Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

विद्यालयको बाटो मोडिएर ईँटा उद्योगको खलो तिर !

शुक्रबार, ०४ मंसिर २०७२

- छवि अनित्य / हेटौंडा - शुक्रबार आफ्ना कक्षाका साथीहरु २६ औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवसको नारा लगाएर गाउँ परिक्रमा गरिरहँदा दुर्गा ब्लोनको जीवन भने फरक बाटोमा घुमिरहेको थियो । कक्षा कोठामा बुनेका सपनाले अब उनलाई पछ्याउने छन् छैनन् उनैले अनुभव गर्लान्, * तर, अब उनले पछ्याउनु पर्ने चाँही काठमाडौं उपत्यकाको कुनै ईँटा उद्योगको खलो मात्रै हुने छ ।

१२ वर्षिय दुर्गा ब्लोन मकवानपुर गढी गाविसको हेमकर्ण निमाविमा ४ कक्षामा पढ्थे *। बिहिबार बेलुकीको बसबाट काठमाण्डौको यात्रा तय गरेका * दुर्गालाई अब उनको कक्षामा भेटिने छैन । बरु उपत्यकाको कुनै ईँटा उद्योगको खलोमा माटो मुछिरहेको भेट्न सकिने छ ।

दुर्गालाई उनकै भिनाजु धनबहादुर स्याङ्तानले काठमाडौं लगेका हुन् । धनबहादुरले दुर्गासँगै २ कक्षामा पढ्दै गरेकी आफ्नै १० वर्षिया छोरीलाई पनि लिएर गएका छन् । आफ्नी सालीको सानी छोरी हेर्ने धरालोको रुपमा उनलाई लैजान थालेको बताए धनबहादुरले बताए । उनले आफ्नी श्रीमतिलाई भने लगेको छैनन् । छोरीलाई अब उतैको अर्को विद्यालयमा भर्ना गर्ने उनले बताए ।

मकवानपुरको गढी, सुकौरा लगायतका गाविसका दर्जनौं बालबालिका प्रत्येक वर्ष दशैं तिहार सकेपछि यसैगरि मजदूरी गर्न काठमाडौं भासिन्छन् । गढी गाविसको कालिदेवी प्राविबाट मात्रै यसवर्ष २५ जनाभन्दा बढी विद्यार्थी ईँटा भट्टामा मजदूरी गर्न पुगिसकेको विद्यालयका प्रधानाध्यापक केशव देवकोटाले बताए । उनका अनुसार अरु दर्जनौँ विद्यार्थी पनि जाने क्रममा रहेका छन् । यसले गर्दा सो क्षेत्रका विद्यालयहरुको पढाई प्रभावित हुने गरेको छ ।

किन जान्छन् बालबालिका ईँटा भट्टा ?

हरेक वर्षको दशैँ तिहार सकिएपछि मकवानपुरका धेरैजसो ग्रामीण क्षेत्रका विद्यार्थी काठमाण्डौ, पोखरा लगायतका क्षेत्रमा मजदूरीका लागि पुग्ने गरेका छन् । उनीहरु मध्ये धेरैजसो अभिभावक सँगै जाने गरेका छन् । कतिपय भने आफन्तहरुको साथ लागेर जान्छन् । पहिले गलैँचा बुन्ने काममा बढी जाने गरेका बालबालिकाको हालको गन्तव्य ईँटा भट्टाहरु हुने गरेको छ ।

देवकोटाका अनुसार दशैँ अघि नै उद्योगमा कामदार उपलब्ध गराउने ठेकेदारहरु पेश्की लिएर गाउँ छिर्छन् । चाडबाड मान्नका लागि ठेकेदारहरुले विपन्न समुदायका परिवारलाई भने जत्ति रकम पेश्की स्वरुप उपलब्ध गराउँछन् । त्यसको बदलामा अभिभावकहरु आफैँ वा आफ्ना बालबालिकालाई कामका लागि पठाउन राजी हुन्छन । 

गढीका स्थानीय बासिन्दा तथा स्रोत व्यक्ति दोर्जे लामा स्याङ्तान यो प्रकृयाको मुख्य कारक गरिबीलाई ठान्छन् । उनि भन्छन्, ‘यहाँका प्रायः बासिन्दाको अलिकति पाखो बारी मात्रै छ । भदौ असोजमा पाखो बारीको अन्नबाली टिप्छन् । अनि चाडबाड मानेपछि मजदूरीका लागि लाग्छन् ।’ उनको अनुभवमा विगत तिसौं वर्षदेखि यह िक्रम चलिरहेको छ ।

विद्यालयलाई तनाव

मजदूरीका लागि विद्यार्थी धमाधम हिँडेपछि विद्यालयलाई भने समस्या थपिएको छ । जिल्ला शिक्षा कार्यालयले प्रत्येक वर्ष सिकाई उपलब्धि बढाउनका लागि दबाब दिने गरेको छ । ‘तर भएका जति विद्यार्थी हिँडेपछि कसलाई पढाउने र सिकाई उपलब्धि बढाउने ?’ शिक्षकहरुको गुनासो छ । उता गतवर्ष विद्यालयले भरेको फ्ल्यास १ र फ्ल्यास २ मा विद्यार्थी संख्यामा ठूलो अन्तर आएपछि कालिदेवी प्राविसँग त शिक्षा कार्यालयले स्पष्टिकरण नै माग्यो ।

फ्ल्यास १ मा देखिएका विद्यार्थीको ठूलो संख्या मजदूरीका लागि गएपछि वार्षिक परीक्षामा अनुपस्थित हुँदा फ्ल्यास २ मा उनिहरुको संख्या देखिएन । यसवर्ष पनि शैक्षिक सत्र सुरु हुँदा विद्यालयमा १ सय ८० विद्यार्थी थिए । तर पहिलो त्रैमासिकसम्म आउँदा नै १ सय ६० मा झरिसकेको छ । प्रधानाध्यापक देवकोटा भन्छन्, ‘यही पाराले वार्षिक परीक्षा सम्म १ सय २० पनि नपुग्ला कि भन्ने पीर छ ।’

स्रोत व्यक्ति दोर्जे लामा स्याङतानका अनुसार तामाङ् बाहुल्यता रहेका यी गाविसको सिकाई उपलब्धि अत्यन्तै न्यून रहेको छ । ‘वर्षा याममा खेतबारीको काममा हुन्छन्, हिउँद लागेपछि मजदूरीका लागि गाउँ छाड्छन् । अनि कसरी बढ्नु सिकाई उपलब्धि ?’ उनि भन्छन् ।

के गर्दैछन् संघसंस्था र सरकारी निकाय ?

पढाई छाडेर हिउँदमा मजदूरी गर्न जान थालेको वर्षौँ भइसकेको छ । तर जिल्लामा बालअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था भने यसबारेमा अनभिज्ञता प्रकट गर्छन् । सिविन बाल हेल्पलाईन मकवानपुर जिल्ला संयोजक झविन्द्र ज्ञवाली भन्छन्, ‘यदि त्यसरी बालबालिकाहरु मजदूरीका लागि जाँदैछन् भन्ने थाहा भयो भने उनिहरुलाई रोक्न सकिन्छ ।’ तर दैनिक २—३ वटा बसमा अभिभावक सहित गइरहेका कुनै पनि बालबालिका आजसम्म रोकिएको भने छैन ।

ज्ञवालीका अनुसार बालबालिकालाई काममा लगाउँदा आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने भ्रममा अभिभावक रहेका कारण पनि बालबालिकाहरुलाई मजदूरीमा पठाउने क्रम नरोकिएको हो । यसलाई बालबालिकाको क्षेत्रमा लागेको संघसंस्थाका लागि चुनौतिका रुपमा स्वीकार्दै उनि भन्छन्, ‘हामीले एक ठाउँमा रोक्दा बालबालिका अर्को ठाउँमा पुग्ने सम्भावना कायमै रहन्छ । यसका लागि अभिभावक सचेतनालाई नै मूख्य जोड दिएर कार्यक्रम गर्नुपर्छ ।’

महिला तथा बालबालिका कार्यालय हेटौंडाकी प्रमुख शोभा शाह भने बालबालिकाको क्षेत्रमा काम गर्नका लागि सरकारी प्राथमिकता कम भएको बताउँछिन् । उनि भन्छिन्, ‘नेपाल सरकारका बालबालिका सम्बन्धि काम गर्ने निकायमा अत्यन्त न्यून बजेट छुट्टिने गरेको छ । यसले गर्दा सबै ग्रामीण क्षेत्रमा पुग्न सकिएको छैन ।’ तर प्लान नेपाल, सिविन, होस्टे हैंसे लगायतले भने यी गाविसहरुमा निरन्तर कार्यक्रम गर्दै आएका छन् । जिल्ला बाल कल्याण समितिमा आबद्ध यी संस्थाहरुले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिरहे पनि मजदूरीमा जाने बालबालिकाहरुमा कमी आउन सकेको छैन ।

के हुन्छ मजदूरीमा गएकाहरुको शैक्षिक भविष्य ?

विद्यार्थीले धमाधम विद्यालय छोडिरहे पनि जिल्ला शिक्षा कार्यालयसम्म भने यसको औपचारिक जानकारी पुगेको छैन । मजदूरीका लागि गइरहेका विद्यार्थी बारे जिज्ञासा राख्दा जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले यसबारे विद्यालय र स्रोत व्यक्तिसँग जानकारी मागिने बताए । उनका अनुसार त्यसरी गएका विद्यार्थीलाई विद्यालय फर्काउन कार्यालयले विद्यालय र समुदायको सहयोगमा पहल थाल्नेछ ।

शैक्षिक सत्रको बीचमा अर्को विद्यालयमा उनिहरुलाई भर्ना गर्न भने नसकिने उनले बताए । नियमानुसार त्यसरी शैक्षिक सत्रको बीचमा अर्को विद्यालयमा भर्ना गर्न नमिल्ने भन्दै उनले भने, ‘यदि बालबालिकालाई फर्काउनै नसक्ने भएमा विकल्पका लागि पहल गर्नेछौं । बच्चाको पठनपाठन नबिग्रियोस् र उनिहरु ड्रप आउट हुनु नपरोस् भन्ने हाम्रो मुख्य प्राथमिकता हुनेछ ।’ आचार्यले यस विषयमा आगामी सोमबार स्रोत व्यक्तिहरुको बैठकमा विस्तृत छलफल हुने बताए ।

* सच्याईएको - सं

प्रकाशित मिति : २०७२ मंसिर ४ गते

प्रतिक्रिया