भक्तपुर - कक्षा ११ मा भर्ना भएर विभिन्न कारणले परीक्षा छुटेका विगत ७ बर्ष देखिका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षा दिन पाउने भएका छन् । २०६५ साल देखि ०७१ साल सम्म परीक्षामा छुटेका त्यस्ता विद्यार्थीलाई मौका दिने गरी उक्त व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीलाई फारम भर्नका लागि आगामी माघ २७ गते सम्मको म्याद तोकिएको छ ।
कक्षा ११ को परीक्षा आगामी वैशाख २१ र १२ को परीक्षा वैशाख ८ गतेबाट गर्ने गरी बोर्डले रुटिन सार्वजनिक गरिसकेको छ ।
विभिन्न कारणले परीक्षा दिन नपाउँदा चाहेर पनि शैक्षिक योग्यता हासिल गर्न नपाएका विद्यार्थीको हितलाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौलेलले बताए ।
कुनै खास कारणले परीक्षा दिनबाट वञ्चित भएकै आधारमा विद्यार्थीले शैक्षिक योग्यता हासिल गर्न नपाउनु राम्रो भएन त्यसैले एक पटकका लागि यो व्यवस्था गरेका हौं, पौडेलले भने, त्यसरी परीक्षा छुटेका मध्ये कतिपयलाई अझै अगाडी पढ्न मन पनि त हुन सक्छ, उनीहरुलाई रोक्नुको अर्थ पनि त छैन ।
त्यस्ता विद्यार्थीको यकिन संख्या थाहा नभए पनि २० देखि ३० हजार हुन सक्ने अनुमानमा परीक्षा सम्बन्धि आन्तरिक तयारी गरिएको उनले बताए ।
तर उक्त अवधिमा विद्यार्थीको उत्तीर्ण प्रतिशत हेर्दा पढाई छुटेका विद्यार्थीको संख्या निकै धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ ।
२०६५ सालमा कक्षा ११ मा ४१ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए भने कक्षा १२ को उत्तीर्ण प्रतिशत ५० दशमलब ६५ थियो । यसैगरी ०६६ मा कक्षा ११ मा ४० दशमलब २३, १२ मा ४६ दशमलब ६८ र ०६७ मा कक्षा ११ मन ३९ दशमलब ३४ र १२ मा ४४ दशमलब ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसैगरी ०६८ सालमा कक्षा ११ मा ३८ दशमलब ६८, १२ मा ४८ दशमलब ४२ र ०६९ सालमा ११ मा ४० दशमलब ३८, १२ मा ४२ दशमलब ३९ प्रतिशत विद्याथीृ मात्रै उत्तीर्ण भएका बोर्ड सँग तथ्याङ्क छ । यसैगरी २०७० सालमा ११ मा ३९ दशमलब ८८, १२ मा ४३ दशमलब ६९ र ०७१ मा ११ मा ४७ दशमलब २६ र १२ मा ४४ दशमलब ०९ प्रतिशत विद्याथीृ मात्रै उत्तीर्ण भएका थिए । यसैगरी ०७२ मा ११ मा ५१ दशमलब ४६, १२ मा ४६ दशमलब ०२ र ०७३ सालमा कक्षा ११ मा ५१ दशमलब ७१ र १२ मा ५२ दशमलब ९८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भउका थिए ।
२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै ०७४ सालबाट वोर्डले लेटर ग्रेडिङ्मा नतिजा प्रकाशन शुरु गरेको छ ।
गत बर्ष कक्षा ११ मा ३ लाख ४९ हजार ४ सय ६२ विद्यार्थी थिए भने १२ मा २ लाख ९२ हजार १ सय ४८ विद्यार्थी थिए । यो बर्ष कति विद्यार्थी छन् भन्ने कुरा परीक्षा फारम भरेपछि मात्रै यकिन हुने भए पनि विगत केही बर्ष देखिको संख्याका आधारमा हेर्दा औषतमा उक्त संख्या मिल्दो जुल्दो हुने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया