Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

परम्परागत र झण्झटिलो प्रकृयाले विद्यार्थी हैरान

शुक्रबार, २५ पुस २०७६

काठमाडौं २५ पुस / विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि सरकारी निकायबाट प्राप्त गर्नु पर्ने आवश्यक कागजात निर्माणको प्रकृया परम्परागत र झण्झटिलो भएको विद्यार्थीले गुनासो गरेका छन् । विभिन्न विद्यार्थीको भोगाईलाई उदृत गर्दै गोरखापत्रमा सजिलै पाइँदैन ‘नो अब्जेक्सन लेटर’ शिर्षकमा प्रकृति अधिकारीले लेखेको खबरमा प्रविधिको विकास अनुसार समय सुहाउँदो हुनुपर्ने भए पनि नभएको विषय उल्लेख छ ।

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने योजना बुन्नुभएका चन्द्रशेखर भट्ट बिहीबार बिहान ५ बजे कठ्याङ्ग्रिँदै डेराबाट केशरमहलका लागि प्रस्थान गर्नुभयो । ‘नो अब्जेक्सन लेटर’ लिन भक्तपुरको झौखेलबाट केशरमहलतर्फको यात्रा थाल्नुभएका उहाँ बिहान ६ बजे गन्तव्यमा पुग्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुभएका उहाँको पालो २७औँ नम्बरमा प¥यो । बिहान साढे ११ बज्दासम्म पनि उहाँको हातमा नो अब्जेक्सन लेटर परिसकेको थिएन ।

“चिसोमा त्यति बिहान आउँदा मभन्दा अगाडि अरू पनि आइसकेका थिए”, सूचना प्रविधि विषयमा स्नातक तह अध्ययन गर्न नो अब्जेक्सन लेटर प्राप्तिका लागि आवेदन बुझाउनुभएका दार्चुला मार्मा गाउँपालिकाको लटिनाथका बासिन्दा भट्टले भन्नुभयो, “विश्व डिजिटल युगमा प्रवेश गरिसक्यो । घरमै बसेर विश्वविद्यालयको परीक्षा दिने कुरा अब नयाँ भएन तर यहाँ नो अब्जेक्सन लेटर लिन पनि परम्परागत व्यवस्था कायम छ ।

हामी सूचना प्रविधिमा धेरै पछाडि रहेको यसैबाट प्रस्ट हुन्छ । ” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा र अध्ययनका लागि विदेशी विनिमय पठाउन बैङ्कमा बुझाउन नो अब्जेक्सन लेटर लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । केशरमहलमा रहेको सो शाखाबाट दैनिक सरदर दुई सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । कुनै कुनै दिनमा सात सयसम्म विद्यार्थी पुग्ने गरेका छन् ।

सुरुमा कर्मचारीले आवेदनपत्रमा नेपाल सरकारको छाप लगाई पालो नम्बर उल्लेख गरिदिन्छन् । आवश्यक कागजात र प्रमाणपत्रसहितको आवेदनपत्रलाई झ्याल नम्बर ३ मा बुझाउनुपर्ने हुन्छ । त्यसपछि झ्याल नम्बर २ मा राजस्व बुझाउनुपर्ने नियम छ । झ्याल नम्बर ४ मा ‘कम्प्युटर इन्ट्री’का लागि कागजात बुझाउनुपर्ने हुन्छ । अन्तिममा झ्याल नम्बर ६ बाट नो अब्जेक्सन लेटर वितरण गरिन्छ । हरेक झ्यालमा सेवाग्राही लाममा बस्नुपर्ने हुन्छ । पानी परेमा जोगिने अवस्था छैन ।

बिहान ८ बजे केशरमहल पुग्नुभएकी रुपन्देही मुर्गियाकी शुभेच्छा कुँवरको पालो ३९औँ नम्बरमा प¥यो । “टोकन सिस्टम लागू भइदिएको भए हामीले दुःख पाउनुपर्ने थिएन । अलि अव्यवस्थित पनि लाग्यो”, अस्ट्रेलियाको युनिभर्सिटी अफ ओलोङ्गोङमा नर्सिङ विषयमा स्नातकोत्तर तह अध्ययनका लागि नो अब्जेक्सन लेटर लिन आवेदन बुझाउनुभएकी कुँवरले गुनासो गर्नुभयो ।

दशकयता वैदेशिक शिक्षातर्फको आकर्षण नेपाली विद्यार्थीमा निकै बढ्दै गएको छ । सो शाखाका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा ६३ हजार २५९ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष २०७४÷७५ मा ५८ हजार ७५८ जनाले त्यस्तो पत्र लिएका थिए । आव २०७२÷७३ मा ३२ हजार ४८९ ले नो अब्जेक्सन लेटर लिएका थिए । चार वर्षमा दोब्बरले त्यस्तो पत्र बुझेको देखिन्छ । हुन त नो अब्जेक्सन लिएकाहरू सबै नै वैदेशिक शिक्षाका लागि विदेशिने गरेका छैनन् । नो अब्जेक्सन लेटर लिएकामध्ये ७० प्रतिशत विदेशिने गरेको अनुमान शैक्षिक परामर्शदाताहरूले गर्ने गरेका छन् ।

बाँके कोहलपुरकी सन्ध्या सुवेदीले एग्रो फरेस्ट्री विषयमा स्नातकोत्तर तह अध्ययनका लागि जर्मनी जान आवेदन दिनुभएको तीन दिन भयो । उहाँले नो अब्जेक्सन लेटर पाउनुभएको छैन । नेपालमा एग्रो फरेस्ट्री विषय अध्यापन हुँदैन । सो विषय अध्ययनपछि स्वदेश फर्किएमा प्रमाणपत्रको समकक्षता निर्धारणमा समस्या आउनसक्ने भएकाले नो अब्जेक्सन लेटर दिन शाखाका कर्मचारीले नचाहेको भनाइ उहाँको छ । “अनलाइनबाट आवेदन फाराम भर्ने व्यवस्था हुनपथ्र्यो”, उहाँले सुझाव दिनुभयो, “नो अब्जेक्सन लेटर लिन भीड हुने हुँदा धेरैवटा झ्यालबाट सेवा दिनुपर्छ । ”

पालो आइसकेकाहरूको नम्बर कर्मचारीले बोलाउँदा नसुनिने भएकाले कतिपय झ्यालमा विद्यार्थी झुम्मिएर बस्नुपर्ने बाध्यता पनि छ । “कर्मचारीले पालो आएको जानकारी दिएको भीडबाहिर गएर सुन्न सकिँदैन”, चितवन रत्ननगर नगरपालिकाका सन्देश खतिवडाले थप्नुभयो, “माइकको व्यवस्था गर्नुपथ्र्यो । कुपन प्रणाली लागू गरेर डिजिटल बोर्डको व्यवस्था गर्नुपथ्र्यो । त्यसो भएमा सेवाग्राहीले सुविस्ता पाउने थिए । ”
महोत्तरीको पिपरा गाउँपालिकाका कमलदेव यादव बीएस्सी एजी अध्ययन गर्न बङ्गलादेश जान नो अब्जेक्सन लेटर लिन बिहीबार केशरमहल पुग्नुभएको थियो । उहाँले लाम लागेर झ्यालबाट सेवा लिन कठिन भएको अनुभव सुनाउँदै भन्नुभयो, “अनलाइनबाट आवेदन दिने व्यवस्था भएको भए चिसोमा पानीमा भिज्दै यहाँ बिहानै आइरहनुपर्ने थिएन, घरबाटै आवेदन दिन सकिन्थ्यो । ” धनुषा दुहवीकी अनु पण्डितले पनि अनलाइनबाट फाराम भर्ने व्यवस्था भए सहज हुने बताउनुभयो ।

वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख गिरमान थापाले परम्परागत ढङ्गले नो अब्जेक्सन लेटर वितरण गर्दै आएको स्वीकार गर्नुभयो । “यो विधि परम्परागत भएकाले अनलाइनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्न लागेका छौँ”, उहाँले थप्नुभयो, “त्यससम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको छ । अबको डेढ महिनाभित्र अनलाइन माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था लागू गरिसक्छौँ । ”

विद्यार्थीले अनलाइनबाट आवेदन फाराम भरेपछि तुरुन्तै नो अब्जेक्सन लेटरको नम्बर उपलब्ध गराइन्छ र सोही नम्बरका आधारमा बैङ्क र अध्यागमनमा देखाई सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिँदै छ । नेपाल विश्वविद्यालय र परीक्षा बोर्डसँग पनि नेटवर्क जोडिने छ । त्यसबाट विद्यार्थीले बुझाएको प्रमाणपत्रको सत्यापन प्रमाणीकरण गर्न सहज हुने छ । “आवश्यक कागजात पूरा रहेका विद्यार्थीले घरमै बसेर नो अब्जेक्सन लेटरको नम्बर पाउने छन्”, उहाँले भन्नुभयो ।

हाल बिहान १० बजे आवेदनपत्र बुझाएका विद्यार्थीले ढिलोमा दिउँसो २ बजेसम्म नो अब्जेक्सन लेटर पाइसक्छन् । दैनिक दुई सय जनासम्मलाई त्यस्तो पत्र वितरण गरिन्छ र त्यसभन्दा बढी विद्यार्थीलाई भोलिपल्ट मध्याह्न १२ बजेपछि वितरण गर्ने व्यवस्था छ ।

सो शाखाका अनुसार गत २०७५ साल साउन १ देखि यही पुस २४ सम्ममा अस्ट्रेलियाका लागि ४३ हजार ४९४ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा अध्ययनका लागि १२ हजार ३७८ र अमेरिकाका लागि दुई हजार १५८ जनाले त्यस्तो पत्र लिएका छन् ।

प्रतिक्रिया