काठमाडौं - समाजवादी विद्यार्थी यूनियनले विश्वविद्यालयहरुमा हुने नियुक्तिमा दलीय भागवण्डा रोक्न माग गरेको छ । लामो समय देखि खाली रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति लगागतका पदाधिकारी नियुक्तिका विषयमा सत्ताधारी र प्रमुख विपक्षी दलका नेताहरु बीच छलफल भएको खबर सार्वजनिक भएको सन्दर्भमा यूनियनले आफ्नो धारणा स्पष्ट पारेको हो ।
काठमाडौंमा मंगलबार र बुधबार बसेको कन्द्रिय समितिको बैठकले विश्वविद्यालयहरुमा दलीय भागवण्डा अन्त्य गर्न माग गर्ने निर्णय गरेको अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ । यूनियनले आसन्न त्रिवि स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्ने भन्दै स्ववियुको निष्पक्ष निर्वाचनका लागि एक स्वतन्त्र केन्द्रीय निर्वाचन समिति गठन गर्न माग समेत गरेको छ ।
स्ववियु निर्वाचनका लागि केन्द्रीय पदाधिकारीहरुलाई प्रदेश÷प्रदेशको कमाण्ड इञ्चार्ज र केन्द्रीय सदस्यहरुलाई जिल्ला र क्याम्पसको इञ्चार्ज तोकिएको यूनियनले जनाएको छ । ती सबै समितिहरु संगठनका केन्द्रीय अध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ ।
यसका साथै सरकार र विश्वविद्यालयले विगतमा विद्यार्थी संगठन र आन्दोलित विद्यार्थीहरुसंग गरिएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै यूनियनले संसदमा प्रस्तुत गर्न लागिएको सूचना, प्रविधि विधेयक रोक्न समेत माग गरेको छ ।
प्रतिक्रिया