दाङ् - चौथो घण्टी बज्यो । शिक्षकहरु आ–आफ्नो कक्षा कोठा तिर लागे ।
हातमा चार्ट पेपर, भित्ते घडी र क्यालेण्डर बोकेका शिक्षक टोपबहादुर केसी खिया लागेको जस्ता पाताले छाएको पुरानो भवन तिर सोझिए ।
यो कक्षा ५ हो । विद्यार्थीले भरिभराउ कक्षा कोठामा छिर्दै केसी सरले बोले
– गुडमर्निङ क्लास !
गुडमर्निङ सर
विद्यार्थीको एकै स्वरले कक्षा कोठा गुञ्जियो ।
– ल आआफ्नो ठाउँमा बस ।
बस्दै गर्दा विद्यार्थीको कल्याङ् मल्याङ् आवाज आयो । केही विद्यार्थी कानेखुसी गरिरहेका थिए । कोही उत्साहित हुँदै सबैले सुन्ने गरी छक्क पर्दै थिए !
आहा ! क्या राम्रो घडी !
आम्मै क्यालेण्डर पनि !
घडी र क्यालेण्डर देखे पछि विद्यार्थीका आआफ्नै अड्कल थिए ।
पुरानो र साँघुरो कक्षामा नयाँ घडी र उज्यालो पात्रोले उत्साह र जिज्ञासा थपिरहेको थियो ।
यो के हो ? केसी सरले सोधे ।
घडी... विद्यार्थीले एकै स्वरमा भनेको आवाज कोठामा फैलियो ।
घडी के को लागि प्रयोग गरिन्छ ?
टाइम हेर्न । समय हेर्न । विद्यार्थीले आआफ्नै शैलीमा जवाफ दिए ।
पात्रो देखाउँदै सरले फेरी सोधे – यो के हो ?
‘कैलेन्डर ।’ आत्मविश्वासको साथ विद्यार्थीको ओठबाट निस्कियो ।
क्यालेण्डर के को लागि प्रयोग गरिन्छ ?
महिना, बार, गते हेर्न ।
सेतोपाटीमा ‘समय’ लेख्दै सरले भने – आज हामी समय पाठ पढ्दै छौं ।
एक जना विद्यार्थीको मुखबाट फुत्त आवाज निस्क्यो ‘ए ए त्यै भएर त सरले घडी र कैल्याण्डर ल्याउनु भा रैछ ।’
घडीमा समय कसरी हेरिन्छ त ?
अगाडि बेञ्चको छात्राले भनि हालिन् – मिनेटको आधारमा ।
अरु के के हुन सक्छ ? सरले फेरि सोधे ।
घण्टा । सेकेण्ड पनि हो है सर ! केही विद्यार्थीले भने ।
थ्याङ यू ! सबैले तालि बजाइदिम् है ।
तालिले कक्षा कोठा घन्कियो ।
त्यसो भए ल मलाई भन – एक मिनेट हुन कति सेकेण्ड हुनु पर्छ ?
केही बेर सोचेर अर्का विद्यार्थी बोले – अँ.. ६० सेकेण्ड ।
अनि एक घण्टा हुन कति नि ?
त्यही विद्यार्थले बोले – अँम् ६० नै
६० नै के ?
सेकेण्ड । सेकेण्ड । होइन, होइन ब्यारे मिनेट । मिनेट । एक पछि अर्को विद्यार्थीले भन्न थाले ।
अलमलमा परेका विद्यार्थीले अन्य साथीहरुबाटै सिकिरहेका थिए ।
सर मिनेट र घण्टा सुई हिंडेको देखिदैन त । सेकेण्ड सुइ मात्रै हिडिरहेको छ ।
‘६० पाईला सेकेण्ड हिंड्यो भने एक पाइला मिनेट सुई हिंड्छ । ६० पाईला मिनेट सुई हिंडे मात्रै एक पाईला घण्टा सुई हिंड्छ । त्यसैले नियम अनुसार सबै हिंडीरहेका हुन्छन् ।’ केसी सरले निकै सरल तरिकाले जवाफ दिए ।
भित्ते घडीलाई बेञ्चमा राखे पछि क्यालेण्डर हातमा लिदै सरले फेरी सोधे – एक हप्तामा कति दिन हुन्छन् ?
एक महिनामा ?
६ महिनामा ?
एक वर्षमा कति दिन हुन्छन् ?
विद्यार्थी थप जिज्ञासु देखिन्थे ।
केही विद्यार्थीले जवाफ मिलाए । केही अलमलमा परे ।
केसी सरले अघिल्लो दिन नै गणित कक्षालाई ४ समुहमा विभाजन गरेका रहेछन् ।
बैशाख देखि चैतसम्म हरेक महिनामा कति दिन छन् ?
हिजो बनाईएको मध्ये एउटा समुहलाई भन्न लगाए र आफु बोर्डमा लेख्न तयार भए । विद्यार्थीलाई सँगसँगै सार्न पनि भने ।
केही छिन मै सबै विद्यार्थीले सारिसकेको संकेत गरे ।
‘लौ त एक वर्षमा ३ सय ६५ दिन हुन्छन् भन्न त हामीले भन्छौं के साँच्चिकै हो त ? आफ्नो समुहमा जोडेर हेरौं न त ?’
शिक्षकको बोलि ओठ्बाट खस्न नपाउँदै विद्यार्थी आआफ्नो समुहमा माहुरी झैं भुनभुन गर्दै हिसाब गर्न थाले ।
...
तुलसीपुर उपमहानगरपालिका स्थित कालाखोला माध्यमिक विद्यालयको कक्षा कोठाको अन्तिम बेञ्चमा बसेर यी सबै दृष्य नियाल्दै गर्दा यो सम्बाददातालाई केही महिना अघिको कक्षा कोठाको स्मरण भयो ।
त्यो बेला कक्षामा विद्यार्थीले काम पाइरहेका थिएनन् । हल्लाले कक्षा भरिएको थियो । शिक्षक स्वयंम् अलमलमा परे जस्तो लागि रहेको देखिन्थ्यो । शिक्षकसँग शैक्षिक सामग्री नै थिएनन् ।
तर आजको कक्षा भिन्दै थियो । सरल रेखामा एक सय असी डिग्री कोण बने जस्तो । विद्यार्थीको उच्च सहभागिता । शिक्षकको सहभागितामा कक्षा कोठामा बनेका नीति नियमको पालना र समुह कार्य ।
...
समूह कार्यमा व्यस्त विद्यार्थीले शायद काम सके – उनीहरुले भन्न थाले – सर मिल्यो ३६५ दिन नै हुने रहेछ ।
चारै समुहका विद्यार्थीले जोडेर देखाए ।
‘लु आफ्नो लागि आफै ताली बजाएर धन्यवाद दिऔं है त हिसाब मिलेकोमा !’
पररररररररर... तालीले कक्षा फेरि गुञ्जियो ।
घडीले एक दिनको समय दिन्छ । घडिका सुईहरु घुम्दै जान्छन् । क्यालेण्डरमा बारहरु, गतेहरु र महिनाहरु फेरिदै जान्छन् । सेकेण्डबाट सुरु हुँदै वर्ष पुरा हुन्छ र नयाँ क्यालेण्डर भित्तामा झुण्डिन्छ । कर्म अनुसारको फल वर्षको अन्तमा सबैले हाँसिल गर्छन् । समय भनेको यहि त हो ।
समयको बारे यति कुरा बताइ सके पछि केसी सरले अभ्यासको एउटा प्रश्न हल गरेर देखाए ।
४ मिनेटलाई सेकेण्डमा बदल्ने प्रश्नलाई बुझिने भाषामा बोर्डमा गर्दा विद्यार्थी शिक्षक संग सँगै अभ्यास गरिरहेका थिए ।
‘भोली हामी अभ्यासका समस्याहरु हल गर्छौ । आजको लागि यति नै । आज सिकेको कुरा सबैले सम्झेर आउने । आफ्नो घरमा घडी र क्यालेण्डर छ भने अझैं बढि बुझेर आउने, नबुझेको कुरा केही भयो भने भोली फेरी छलफल गर्ने है त’
शिक्षकले घडी र क्यालेण्डर हातमा बोक्दै गर्दा ‘सर यो घडी र क्यालेण्डर हाम्रै कक्षामा सजाएर राखौं न ।’
कक्षा कोठामा गयल भए पछि जम्मा गरेको रकमबाट घडी र क्यालेण्डर राख्दा कसो होला ?
‘ए ए । हो हो । हुन्छ सर । ठिक आइडिया । छिट्टै रार्खाैं न सर ।’
‘यो घडी र क्यालेण्डर अफिस कोठाको भएकोले राख्न मिल्दैन । हामी मिलेर आफ्नै रकमबाट ल्याउने है त थ्याङ् यू क्लास’ भन्दै सर कक्षाबाट बाहिरिए ।
समानता र निरन्तरताको सन्देश घडीका सुईहरुबाट सिकाउन सकिन्छ । जोड, घटाउ, गुणन, भाग सिकाउने सजिलो माध्यम घडी र क्यालेण्डर नै हो ।
...
पछिल्लो बेञ्चबाट बाहिर निस्कदैं गर्दा विद्यार्थीलाई सोँधे – कस्तो लाग्यो आजको कक्षा ?
‘एकदम रमाइलो । समयको बारे बुझियो । घडी र क्यालेण्डर कक्षामा कुनै पनि सरले ल्याउनु भएको थिएन । टोप सरले ल्याउनु भयो । अब हामी किनेर भए पनि कक्षामा राख्छौं । सिक्न सजिलो हुने रहेछ ।’ विद्यार्थीले बताए ।
विभिन्न अध्ययनले प्रमाणित गरिसकेको कुरा हो – अवधारणा स्पष्ट पार्न शैक्षिक सामग्रीले मद्दत गर्छ । विडम्बना अधिकाँश सामुदायिक विद्यालयका कक्षा कोठामा अझै पनि अधिकाँश शिक्षकले शैक्षिक सामग्रीको प्रयोग गरेको देखिदैंन । देशको राजनीति र शिक्षा मन्त्रालयको कामको तौर तरिका नमिलेको बताउन मै समय खर्चने अधिकाँश शिक्षकसँग शैक्षिक सामग्री प्रयोगका बारेमा कुरा गर्ने हो भने झर्को मानेको शैलीमा उत्तर दिन्छन् – पैसै दिन्न सरकारले कहाँबाट ल्याउनु शैक्षिक सामग्री ?
आफ्नै वरीपरी पाईने, दैनिक जीवनमा प्रयोग भईरहेका सामान्य सामग्रीको प्रयोग गर्न सरकारले बजेट नै छुट्याउनु पर्ने हो की शिक्षकले अलिकति मात्रै चासो गर्दा पुग्ने हो ?
अधिकाँश शिक्षक यस्ता प्रश्नको उत्तर पर्गेल्न भन्दा धेरै, गुनासो गर्नमा समय विताउँछन् । शिक्षकले सृजनशील भएर चिन्तन गर्न सक्ने हो भने कक्षा कोठाको अनुहार बदलिन बेर लाग्दैन । जसले विद्यार्थीको भविष्य फेरिदिन सक्छ ।
नपत्याए केसी सरको कक्षा हेर्न आउनु !
प्रतिक्रिया