Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चितवनका बालिबालिकालाई विद्यालयमै खाजा !

शुक्रबार, ०४ मंसिर २०७२

काठमाडौँ, ४ मङ्सिर । चितवनमा विद्यालयहरुमा विद्यार्थीलाई आकर्षित गराउन खाजा कार्यक्रम सञ्चालन भएको छ ।  चितवनमा यो वर्ष जम्मा ९७ विद्यालयलाई खाजा कार्यक्रममा सहभागी गराइएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिए । 

ती विद्यालयका सात हजार ७७६ जना विद्यार्थीलाई खाजा उपलब्ध गराउन थालिएको पनि उनले बताए । प्रतिविद्यार्थी रु १२ का दरले खाजा आउने गर्छ ।  विद्यालयको खातामा रकम जम्मा भइसकेको र धेरै विद्यालयले कार्यक्रम सुरु गरेको उनले बताए । यसका लागि शिक्षकको अभिमुखिकरणसमेत गरिएको थियो । 

यसवर्ष खाजा कार्यक्रमका लागि रु तीन करोड ३२ लाख रकम आएको छ । चितवनका आठ गाविस र माडी तथा मेघौलीका केही क्षेत्रमा खाजा कार्यक्रम चलाइएको आचार्यले जानकारी दिए ।  विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न वर्गका बालबालिकालाई विद्यालय पठाउन समस्या देखिएपछि यसरी कार्यक्रम चलाइएको हो । 

उनीहरुलाई विद्यालय जान आकर्षित गराउने उद्देश्यले गएको वर्ष लागू हुनुपर्ने विद्यालय खाजा कार्यक्रम नहुँदा रकम फ्रिज भएको थियो ।  चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले असार दोस्रो सातापछि रकम आएकाले अघिल्लो पटक कार्यान्वयन हुन नसकेको जानकारी दिए । 

चितवनको विकट गाउँका स्थानीय चेपाङ प्रतिनिधि दलबहादुर चेपाङले खाजाकै अभावमा बालबालिका स्कूल नजाने गरेको दाबी गरे ।  विद्यालय खाजा कार्यक्रम लागुभए बालबालिका स्कूल जाने उनको तर्क छ । 

यहाँका चेपाङ परिवारमा अन्नको जोहो हुन नसकेकाले बालबालिकालाई विभिन्न जङ्गली कन्दमुल खोज्न पठाउँछन् भने खानेकुरा बोक्नका लागि पहाडबाट वेँसीतीरसमेत पठाउने गरेका छन् । 

चितवनमा अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत विद्यार्थी घटेका छन् । चितवनमा सिमान्तकृत चेपाङ समुदायका दुई प्रतिशत बालबालिका उमेर पुगेर पनि विद्यालय जान बञ्चित भएको शिक्षा कार्यालयको तथ्याङ्क छ । जिल्लामा निजीसहित साढे पाँचसय विद्यालय छन् । 

(रासस) 

 

प्रतिक्रिया