हुनुपर्छ । एउटा शिक्षकसँग हजारौं विद्यार्थीको भविष्य जोडिएको हुन्छ । एउटा असल शिक्षकले हजारौं बालबालिकाको भविष्य उज्वल बनाउन सक्छ । हाल अध्यापनरत शिक्षकहरूको कुलसंख्या करिब तीन लाख ५५ हजार रहेको छ । सामुदायिक विद्यालयमा तीन लाख २६ हजार छ सय ७६ शिक्षक रहेका छन् । तीमध्ये माध्यमिक तहमा १७ हजार नौसय २७ र आधारभूत तहमा ६६ हजार नौसय ९२ जना शिक्षकहरू निजी श्रोतमा कार्यरत छन् । यी शिक्षकले सामुदायिक विद्यालयमा पुर्याएको योगदानको अवमूल्यन गर्नु, शिक्षक प्रतिको अपराध हुन्छ ।
विद्यालयमा पढाउने शिक्षक तिनै हुन्, जो राज्यबाटै श्रमशोषित र अपमानित छन् । जसको ज्वलन्त उदाहरण भनेको प्रारम्भिक बालविकास शिक्षाका सहयोगी कार्यकर्ताहरूलाई सरकारी श्रोतबाट ज्यादै न्यून सुविधा मासिक छ हजार दिनु हो । साविकको उच्च माविमा अध्यापनरत शिक्षकको पनि सोही दयनीय अवस्था रहेको छ । राज्य स्वयलें विद्यालय भित्र असमान व्यवहार गरेको छ । निजी श्रोतमा कार्यरत शिक्षक माथि दरबन्दीमा रहेका शिक्षकनै दोश्रो दर्जाका शिक्षकका रूपमा व्यवहार गर्छन् । निजी श्रोतमा कार्यरत शिक्षकहरूको व्यवस्थापनका लागि तत्काल थप शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्छ । मन्त्रालय शिक्षण पेशाकै बदनाम हुने गरि सीमित वर्गको हितलाई ध्यानमा राखी विधेयक ल्याउँदै छ । विद्यालयमा अध्ययन गर्ने करीब ६० लाख विद्यार्थी र सम्पूर्ण अभिभावकको हित हुुने ऐन कहिले आँउछ । त्यो हेर्न बाँकी छ ।
शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरसँग सम्बन्धित हुन्छ । विद्यालयबाट उत्पादित जनशक्तिले योग्यता अनुसारको रोजगारी पाउन सकेको छैन । विद्यालयबाट उत्पादित ९० प्रतिशत विद्यार्थी बेरोजगार छन् । एसइइ परीक्षाको नतिजा हेर्दा “सी“ प्लस भन्दा कम नतिजा हासिल गर्ने विद्यार्थीको संख्या ५९ प्रतिशत रहेको छ, त्यस्तै कक्षा १२ को उत्तीर्णदर ५० प्रतिशत भन्दा कम रहेको छ । यसले शिक्षकको योग्यता र क्षमता माथि प्रश्न उठ्ने गरेको छ ।
शिक्षकमाथि आज धेरै नैतिकताको प्रश्न उठ्न थालेको छ । कयौं शिक्षक विद्यालयमा भन्दा ट्यूसन सेण्टरमा रमाएका छन् । शिक्षकलाई दर्शनबाट हेर्दा फरक रूपमा बुझ्न सकिन्छ । जे होस्, शिक्षक समाजको पथ प्रदर्शक हो । उ समाजमा रोडमोडल हुनुपर्छ । शिक्षक ज्ञानको जननी हो । अरूलाई उज्यालो दिँदा आफैं जल्न सक्नुपर्छ । कयौं शिक्षकमा शिक्षकमा हुनुपर्ने गुण रहेनन् । निम्न क्षमता भएको व्यक्ति मात्र शिक्षक पेशामा आयो । मेघावी विद्यार्थीको कहिल्यै शिक्षक पेशा पहिलो रोजाइको क्षेत्र हुन सकेन । शिक्षा संकायमा अन्य विषय संकाय पढ्न नपाएका विद्यार्थी पढ्न पाउने व्यवस्थाले कस्ता शिक्षक उत्पादन हुँदैछन् भन्ने कुरा प्रष्ट हुन्छ ।
असल शिक्षक विना शिक्षामा परिवर्तनको कल्पनासम्म गर्न सकिन्न । यसको ज्वलन्त उदाहरण भनेको हालसम्म शिक्षामा भएको लगानी र यसबाट प्राप्त भएको नतिजानै हो । कतिपय योग्य शिक्षकहरू छन् तर ती नेताको चाकडी गर्न नसक्दा ओझेलमा परेका छन् । शिक्षामा आदर्शवादको खडेरी परेको बेला छ । राज्य सञ्चालनको एउटा प्रणाली भित्रको एउटा उप प्रणालीको एउटा पाटो मात्र शिक्षक हो । अहिले राज्य कानुनको सर्वोच्च भन्दा धन र वलको आधारमा सञ्चालन भएको छ । यस्तो अवस्थामा शिक्षा उप प्रणाली भित्र आदर्श खोज्नुु गलत सावित हुन्छ । युगमा लुटतन्त्रको उदय भएको छ । शिक्षकको नियुक्ति, सरूवा, बढुवा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको छ । यहाँ विदयालयको आवश्यकता भन्दा व्यक्तिको जागिरका आधारमा बिषय तोकिन्छ । कुनै विद्यालयमा एकै बिषयका धेरै शिक्षक थुपारिएका छन् । सरकार, सत्तानै हल्लिने डरले दरबन्दीको मिलान गर्न सक्दैन । दरबन्दी मिलानको नाममा आफन्त, आसेपासेलाई सुविधा युक्त ठाउँमा सरूवा गर्छ । तिनै शिक्षक विद्यालयमा 'डन' बन्ने गरेका छन् । भाग्यमानी विद्यालयले भने विद्यार्थी भन्दा बढी शिक्षक पाएका छन् ।
शिक्षकमा बालविज्ञानको राम्रो ज्ञान हुनुपर्छ । झनै प्रारम्भिक बालविकासमा अध्यापन गराउने शिक्षक भने बालविज्ञानमा पोख्त र तालिम प्राप्त हुनुपर्छ । हुनत तालिम प्राप्त शिक्षकको भन्दा तालिम अप्राप्त शिक्षकको र स्थायी भन्दा अस्थायी शिक्षकको कक्षा व्यवस्थापन राम्रो रहेको छ । भनिन्छ, बालबालिकाको पाँच वर्षसम्मको उमेरमा दिमागको ९० प्रतिशत विकास हुन्छ । प्रारम्भिक बालविकास केन्द्रमा सहजीकरण गर्ने बालशिक्षक भने कोरा, कमजोर, बालमनोविज्ञान राम्रो ज्ञान नभएका हाम्रा मान्छे नियुक्त छन् । शिक्षक नियुक्ति गर्दा व्यवसायिक दक्षता र तालिम प्राप्त हुनुपर्छ । शिक्षक नियुक्ति विषयगत रूपमा गर्नुपर्छ । राम्राभन्दा हाम्रा शिक्षकहरू सबै विषय पढाउन योग्य भएका छन् । तर, यसले शैक्षिक गुणस्तरमा भने प्रत्यक्ष प्रभाव परेको छ ।
दरबार स्कुल सुरूवात पश्चात् हालसम्म आउँदा शिक्षकको नियुक्ति, सरूवा, बढुवा एवं वृत्ति विकासको लागि केही हक र अधिकारको सुनिश्चितता भएको छ । अझै पनि अन्य सेवा समुहका कर्मचारीले पाएको वृत्ति विकासका अवसर भन्दा शिक्षकले प्राप्त गरेको सेवा सुविधा र वृत्ति विकासका अवसर न्यून छ । करिब चार लाख शिक्षकको लागि छुट्टै शिक्षक अस्पतालको व्यवस्था किन नहुने ? जबकी शिक्षक भन्दा कम संख्या रहेका सेना, प्रहरी र निजामती कर्मचारीका छुट्टाछुट्टै अस्पताल हुने । साथै, दक्ष र क्षमतावान् शिक्षक क्षमताको आधारमा विशिष्ठ श्रेणीसम्म पु्ने अवसरको ढोका किन नखोल्ने ? यो भएन भने अब आउने शिक्षा ऐन पनि श्रमजीवि शिक्षकका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भनेझै हनेछ ।
भट्टराई, माध्यमिक शिक्षक युनियनका केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिक्रिया