Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

विद्यालय तहनै पास नभएको व्यक्ति १३ बर्ष देखि स्थायी शिक्षक !

शुक्रबार, १८ पुस २०७६

काठमाडौं - विद्यालय तह सम्म पनि पास नभएको व्यक्ति विगत १३ वर्ष देखि स्थायी शिक्षकका रुपमा कार्यरत रहेको फेला परेको छ । प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीको शैक्षिक योग्यता कक्षा ५ मात्रै रहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनले उक्त तथ्य फेला पारेको हो । 

कक्षा ५ मात्र पास गरेको भए पनि रायमाझीलाई शिक्षक सेवा आयोगको परीक्षामा पहिलो नम्बरमा पास गराएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा उक्त तथ्य फेला परेको अख्तियारले जनाएको छ । जागिर खान उनले पेश गरेको विहार विद्यालय परीक्षा समिति पटना – १७ बाट जारी गरिएको हाइस्कुल तहको प्रमाणपत्र झुठ्ठा फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उनले २०५४ साल भदौ १४ मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति र २०६३ साउन ३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति लिएको अख्तियारले जनजाएको छ । झुटो प्रमाणपत्र बुझाएर सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएकोले अख्तियारले उनी विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

 

प्रतिक्रिया