Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

२ करोड ११ लाख लक्ष्य, दैनिक एक लाख छापिँदै

बुधबार, २३ पुस २०७६

काठमाडौं २३ पुस / नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको कामलाई तीव्रता दिएको छ । राजधानीमा नयाँ शैक्षिक सत्रका लागि एक अर्बको पाठ्यपुस्तक शिर्षकमा प्रशान्त वलीले लेखेको खबर अनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र केही निजी छापाखानाले लिँदै आएका छन् । सोअनुरूप लक्ष्य चुम्न दैनिक १ लाख थान पाठ्यपुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि २ करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको छ । सोअनुरूप हालसम्म १ करोड ११ लाख थान पाठ्यपुस्तक छपाइको काम सकिएको छ । कक्षा २, ३, ४, ५, ९ र १० का पाठ्यपुस्तक छापिसकिएको केन्द्रले जनाएको छ । हाल कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । त्यसका लागि २ सय ५० कर्मचारी खटिएका छन् । पाठ्यपुस्तक छाप्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कक्षा १ को पाठ्यपुस्तक भने केही समयपछि छापिने केन्द्रले जनाएको छ ।

कक्षा २ देखि १० सम्मका लागि आवश्यक २ करोड ११ लाख थान पाठ्यपुस्तकमध्ये १ करोड ११ लाख थान छापिएको छ । ती पाठ्यपुस्तक वितरणका लागि तयारी अवस्थामा राखिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार कक्षा २ देखि ५ सम्म र कक्षा ९, १० का १ करोड ११ लाख थान पाठ्यपुस्तक छापिएको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार हाल कक्षा ६ देखि ८ सम्म पाठ्यपुस्तक छपाइको काम जारी छ ।

कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् । नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने गरी छपाइको काम तीव्र रूपमा अघि बढाइएको केन्द्रका प्रवक्ता आचार्यले बताए ।

 हरेक वर्षको कात्तिकभित्र कुल छापिनुपर्ने पाठ्यपुस्तकको ५० प्रतिशत माघ मसान्तभित्र मुद्रण गरी सम्बन्धित निकायमा पठाइसक्नुपर्ने विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका २०६७ मा उल्लेख छ । निर्देशिकामा विद्यार्थीलाई नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र नयाँ पाठ्यपुस्तक सेटमा उपलब्ध गराउने उल्लेख छ ।

कक्षा १, २, ३, ४ र ५ को पाठ्यपुस्तक छाप्ने काम निजी छापाखानाले जिम्मा लिएका छन् । यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार केन्द्रमै पुगी स्थलगत निरीक्षण गरेका छन् । सो क्रममा उनले विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउने वातावरण सिर्जना गर्न केन्द्रलाई निर्देशनसमेत दिएका थिए ।

प्रतिक्रिया