Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षाले बनायो सिएनएन हिरो : को हुन् म्यागी ? कसरी आईपुगिन् नेपाल ?

बुधबार, ०२ मंसिर २०७२

काठमाडौं - नेपालका अनाथ बालबालिकाको शिक्षा दीक्षामा विगत आठ वर्षदेखि कृयाशिल अमेरिकी युवती म्यागी डोयन यस वर्षको सिएनएन हिरो भएकी छन् । सुर्खेतको विरेन्द्रनगरस्थित भैरवस्थानमा कोपिला भ्याली समाज विद्यालय खोलेर समाज सेवा गर्दै आएकी म्यागीले मंगलबार अमेरिकामा आयोजित एक कार्यक्रमका बीच विश्वका उत्कृष्ट नौ प्रतिष्पर्धीलाई पछि पार्दै सिएनएन हिरो २०१५ बन्न सफल भएकी हुन् ।

सिएनएन हिरोमा मनोनित उत्कृष्ट १० मध्ये अनलाईन भोटिङका आधारमा विजेता बनेकी उनलाई नेपाल र अमेरिका लगायत विश्वभरका नागरिकले सहयोग गरेका थिए ।  सिएनएन हिरो भएपछि उनले नगद १ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेकी छन् । आफुलाई भोट गरी सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिएकी छन् ।

अमेरिकी टेलिभिजन संस्था सिएनएनले  डोयनलाई मंगलबार राति सिएनएन हिरो २०१५ घोषणा गर्दा कोपिला भ्याली समाज भित्र रहेर नयाँ जीवन पाइरहेका करिब साढे ३ सय बालबालिका सबै भन्दा बढी खुसी देखिन्थे । 
यसअघि नेपालकै अनुराधा कोइराला र पुष्पा बस्नेत पनि सिएनएन हिरो घोषित भइसकेका छन् ।

भोलेन्टियरका लागी भारतमा

सन् १९८७ मा अमेरिकामा बुवा स्टिभ डोयन र आमी नान्सी डोयनकी दोश्रो छोरीका रुपमा उनी जन्मेकी हुन् । उनका बुवा अमेरिकाको एक विश्वविद्यालयमा प्राकृतिक भोजन विषय अध्यापन गराउँछन् भने आमा रियल स्टेटकी जागिरे हुन् । स्नातक सम्मको अध्ययन सकाएपछि सन् २००६ मा उनी खाली समय विताउने क्रममा एक संस्थाको भोलेन्टियर गर्न भारत पुगिन् ।

भारतमा उनले बालबालिकाहरुले पढ्न छाडेर बालश्रम गरेको, गिट्टी कुटेको, आफ्ना आमाबुवालाई सहयोग गरेको अझ त्यसमा पनि आमाबुवा नभएका बालबालिकाहरुले निकै कठिनाई भोगेको देखिन् । यसभन्दा अघि एक न्युज रिर्पोटमा एसियाका बालबालिकाहरुमा सहारा बिहीन रहनेको संख्या धेरै रहेको थाहा पाएपछि उनी यसका लागी भारत आएकी थिइन् ।

कालिकोटका टोप बहादुर मल्लसंगको भेट

भारतमै रहेका बेला उनको भेट कालिकोट घर भएका टोप बहादुर मल्लसंग भयो । मल्लसंग उनले आफुलाई अनाथ बालबालिकाको सेवा गर्ने इृच्छा भएको बताएकी थिईन् । मल्लले नेपालमा बालबालिकाको अवस्था झन् दयनीय रहेको बताएपछि उनी नेपाल आएकी थिइन् ।

मल्लले उनलाई नेपालको पश्चिमी भेगमा लैजादा म्यागी पश्चिमका बालबालिकाको अवस्था देखेर निकै दुखी भइन् । हेमा भन्ने एक बालिकाले गिट्टी कुट्दै गरेको दृश्यले उनलाई पोलेको थियो । त्यसपछि उनले यस्ता अवस्था भएका बालबालिकाको सेवा गर्ने दृढ लक्ष्य लिईन् र काम शुरु गरिन् ।

कोपिला भ्याली सेवा समाज संस्थासंगै विद्यालयको स्थापना

म्यागीले पहिलोपटक नेपालमा आफ्नो कामको शुरुवात कोपिला भ्याली सेवा समाज नामक गैरसरकारी संस्थाबाट गरिन् । २०६४ सालमा स्थाजिन भएको संस्थाको संस्थापक अध्यक्ष उनै मल्ल भए । 
शुरुको बर्षमा सुर्खेत सहित दैलेख, कालिकोट, जाजरकोट, जुम्ला लगायतका जिल्लाबाट गरी करिब ६० जना आमा बुवा दुबै गुमाएका बालबालिकालाई शिक्षा सहित आश्रय दिईन् । यसक्रममा उनले शिक्षक, शिक्षिका र विद्यालयका लागी आवश्यक कर्मचारीको संख्या समेत बढाईन् । अहिले अनाथ बालबालिकासंगै गरिब, असहाय, आर्थिक अवस्था निकै कमजोर भएका करिब ३ सय ६० जना बालबालिकाको शिक्षा दीक्षा त्यहि संस्थाको भरमा छ ।

कक्षा १२ सम्म निशुल्क अध्ययन गराएपछि उनले सीपमुलक तालिम दिएर आफ्ना विद्यार्थीलाई आत्मनिर्भर गराउने गर्छिन् । हाल ३२ जना शिक्षक शिक्षिका रहेको विद्यालयमा छात्राबास र बालमैत्री कक्षाकोठा छन् । 
त्यहीँबाट अध्ययन गरिरहेका विद्यार्थी अहिले कक्षा ११ मा पढिरहेका छन् । विद्यालयको सबैभन्दा रमाइलो पक्ष अनाथ भनिएका बालबालिकाले आफु अनाथ हो, अझ भनौँ टुहुरो भन्ने अनुभव नै नहुने गरेको बालबालिकाले बताउने गरेका विद्यालयका शिक्षिका विरमा राणाले बताईन् ।

यसका साथै डोयनले सुर्खेतमै रहेका महिलाहरुको विकास, एकता तथा उद्धार र सहयोगका लागी महिला विकास केन्द्रको स्थापना गरी विभिन्न ४० महिलालाई सीपमूलक तालिम समेत दिइरहेकी छन् ।
डोयनको समाज सेवामा अमेरिकामा रहेका उनका आमाबुवा र साथीभाईसंगै अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन फाउण्डेसनले समेत सहयोग गरेको छ ।

सुर्खेतमा खुसियाली

म्यागी डोयन यस वर्षको सिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ । म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो खुसियालीमा उत्सव मनाइरहेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित सभामा म्यागीलाइ विजेता घोषणा गरे लगत्तै भ्यालीमा उल्लास छाएको थियो ।

विद्यार्थीहरुकै आयोजनामा बुधबार दिनै भरी विद्यालयमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने क्रम जारी रह्यो । विद्यार्थीकै आयोजनामा ¥याली समेत निकालियो ।
अहिले विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ ।

(विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर शाहीको सहयोगमा)

प्रकाशित मिति : २०७२ मंसिर २ गते

फोटो : ईन्टरनेट

प्रतिक्रिया