Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

शिक्षक हुन ५० नम्बर ! खल्तीबाट भर्ति नगर्न सचेत

मंगलबार, ०६ फागुन २०७६

काठमाडौं - न्यूनतम ५० नम्बर नल्याउने व्यक्ति शिक्षक हुन नसक्ने व्यवस्था लागू गर्ने गरी छलफल शुरु गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । मंगलबार आयोजित दक्षिणकाली नगरपालिका साक्षर घोषणा सभामा बोल्दै मन्त्री पोखरेलले स्थानीय सरकारका जनप्रतिनिधिलाई सम्बोधन गर्दै शिक्षक भर्ति गर्दा खल्तीबाट राख्न बन्द गर्न समेत सचेत गराए । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको बताउँदै उनले शिक्षा ठिक भयो भने देश समग्रतामा अर्को दिशामा जाने भएकाले शिक्षकको प्रवेशबाटै ध्यान दिन जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

'शिक्षक भर्ति गर्दा खेरी आफ्नो खल्तीबाट मान्छे निकालेर आफ्नो नजिकका मान्छे राख्ने काम नगरिदिनुस्, मेरो कुरा यत्ति हो, शिक्षक सेवा आयोग पास गरेको मान्छेलाई मात्रै अब नेपालको शिक्षामा शिक्षक बनाउनु पर्दछ' उनले भने, 'अहिले त ४० नम्बरमा शिक्षक हुन्छ मैले त ५० नम्बर नल्याईकन प्रवेश नै हुन नसक्ने गरी शिक्षक तयार गर्नु पर्छ भनेर छलफल प्रारम्भ गरेको छु । यो भन्दा अर्को बाटो छैन ।'

विद्यालय तह सम्म सञ्चालनको अधिकार संविधानतः आफू मतहत भएको भन्दै कतिपय स्थानीय सरकारले आफ्ना क्षेत्र भित्रका विद्यालयमा आफ्नै श्रोत साधनमा शिक्षक नियुक्ति गर्दै आएका छन् । संघीय सरकारले समयमा ऐन नियम पनि नबनाउने र शिक्षक दरबन्दी वितरणमा पनि आलटाल गर्दा आफ्ना क्षेत्र भित्रका विद्यालयमा पठन पाठन नै भद्रगोल भएको तर्क सहित कतिपय स्थानीय सरकारले शिक्षक नियुक्ति गरी पठन पाठन गराउँदै आएका छन् । गुणस्तर सुधार गर्ने जिम्मा आफू मातहत भए पनि विभिन्न वहानामा संघीय सरकारले वाधा सृजना गरेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिले आपत्ति जनाउँदै आएका छन् । शिक्षकका नेताहरुले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको कुरालाई स्विकारेका छैनन् । नजिकको सरकारले गर्ने नियमन 'छलछाम गर्न नसक्ने' भए पछि उनीहरुले विरोध गरेको भन्दै आलोचना जारी रहेका बेला शिक्षा मन्त्री पोखरेलको उक्त भनाई सार्वजनिक भएको हो । 

संविधानले शिक्षाका सवालमा गरेको व्यवस्थाको बारेमा स्पष्ट ब्याख्या गरेर समयमै ऐन नियम निर्माण नगर्दा उक्त उल्झन् जारी छ । संविधान बनेको यतिका समय सम्म पनि स्पष्ट पार्ने गरी नीतिगत काम नगरेको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् । 

तर मन्त्री पोखरेलले भाषणका क्रममा स्थानीय सरकारलाई अगाडीको सिटमा राखेर आफू पछाडी बसेर शैक्षिक अभियान अघि बढाउने कामलाई नेतृत्व गर्न चाहेको भने उल्लेख गरेका छन् । 

फरक प्रसंगमा मन्त्री पोखरेलले शिक्षकहरु प्रति कटाक्ष पनि गरे । शिक्षकले आफ्नो परिचय दिदाँ म फलानो पार्टिमा छु भनेर दिने गरेको भन्दै शिक्षकको परिचय विद्यार्थीलाई माथि ल्याउन अतिरिक्त प्रयत्न भयो की भएन भन्ने बाट हुने पनि उल्लेख गरे । 

'म मान्दछु शिक्षकहरु निरंकुशता विरुद्ध लाग्नु भयो, तर अब मुलुक नयाँ ठाउँमा आएको छ, संविधानमा र कागजमा मौलिक हक लेखेर मात्रै हुँदैन, विगतमा योगदान गरेकैले अस्थायी शिक्षकको समस्या समाधान गर्यौं, नेपाल मात्रै यस्तो देश हो जसले परीक्षा र गोल्डेनह्याण्डसेक सँगै दियो' उनले भने 'तर अब समय बदलिएको छ, विद्यार्थीलाई ग्रेस नम्बर दिन सकिन्छ तर शिक्षकलाई सकिन्न, कक्षामा उठेका प्रश्नका उत्तर दिन सक्ने गरी तयार हुनु पर्छ । सक्नुहुन्छ शिक्षकमा रहनुस्, सक्नुहुन्न अरु ठाउँमा जानुस् ।'

शिक्षा कस्तो छ भन्ने कुरा शिक्षकमा निहीत रहने भन्दै मनत्री पोखरेलले शिक्षकहरुले अद्यावधिक भईदिन जरुरी रहेको बताए । प्रधानाध्यापक चयन गर्ने विद्यमान तरिका पनि काम लाग्ने नभएको भन्दै उनले आफूहरुसँग प्रधानमन्त्रीले गरेको सम्झौता जस्तै प्रअहरुसँग स्थानीय सरकारले सम्झौता गर्नु पर्ने बताए । स्थानीय आवश्यकता र समस्या स्थानीय रुपमै पहिचान र समाधान हुने भन्दै उनले पालिका स्तरीय शिक्षा सम्मेलन गरी शिक्षालाई नयाँ ढंगले परिभाषित र सञ्चालन गर्न सुझाव दिए । 

विगतमा सामान्य शिक्षा जिवनसँग नगाँसिएकाले उत्पादित जनशक्ति कामको संसारसंग नजोडिएको भन्दै उनले १२ कक्षा पास गर्ने हरेक विद्यार्थीसँग एउटा सीप सुनिश्चित गर्ने गरी नीति तर्जुमा शुरु भएको पनि बताए । 

अहिले सम्म १ सय २७ पालिकाले साक्षर घोषणा गरिसकेको भन्दै उनले बाँकी रहेका पालिका चाँडै नै साक्षर हुने अपेक्षा पनि व्यक्त गरे । 

प्रतिक्रिया