Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

नीतिमा एउटा व्यवहारमा उल्टो, पढ्ने समय भन्दा कष्टकर यात्रा बढी

मंगलबार, २७ फागुन २०७६

काठमाडौं २७ फागुन / बेला बेला स्कुल जोनिङको कुरा जोडतोडले उठ्छ अनी उही रफ्तारमा सेलाउँछ । सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा पनि स्कुल जोनिङको कुरा समेटिएको छ । तर विद्यालय पढ्ने साना नानीहरुलाई भोग्ने हैरानी जस्ताको त्यस्तै । यसै विषयलाई मुख्य विषयका रुपमा नयाँ पत्रिकाले उठाएको छ । 

औपचारिक रुपमा सार्वजनिक नगरिए पनि त्यही प्रतिवेदनका आधारमा तयार पारिएको भनिएको राष्ट्रिय शिक्षा नीतिले पनि बालबालिकालाई निवास नजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर व्यवहारमा उल्टो छ । बालबालिकालाई सास्ती  विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् । घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ । 

राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि  बुढानीलकण्ठतिर दौडाउँछन् । कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् । उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् । 

कीर्तिपुरको चोभारस्थित मोडर्न इन्डियन स्कुल विद्यार्थी बटुल्न दैनिक बुढानीलकण्ठदेखि हात्तीगौँडासम्म पुग्छ । बिहान ६ः५० बजेदेखि गाडीले विद्यार्थी बटुल्न थाल्छ । जहाँ माथिल्लो तहका मात्र होइन, प्रि–स्कुल (केजी) मा अध्ययन गर्ने विद्यार्थी पनि हुन्छन् । ट्राफिक जाममा नपर्दा पनि कम्तीमा एकतर्फी यात्रा मात्रै दुई घन्टाको हुन्छ । कहिले त विद्यालयमा पढ्नभन्दा गाडीको यात्रामा बढी समय जान्छ । 

काठमाडौंकै बाँसबारीस्थित द चाँदबाग स्कुलले उपत्यकाका तीनवटै जिल्लाबाट विद्यार्थी बटुल्छ । चाँदबागको बस विद्यार्थी टिप्न ललितपुरको सातदोबाटोदेखि हात्तीवनसम्म पुग्छ । तर, हात्तीवनकै लिटिल एन्जल्स स्कुल चाँदबाग भएकै क्षेत्रनजिक महाराजगन्जसम्म पुग्छ । लिटिल एन्जल्सले जोरपाटी, बालाजु, बाइपास, कलंकी, स्युचाटारलगायत क्षेत्रबाट विद्यार्थी सोहोर्छ । 

कपन र नयाँपाटी (सुन्दरीजल जाने बाटो)मा रहेको ड्याफोडिल पब्लिक स्कुलको गाडी विद्यार्थी लिन कलंकीसम्मै पुग्छ । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले पनि बिहान ७ः०० बजेदेखि नै तीन जिल्लाबाट विद्यार्थी जम्मा गर्न बस खटाउँछ । जेम्सले कक्षा २ देखिका बालबालिका धुम्बाराही, सुकेधारा, बालाजु बाइपास, गोंगबु, वनस्थली, सीतापाइला, स्युचाटार, कलंकीलगायत क्षेत्रबाट उठाउने गरेको छ । 

ललितपुरकै आइडिएल मोडेल स्कुल भक्तपुरको मध्यपुर ठिमीलगायत क्षेत्रसम्म पुग्ने गरेको छ । मानभवनको एभिएम, ललितपुरको युनाइटेड एकेडेमी, जेभियर इन्टरनेसनल स्कुललगायत पनि उपत्यका फन्को मार्दै विद्यार्थी ओसार्छन् । यी त केही उदाहरण मात्रै हुन् । अभिभावकको भ्रममा सरकारको कमजोरी तथा शिक्षा मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक हुँदा कलिला बालबालिकामाथि गुणस्तरीय शिक्षाको नाममा दिनहुँ यातना भएको छ ।

बालबालिकाले विद्यालयमा दिउँसो खान लगेको टिफिन पनि लामो यात्रामा भोकाउँदा बसमै खाने गरेको अभिभावक बताउँछन् । ‘राम्रो होला कि भनेर टाढा–टाढासम्म पठाइएको छ, तर गाडीमै लामो यात्रा गर्दा थाकेर पढ्नै नसक्ने अवस्था पनि हुन्छ,’ एक अभिभावकले भने, ‘विद्यालय टाढा भएकै कारण बिहान सबेरै उठ्नुपर्छ, निद्रासमेत पुग्दैन ।’

उपत्यकामा बालबालिका बोक्न एउटै विद्यालयका सयभन्दा बढीसम्म बस प्रयोगमा छन् । कतिपय विद्यालयका आफ्नै बस छन् भने कतिपयले सार्वजनिक यातायातका साधन भाडामा लिएर विद्यार्थी ओसार्न प्रयोग गर्छन् । मोर्डन इन्डियन स्कुलले केजीदेखि कक्षा ६ सम्म २४ रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ । त्यस्तै, कक्षा ७ देखि १२ सम्मका विद्यार्थी २७ रुट बनाएर ओसार्छ । धापाखेलको जेम्स स्कुलले भने कक्षा १ मा सानेपाका लागि सात रुट बनाएर विद्यार्थी ओसार्दै आएको छ । कक्षा २ देखि ५ सम्म १७ र कक्षा ६ देखि १० सम्म ३० वटा रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ । 

राष्ट्रिय शिक्षा नीति २०७६ ले सबै बालबालिकालाई नजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिए पनि शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन । नीतिको १०.५ का विद्यालय सेवा क्षेत्र सम्बन्धी मापदण्ड तथा कार्यविधि तयार पारी त्यसका आधारमा सबै प्रकारका आधारभूत विद्यालयलाई सेवा क्षेत्रको अवधारणाअनुरूप व्यवस्थित गर्ने उल्लेख छ । विद्यालय सेवा क्षेत्र निर्धारणका आधार, निर्धारित मापदण्ड र मानक संघीय सरकारको शिक्षा हेर्ने मन्त्रालयले निर्दिष्ट गर्ने भनिएको छ । मन्त्रालयले बनाएको मापदण्डअनुसार स्थानीय तहले विद्यालय सेवा क्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था मिलाउने शिक्षा नीतिमा उल्लेख छ । तर, शिक्षा मन्त्रालयले कार्यान्वयनमा चासो नै दिएको छैन । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल शिक्षा नीतिमा ‘स्कुल जोनिङ’को अवधारणा राखिएकोमा अब ऐन–कानुनमै व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘शिक्षा नीतिमा त स्कुल जोनिङको व्यवस्था छ, नीतिका आधारमा अब शिक्षा ऐन–कानुनमा लैजानुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘भर्खरको बालबालिकालाई खाना खुवाएर ८ नबज्दै गाडीमा पु¥याउनुहुन्छ । विद्यालयमा पुगेर पढेर फर्किँदा निकै थाकेको हुन्छ । टाढा पुर्‍याउनु बालबालिकाको कोणबाट ठीक होइन । छनोटको अधिकारको पनि विषय आउन सक्छ । हामीले सबै विद्यालय गुणस्तरीय बनाएपछि जहाँ लगे पनि फरक पर्दैन ।’ 

यो भन्दा त्यो विद्यालय राम्रो भन्ने भ्रममा अभिभावक छन् । अभिभावकको भ्रममा निजी विद्यालय सञ्चालकले मनपरी गरिरहेका छन् । उनीहरूले राजनीतिक पहुँचका आडमा आफूप्रतिकूल व्यवस्था मात्रै हटाएका छैनन्, आफैँले बनाएको मापदण्ड पनि उल्लंघन गरेका छन् ।  शिक्षा मन्त्रालयले २०६९ मा विद्यालयबाट कति लामो दूरीसम्म विद्यार्थी लिन पाउने भन्ने व्यवस्था गरेको थियो । तर, निजी विद्यालय सञ्चालकले दबाब दिएर व्यवस्था परिवर्तन गराए । त्यसपछि आफ्नै अनुकूल ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ बनाए ।

निर्देशिकामा विद्यालयदेखि विद्यार्थीको निवाससम्म आतेजातेको दूरी निर्धारण गरिएको छ । कक्षा ५ सम्मका विद्यार्थीको हकमा विद्यालयबाट दुईतर्फी दूरी १२ किलोमिटरसम्म तोकिएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीको हकमा १८ किलोमिटर कायम गरिएको छ । तर, ठूला भनिएका विद्यालयले मापदण्ड मिचेका छन् । 

कीर्तिपुर चोभारको मोर्डन इन्डियन स्कुलको रुट नं. २० को बस केजीका विद्यार्थी बोक्न बुढानीलकण्ठ हात्तीगौँडासम्म पुग्छ । यो दूरी एकतर्फी मात्रै १७ किलोमिटर छ । त्यस्तै बाँसबारीको चाँदबाग स्कुलको बस हात्तीवनसम्म तथा हात्तीवनको लिटिल एन्जल्स र धापाखेलको जेम्स स्कुलले जोरपाटीदेखि बालाजु बाइपासलगायत क्षेत्रबाट विद्यार्थी ओसार्छन् । जोरपाटीदेखि धापाखेलसम्मको दूरी एकतर्फी मात्रै साढे १४ किलोमिटर छ । बाँसबारीबाट हात्तीवनको दूरी पनि साढे १३ किलोमिटर छ । 

विद्यालयका गाडीले टाढा–टाढाबाट विद्यार्थी ओसार्ने क्रममा ठाउँ–ठाउँमा जथाभावी रोक्दा र होल्ड गर्दा सडक नै जाम हुने गरेको छ । खासगरी भित्री सडकमा समस्या हुन्छ । बिहान ९ बजेभन्दा अगावै विद्यार्थी ओसार्ने गरी व्यवस्था गर्न विद्यालयहरू, प्याब्सन, एनब्याब्सनलगायतसँग पटक–पटक छलफल गरे पनि कार्यान्वयन हुन नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । 

‘उपत्यकाको एउटा कुनाको विद्यालयको गाडी विद्यार्थी ओसार्दै अर्को कुनासम्म पुग्छ । सहर परिक्रममा गराउँदै जथाभावी रोक्दा र होल्ड गर्दा ट्राफिक जाम हुन्छ,’ एसएसपी ढकालले भने, ‘हामीले बिहान ९ बजेअगावै विद्यार्थी ओसार्न सम्बन्धित पक्षलाई पटक–पटक भनेका छौँ, तर कार्यान्वयन भएको छैन ।’ उनले अब स्कुल बसमा पनि ‘पिक एन्ड ड्रप’ लागू गर्ने तयारी गरेको बताए ।  कतिपय विद्यालयले मापदण्डविपरीत भाडाका बस, माइक्रो र साना भ्यानमा पनि विद्यार्थी ओसारेका छन् । विद्यार्थी ओसार्ने र एकैछिनमा फेरि यात्रु पनि बोक्ने एउटै गाडी छन् । ‘यस्तो गर्न पाइँदैन,’ एसएसपी ढकालले भने, ‘भाडाकै गाडीमा विद्यार्थी बोक्ने हो भने पनि पहेँलो रंग लगाउनुपर्छ र अन्य यात्रु बोक्न प्रयोग गर्न पाइँदैन ।’

विद्यार्थी टाढाका विद्यालयमा लैजानु आपत्तिजनक छ  : धर्मदत्त देवकोटा अध्यक्ष, नेपाल अभिभावक महासंघ 

वडा–वडामा गुणस्तरीय विद्यालय हुनुपर्छ, डिके ढुंगाना,वरिष्ठ उपाध्यक्ष, प्याब्सन

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्–ऐन–कानुन बनाएर व्यवस्थित गर्नुपर्छ

पूर्वसचिव एवं शिक्षाविज्ञ महाश्रम शर्मा भन्छन्–टाढाको यात्राले विद्यार्थी मानसिक तनावमा परे

प्रतिक्रिया