Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दुई शिक्षकका भरमा विद्यालय

बुधबार, ०२ मंसिर २०७२

काठमाडौँ, २ मङ्सिर । डडेल्धुरा परशुराम नगरपालिका क्षेत्रमा पर्ने एक प्राथमिक विद्यालय दुई जना शिक्षकका भरमा सञ्चालन भइरहेको छ । परशुराम नगरपालिका–८ डेवरीमा रहेको सिद्ध भगवती प्राथमिक विद्यालय आर्थिक अभावका कारण दुई जना शिक्षकका भरमा सञ्चालन हुँदै आएको हो । 

एकसय ६८ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा राहत कोटामा दुई जना शिक्षकले अध्यापन गराइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयमा छ जना शिक्षक अध्यापनमा रहेपनि विद्यालय व्यवस्थापन समितिले पारिश्रमिक दिन नसकेपछि शिक्षक विद्यालय छाडेर वैदेशिक रोजगारका लागि विदेसिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह धामीले जानकारी दिए ।

“विद्यालयसँग आर्थिक स्रोत केही नहुँदा शिक्षक राख्नै गाह्रो हुँदैछ,” अध्यक्ष धामीले भने– “विद्यालयका प्रधानाध्यापक पनि स्कूल छाड्ने मनस्थितिमा पुगेका छन् ।” विसं २०६४ मा स्थापना भएको विद्यालय सञ्चालनका लागि सहयोग जुटाइदिन समितिले अनुरोध पनि गरेको छ । 

“अध्यापन गराइरहेका शिक्षकले पनि तलब नपाएर छाड्ने स्थिति बन्दै छ,” धामीले भने – “स्कूल धरासायी बने विद्यार्थीको भविष्य अन्योलमा पर्ने अवस्था आउन नदिन सबै सरोकारवालालाई आग्रह गर्दछु ।” 

(रासस)

 

प्रतिक्रिया