काठमाडौं १६ पुस / त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैलोमा पुग्ने तयारीमा छन्।
नेपाल समाचारपत्रमा उपकुलपति प्राडा बास्कोटाको प्रारम्भिक कदम स् पूर्वएमाले ‘इन’, पूर्वमाओवादी ‘आउट’ शिर्षकमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित बनेका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पदाधिकारीले अध्यक्ष प्रचण्डलाई भेट्ने तयारी गरेका हुन्।
तत्कालीन एमालेको भागवण्डामा नियुक्त भएका उपकुलपति बास्कोटाले आधा दर्जन क्याम्पस र विभिन्न कार्यालयमा पूर्वएमाले निकट प्राध्यापकलाई नियुक्त गरेको उक्त संगठनको आरोप छ।
उक्त संगठनले तत्कालीन नेकपाको भागवण्डामा परेका विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको पदाधिकारी आफ्नो भागमा पर्नुपर्ने अडान लिई प्रचण्डलाई भेट्ने तयारी गरेको हो।
उपकुलपति बास्कोटाले एक साताअघि कुलपति एवं प्रधानमन्त्री केपी ओलीसमक्ष रजिस्ट्रार र रेक्टर गरी दुई पदमा रहने प्राध्यापकको नाम सिफारिस गर्नुपर्नेमा एकलौटीरूपमा रजिस्ट्रारको मात्र नाम पठाएर नियुक्ति गरेपछि सो संगठन आक्रोशित भएको हो।
संगठनका सचिव पूर्ण लामिछानेले उपकुलपति बास्कोटाको पछिल्लो नियुक्तिप्रति आपत्ति जनाउँदै पार्टी अध्यक्षसमक्ष भेट गर्ने तयारी भएको स्वीकार्दै भन्नुभयो– ‘उपकुलपतिले एउटै संगठन सोचेर समान व्यवहार नगरी पूर्वमाओवादी निकट रहेका व्यक्तिलाई पाखा लगाएकाले अध्यक्षसमक्ष गुनासो पोख्न जान लागेका हौं।’
दुई पार्टी एक भए पनि प्राध्यापकको संगठन एकीकृत भएको छैन। हाल तत्कालीन एमाले निकट प्रगतिशील प्राध्यापक संगठन र तत्कालीन माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठन सक्रिय देखिएको छ। दुई संगठन एक गर्ने विषयमा छलफल भइरहेको दुवै संगठनका अधिकारीले बताउँदै आएका छन्।
उता दुवै संगठनका अधिकारीले नेकपाको बहुमतको सरकार भएको अवस्थामा कुनै पनि विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा नेपाली कांग्रेसलाई समेट्न नहुने धारणा व्यक्त गरेका छन्।
अघिल्लो कार्यकालमा तीन पार्टीको पदाधिकारी हुँदा विश्वविद्यालयमा काम गर्न समस्या भएको उल्लेख गर्दै दुवै संगठनका पदाधिकारीले एउटै पार्टीको पदाधिकारी हुनुपर्ने बताउँदै आएका हुन्।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँंग तीन दिनअघि भएको भेटमा दुवै संगठनका नेताले नेकपाकै पदाधिकारी हुनुपर्ने माग राखेका थिए।
भेटका क्रममा राष्ट्रिय प्राध्यापक संगठन सचिव लामिछाने र प्रगतिशील प्राध्यापक संगठनका प्रा.चन्द्र ढकालसहितका पदाधिकारीलाई मन्त्री पोखरेलले रिक्त रहेको ६ विश्वविद्यालयको उपकुलपति चाँडै नियुक्ति हुने बताउनुभएको थियो।
प्रतिक्रिया