Edukhabar
सोमबार, ०८ पुस २०८१
विचार / विमर्श

गणित करले हैन रहरले पढौं र पढाऔं

सोमबार, २६ फागुन २०७६

यति बेला गणित निकै चर्चामा छ । नेपाल सरकारले शैक्षिक बर्ष २०७७ देखि लागू गर्ने पाठ्यक्रममा कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठन गर्नुपर्ने पक्ष विपक्षमा आआफ्नै तर्क वितर्क  गरिदैँ आएको पाइन्छ । गणित नबुझ्ने सरकार, शिक्षकहरु गणितबाट कमाउने तर विद्यार्थी किन नरमाउने, विज्ञानका विद्यार्थीलाई गणित जति जीवनोपयोगी अरु विषय हुँदैन जस्ता विषयमा लेखिएका  लेखहरु विद्युतीय सञ्चार माध्यममा पढ्न पाइन्छ । एक जना गणितलाई असाध्य माया गर्ने आदरणीय व्यक्तित्वले त फेसबुक स्टाटसमा गणित कहाँ कहाँ प्रयोग हुन्छ भनेर लामो लिष्ट नै पेश गर्नु भएको छ ।

गणितको पक्षमा बहस गर्नेले गणित विज्ञानको भाषा भएको, विज्ञान प्रविधि र गणितको विकास नभइ समृद्धि नआउने, गणितलाई अनिवार्य गर्नुको सट्टा ऐच्छिक चौथोमा राखेको, वायोलोजि पढ्नेका लागि गणित अनिवार्य नभएको र कक्षा ११ र १२ लाई विद्यालय तह बनाए पछि विद्यालय तहको अन्तसम्म गणित अनिवार्य हुनु पर्दछ भन्ने रहेको देखिन्छ । यसका अलवा स्टानफोर्ड विश्वविद्यालयकी शोधकर्ता तान्या इभान्सले गरेको अध्ययनले गणितमा कमजोर बालबालिकाको भन्दा गणितमा तीक्ष्ण भएकाहरुमा  तीव्र निर्णय क्षमता, ध्यान केन्द्रित गर्न सक्ने र वातावरणलाई एकदमै छिटो निरीक्षण गर्ने र बुझ्ने क्षमता धेरै भएको देखाएको छ भन्दै गणित अनिवार्य हुनु पर्ने तर्कहरु अगाडि सारिएको पाइन्छ ।  यस्तै विपक्षमा खासै ठूलो आवाज नउठे पनि यस भन्दा अगाडि पनि कक्षा ११ र १२ मा गणित अनिवार्य नभएको वायोलोजी समुहकाले अतिरिक्त गणित पढ्ने गरेको र त्यो अवसर अहिले पनि रहेको तथा पढ्न नचाहनेका लागि जबर्जस्ती अनिवार्य गर्न नहुने तर्क राखेको पाइन्छ । अझै कतिपय अवस्थामा गणित पढेकाहरुका लागि ट्युशन र कोचिङ पढाउने विषय भन्दै कमाउने विषयको रुपमा समेत चित्रण गरेको पाइन्छ । एसईई परीक्षामा ५० प्रतिशत भन्दा बढी विद्यार्थीले गणित विषयमा डी र ई ग्रेड ल्याइरहेका छन् । कक्षा १० मा त्यो हालत छ, कक्षा ११ र १२ मा पनि अनिवार्य गरियो भने गणितको नतिजा स्तर निकै खस्किनेछ भन्ने तर्क गरेको पाइन्छ ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम लागू गरेसँगै अहिले रहेको सङ्काय प्रणाली हट्ने भएका छन । पहिलेको जस्तो विज्ञान, व्यवस्थापन, मानविकि तथा शिक्षाशास्त्र सङ्काय जस्ता सङ्काय रहने छैनन् । सङ्काय नै नरहने भए पछि वायोलोजी पढ्नेका लागि गणित पढ्न पाएन भन्ने अवस्था त रहेन । पुरानो पाठ्यक्रम वहुपथीय प्रणालीमा थियो । उच्च शिक्षामा के अध्ययन गर्ने भन्ने कुराको निर्क्र्यौल उच्च माध्यमिक तह कक्षा ११ र १२ बाटै हुन्थ्यो । अब पाठ्यक्रम परिवर्तन भएको सन्दर्भमा उच्च शिक्षा अध्ययनका लागि सम्बन्धित विश्वविद्यालयले विद्यार्थीले कक्षा ११ र १२ मा पढेको विषयका आधारमा कुन विषय वा सङ्कायमा पढ्न पाउँछ भनी आधार तय गर्नुपर्ने हुन्छ । नयाँ पाठ्यक्रम अनुसार चार वटा ऐच्छिक समूह मध्ये कुनै तीन वटाबाट कक्षा ११ र १२ मा तीन तीन ओटा विषय छनोट गर्ने सुविधा विद्यार्थीलाई छ । त्यस्तै बाँकी रहेको समुहबाट विद्यार्थीले पढ्न चाहेमा थप एक विषय पढ्न पाउने पनि व्यवस्था छ । गणितलाई चौथो समूहमा राखेर महत्व दिइएन भन्ने कुरा छ । त्यसले केही फरक पार्दैन । चौथो समूहमा राख्ने बित्तिकै यस विषयको मान्यता अरु समूहका विषयको भन्दा कम हुने भन्ने हैन । इच्छुक विद्यार्थीले जुनसुकै समूहबाट पनि विषय रोज्न पाउँछन् ।

वर्तमान अवस्थामा कक्षा १ देखि १० सम्मको गणितको पाठ्यक्रममा समावेश विषय वस्तुहरुलाई हेर्यौँ भने गणित विषयमा नै भविष्य खोज्नेहरु बाहेक सबैलाई यो विषय पर्याप्त छ जस्तो लाग्छ । गणितका आधारभुत क्रिया बाहेक व्यापार गर्नेहरुका लागि बील बनाउने नाफा नोक्सान निकाल्ने, प्रतिशत, घर चलाउनका लागि घरको बजेट निर्माण गर्ने, जग्गामा काँडे तार लगाउन परिधी, कोठामा कार्पेट ओछ्याउन चाहिने कार्पेट र लाग्ने खर्च तथा भित्तामा रङ रोगन गर्न लाग्ने रङ् र खर्च निकाल्नको लागि क्षेत्रफल र ऐकिक नियम पाठ्यक्रममा छ । बायोलोजिमा Body Mass Index (BMI) निकाल्न अनुपात र समानुपात, व्यापारमा भ्याट छुट, जनसङ्ख्या वृद्धि तथा ह्रास निकाल्ने, गाँउघरमा होस वा बैङ्किङ क्षेत्रका लागि साधारण ब्याज तथा चक्रीय ब्याज पनि पाठ्यक्रममा नै समावेश छ । घर निर्माण गर्दा पिल्लर र पर्खाल सीधा भयो कि भएन भनेर हेर्नका लागि लम्ब रेखा र समानान्तर रेखा, पर्खालमा कति इट्टा लाग्छ भनेर जान्नका लागि आयतन र ऐकिक नियम, जग्गा कारोवारीहरुका लागि क्षेत्रफल निकाल्नका लागि विभिन्न ज्यामितीय आकृति त्रिभुज, चर्तुभुज, आयत, वर्ग. वृत्त लगायतको क्षेत्रफल निकाल्ने विषयवस्तुहरु पनि पाठ्यक्रममा समावेश छन् । यति मात्र हैन कुनै कार्य गर्दा नाफा र घाटा अनुमान गर्नका लागि सम्भाव्यता पनि समावेश छ । मुद्रा विनिमय सम्बन्धी, वर्ग सङ्ख्या घन सङ्ख्या, समुह, तथ्याङ्क शास्त्र, उचाइ र दुरी निकाल्ने निर्देशाङ्क, बीजगणितका Graph Factorization, Quadratic Equation and Linear Equation लगायतका दैनिक जीवनमा प्रयोग हुने ज्यामितिका ठोस वस्तुहरुको बारेका विषयवस्तु पनि समावेश गरिएकै छ । उल्लेख गरिए  बाहेकका अरु विषयवस्तुको पनि दैनिक जीवनमा कहि न कही उपयोग देखिन्छ ।

फेसबुक स्टाटसका अनुसार बायोलोजि पढ्ने विद्यार्थीको गन्तब्य मेडिकल फिल्ड हो । बायोलोजजिमा Body Mass Index (BMI) तथा  BODYMASS र MEDICINE ratio मिलेन भने एउटै औषधीले कसैलाई काम गर्ने कसैलाई नगर्ने हुन्छ । गणीत पढेको डाक्टरले सही Ratio मा औषधी दिन्छ र रोगी निको हुन्छ । Medical industries मा औषधीमा chemical ratio मिलेन भने औषधी बिष हुन्छ । त्यसैले Biology मा Math चाहिन्छ । अनुपात नमिल्दा औषधी विष हुन्छ सत्य होला तर यसका लागि अनुपात सम्बन्धी विषयवस्तु त हाम्रो पाठ्यक्रम अनुसार आधारभुत तहको कक्षा ६–८ सम्म अध्यापन हुन्छ । यति मात्र हैन Air Traffic Control सम्बन्धी आधारभुत ज्ञानका लागि distance, direction, bearing calculation विद्यालय तहको वर्तमान पाठ्यक्रममा समावेश नै छन् ।

गणित विनाको संसार कल्पना पनि गर्न सकिदैँन । जता सुकै गणित नै गणित छ । गणित विना अन्य विषयको अध्ययन अधुरो हुन्छ । जस्तो जनसङ्ख्या वृद्धिदर बढी भयो यसलाई घटाउन विभिन्न कार्यक्रम गरिन्छ अब त्यसको प्रभावकारीता कस्तो रह्यो भनेर हेर्न पहिला कति थियो अहिले कति भयो भनेर गणना गर्न गणित नै चाहिन्छ । व्यापारमा फाइदा वा घाटा भयो भनेर हेर्न लगानी पूँजी कति थियो अहिले पूँजी कति भयो तुलना गरेर निकाल्न गणित नै चाहिन्छ । यस्तै बैङ्किङ क्षेत्र लगायत दैनिक जीवनमा गणितको प्रयोग धेरै नै छ । गणित आगमन हो गणित तर्क हो त्यसैले तान्या इभान्सले भने जस्तै गणितमा राम्रो गर्ने विद्यार्थीको तर्क गर्ने र निर्णय लिने क्षमता कमजोर विद्यार्थीको तुलनामा उच्च हुन्छ नै । यसो भनिरहँदा के गणित सबैका लागि अनिवार्य गर्नु पर्ने नै हो त ? कदापी हुनै सक्दैन । मेडिकल र इन्जिनियरिङ्गमा गणित चाहिन्छ भनेर कक्षा १२ सम्म गणित अनिवार्य गर्दा उक्त दुई क्षेत्र भन्दा बाहिरका विद्यार्थीलाई कुन तथ्यका आधारमा अनिवार्य पढ्नु पर्छ भनेर अनिवार्य गर्न सकिन्छ र ? फेरी सम्बन्धित विषयको अध्ययन गर्दा पनि त आवश्यक विषयवस्तु समेटेर सोही तहमा गणित अध्ययन अध्यापन गराउन सकिन्छ ।

शिक्षकहरु गणितबाट कमाउने तर विद्यार्थी किन नरमाउने शीर्षकको एडुखबरमा प्रकाशित लेखले मेरो विद्यालय तहको विद्यार्थी जीवनलाई ताजा बनाइ दियो । मेरो घर नजिकै गणित पढाउने शिक्षकको घर थियो । एस. एल. सी. को परीक्षा आउने ताका विहान ४ बजे देखि बेलुका ८ बजे सम्म गणित विषय ट्युशन पढ्नेको लर्को हुन्थ्यो । त्यस घटनाक्रमलाई नजिकैबाट देखेको मेरो त्यो बालमस्तिष्कमा भविष्यमा गणित पढेर यसरी नै ट्युशन पढाउने भावनाको जागृत भयो ।

त्यो बेला देखि अहिले सम्म आइपुग्दा धेरै  शिक्षकहरुसँग उठबस गर्ने अवसर मिल्यो । कोही अघिल्लो बर्ष यति ग्रुपलाई ट्युशन पढाएको थिएँ यसपाली त खै त्यती पुगेन भन्दै केही विद्यार्थीलाई ग्रुप बनाउ तिमीलाई निशुल्क ट्युशन पढाइदिउँला भन्ने पनि देखेको भेटेको छु । मैले विद्यालयमा पढाएकै विद्यार्थीलाई ट्युशन पढाउँ दिन यदि तिमीहरुले बुझेनौ भने कक्षामा, हाफछुट्टीमा वा विद्यालय अघि र पछिको समयमा पनि सोध्न सक्छौ भनेर सिकाइ दिने खालका आर्दश र कर्तव्यपालक शिक्षक पनि देखेको छु । त्यसैले सबैलाई एउटै समूहमा राखेर मूल्याङ्कन पनि गर्नु हुँदैन होला ।

विद्यार्थी भविष्यमा के बन्छ वा हुन खोज्छ सम्बन्धित विद्यार्थीलाई रोज्न दिनु पर्छ हामीले वातावरण अनुकुल बनाइदिने हो जबर्जस्ती गर्न हुँदैन भनेर वकालत हामीले नै गर्छौं । यो सत्य पनि हो । सरकारलाई दवाव दिएर अनिवार्य गर्दा विद्यार्थीको विषय रोज्ने अधिकार माथि अन्याय भएको तर्फ पनि हेक्का राख्नु पर्दछ । जबरजस्ती अनिवार्य गर्न खोजेर हैन सबैले मन पराएर पढ्न सक्ने वातावरणको सृजना गर्नुपर्दछ । यसका लागि सबै सरोकारवालाहरुले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्दछ ।

विद्यालय तहको सिकाइ प्रक्रिया आफू विद्यार्थीको रुपमा विद्यालय देखि विश्वविद्यालयसम्म जसरी सिके त्यसै गरी सिकाउने प्रवृति रहेको छ । शिक्षकहरु Reflective model बाट पेशागत विकास गर्नेभन्दा पनि Craft model बाट पेशागत विकास हुने कुरामा विश्वास गर्दछन् । त्यसैले यसको नेतृत्व विश्वविद्यालयहरुले लिनु पर्दछ ।

जापानमा गणित सिकाइमा १९७० देखि ८० को दशकमा महत्वपूर्ण परिवर्तन भयो । गणित सिकाइ परम्परागत शिक्षक केन्द्रितबाट विद्यार्थी केन्द्रित भयो । विद्यार्थी स्वयम् गणितीय ज्ञान निर्माण गर्न सक्रीय हुने सिकाइ क्रियाकलापमा जोड दिइयो । यस अवधिमा शिक्षक, शिक्षाविद् र गणितज्ञहरु मिलेर अमेरीकाबाट प्रकाशित हुने गणित सिकाइ सम्बन्धी विभिन्न खालका अनुसन्धान प्रतिवेदनहरुको अध्ययन गरी जापानमा सुहाउँदो सिकाइ विधिको खोजी भयो । त्यस बेला निकै प्रयोगमा रहेको Problem solving method बाट उनीहरुले   Structure problem solving method शुरुवात गरे । यस विधिको मुख्य कुरा भनेको विद्यार्थी निष्कृय रुपमा ज्ञान आर्जन कर्ता भन्दा उनीहरु ज्ञानका निमार्ण कर्ता हुन् । गणितलाई सरल र सहज तरिकाबाट सिकाइ सबैलाई पढौँ पढौँ हुने बनाउन नसक्ने तर  गणितलाई समृद्धिसँग जोडेर अनिवार्य गर्ने तर्फ लागियो भने गणित विद्यार्थीका लागि हैन शिक्षकहरुका लागि चाहिएको रहेछ भन्ने स्पष्ट हुन्छ । गणित पढ्न इच्छुक सबैलाई पढ्न अवसर दिऊँ र अनिच्छुकहरुलाई कर नगरौं । सिकाइलाई सहज बनाए पश्चात विद्यार्थीले पढ्न खोज्दा पनि सरकारले पढ्न दिएन भने आन्दोलनमा सहकार्य गरौँला, अहिलेको आन्दोलन गणित सिकाइलाई सहज र सरल बनाउने तर्फ केन्द्रित गरौं ।

शिक्षा मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रका गणित प्रशिक्षक ढकाल, हाल जापानको नारुतो विश्वविद्यालयमा अध्ययनरत छन् ।

प्रतिक्रिया