भक्तपुर - आउँदो शैक्षिक सत्र २०७७ बाट कक्षा ९ र १० मा नयाँ पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ । परिवर्तित पाठ्यक्रमका आधारमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ का ११ र कक्षा १० का ९ ऐच्छिक विषयको पाठ्यपुस्तक तयार पारेको जनाएको छ ।
परिवर्तित पाठ्यक्रमका आधारमा पठन पाठन गर्न सम्बन्धित सरोकारवालालाई सूचित गरिसकिएको केन्द्रले जनाएको छ । कक्षा ९ का इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारिरिक, जनसंख्या, ऐच्छिक अँग्रेजी, लेखापरीक्षण, वातावरण र कम्प्युटर विज्ञानको पाठ्यपुस्तक परिवर्तन गरेको केन्द्रले जनाएको छ । यस्तै कक्षा १० का इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारिरिक, जनसंख्या, वातावरण र कम्प्युटर विज्ञानको पाठ्यपुस्तकमा परिवर्तन गरिएको केन्द्रले जनाएको छ ।
समय अनुसार फेरबदल भएका तथ्य तथ्याङ्कलाई अपडेट गर्न आवश्यक भएकाले उक्त परिवर्तन गर्नु परेको केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराईले जानकारी दिए । अनिवार्य विषयका हकमा परिवर्तन आवश्यक नभएकोले ऐच्छिकमा मात्रै गरिएको उनको भनाई छ ।
यसै गरी केन्द्रले आउँदो शैक्षिक सत्रबाट कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम सुरु गर्दै छ । आगामी वैशाखबाट कक्षा १ र साउन देखि कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठन पाठन हुने छ । केन्द्रले अन्य १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ । देशभरका विभिन्न १८ जिल्लाका एक सय तीन विद्यालयमा परीक्षण सकेर केन्द्रले कक्षा १ को पाठ्यपुस्तक छपाईमा पठाउने अन्तिम तयारी गरिरहेको जनाएको छ । ११ को अनिवार्य ३ विष्य नेपाली अँग्रेजी र सामाजिकको लेख्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।
अघिल्लो वर्षदेखि नै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारले योजना बनाए पनि निजी विद्यालय सञ्चालकहरूको विरोध पछि लागू हुन सकेको थिएन ।
पढ्नुहोस् : कक्षा ११ मा नयाँ पाठ्यक्रम स् निजीको दवाव थेग्न नसकेर पछि हटे शिक्षा मन्त्री
प्रतिक्रिया