Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

उत्कृष्ट शिक्षक, प्रअ, विद्यालय र अध्यक्षको पहिचान, नगद सहित सम्मान

आइतबार, १९ माघ २०७६

ललितपुर - बागमती गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, विद्यालय र व्यवस्थापन समिति अध्यक्षको पहिचान गर्दै नगद सहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुनेमा बालकुमारी आधारभुत विद्यालय घुसेलका शिक्षक लक्ष्मण महत, जनजागृती मावि इकुडोलका शिक्षक दशरथ यादव र कालीदेवी मावि प्युटारका प्रधानाध्यापक ठाकुर लामा रहेका छन् । यस्तै उत्कृष्ट विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तर्फ महांकाल आधारभुत विद्यालय घुसेलका अध्यक्ष गोविन्द गौतमलाई पुरस्कृत गरिएको छ । उनीहरु सबैलाई जनही दश हजार रुपैंया नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो । 

शैक्षिक वातावरण निर्माण, भावी योजना र नतिजाका आधारमा तय गरिएका विभिन्न सूचकाँक अनुसार उत्कृष्ट पहिचान गरिएको पालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । शिक्षक, प्रधानाध्यापक, विद्यालय र समितिबाट आह्वान गरिएको प्रस्ताव अध्ययन पश्चात छनौट गरिएको उनले जानकारी दिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित गाउँ शिक्षा समितिका एक जना सदस्य र शिक्षा शाखाका प्रमुख सहित ३ सदस्यीय मूल्याँकन समितिले प्राप्त प्रस्तावको अध्ययन गरेर उत्कृष्ट छनौट गरेको उनले जानकारी दिए । 

शिक्षकका नेताहरुले सार्वजनिक रुपमै स्थानीय सरकारका जनप्रतिनिधिलाई ल्याप्चेको संज्ञा दिदैं स्थानीय सरकारका शैक्षिक सुधारका कृयाकलापलाई चुनौती दिईरहेको बेला यस पालिकाले भने शिक्षकलाई सम्मान गर्ने क्रम शुरु गरेको छ । नजिकैको सरकारले गर्ने नियमनका कारण यस अघि जस्तो 'छलछाम' गर्न नपाउने भए पछि शिक्षकका नेताहरु स्थानीय सरकार प्रति आक्रोशित हुँदैं आएको आलोचना जारी छ । गत बर्ष मावि र आधारभूत तहका गरी दुई शिक्षकलाई गरेकोमा यस बर्ष उक्त सम्मानको दायरा बढाईएको हो । 

राम्रो काम गर्नेलाई प्रोत्साहन दिदाँ सकारात्मक शन्देश प्रवाह हुने तथा अरुलाई पनि राम्रो गर्न प्रेरणा मिल्ने ठहर साथ पुरस्कृत गर्ने कार्य शुरु गरेको लोप्चन बताउँछन् । पालिकाले गत बर्ष देखि शुरु गरेको शैक्षिक मेलाको दोश्रो संस्करणमा शनिवार उक्त पुरस्कार प्रदान गरिएको थियो । 

मेलामा २२ स्टलमा विज्ञान, प्रविधि, गणित, सामाजिक विषयका प्रदर्शनी गरिएको थियो । आधुनिक ठेकी देखि घाँस काट्ने मेसिन र शैक्षिक सामाजिक सामग्री तयार पारी विद्यार्थी स्वयंले ब्याख्या गरेका थिए । 

जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख गुणराज पोखरेलको संयोजकत्वमा गठित तीन सदस्यीय मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा मेलामा सहभागी मध्ये जनक मावि, नारायणी मावि, चण्डेश्वरी मावि, जनजागृति मावि क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भए । उनीहरुलाई क्रमशः छ हजार, चार हजार, दुई हजार र एक हजार रुपैंया प्रदान गरिएको थियो । मेलाका अवसरमा बज्रवाराही मावि चापागाउँका शिक्षक नवराज सञ्जेललाई शिक्षा क्षेत्रको सुधार र विकासमा योगदान गरेको भन्दै 'बागमती शैक्षिक सम्मान' प्रदान गरिएको थियो । उनी बागमती - ५, इकुडोलका स्थायी बासिन्दा हुन् ।

संविधानले विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै यस पालिकाले शैक्षिक सुधारमा विभिन्न कार्य गर्दै आएको छ । स्थानीय सरकार मातहत संवैधानिक रुपमा प्राप्त शैक्षिक अधिकार पूरा गर्न पालिका सक्षम रहेको उल्लेख गर्दै सामाजिक समिति  संयोजक एवम् वडा नम्बर २ माल्टाका अध्यक्ष  विजयकुमार लो ले विभिन्न वहाना बनाएर स्थानीय सरकारको अधिकार कटौती नगर्न प्रदेश तथा संघीय सरकारलाई स्मरण गराएका छन् । 

एउटा पनि निजी विद्यालय नरहेको पालिका भित्रका ४७ वटा सामुदायिक विद्यालयमा ३ सय १९ शिक्षक कार्यरत रहेको अध्यक्ष लोप्चनले जानकारी दिए । मेला पछि एडुखबरसँग कुरा गर्दै अध्यक्ष लोप्चनले यस्ता मेलाले सार्वजनिक शिक्षा सुधारमा थप टेवा र हौसला प्रदान गर्ने अपेक्षा गरेको उल्लेख गर्दै शिक्षामा पर्याप्त  बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

प्रतिक्रिया