Edukhabar
शुक्रबार, २६ पुस २०८१
विचार / विमर्श

परीक्षाको कर्मकाण्ड !

विहीबार, १० पुस २०७६

‘पढ है पढ । घोक है घोक । नत्र परिक्षामा फेल होलाऊ !’

विद्यालयमा शिक्षकले र घरमा अभिभावकले दोहोर्याईरहने यो वाक्य अझै पनि कानमा गुञ्जिरहन्छ ।

तर परीक्षाको मुल्य, मर्म र यसको बारे बुझिने गरी न शिक्षकले बताए, न त अभिभावकले !

विद्यालय उमेरको कलिलो मस्तिष्कमा परीक्षा डरलाग्दो नियोजित दुर्घटना जस्तो गरी गडेर बस्यो !

त्यो कर्मकाण्ड अहिले सम्म पनि चलिरहेको देख्छु ।

परीक्षा : झारा टार्ने प्रथा

अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापक कुन पार्टीसँग निकट छन् ? यसै आधारमा पार्टी मिल्ने मिल्नेहरुले समिति खडा गर्छन् । यसो गर्दा सानो तिनो व्यापार, सम्बन्ध पनि कसिलो !
परीक्षा तालिका, क्यालेण्डर देखि प्रश्न पत्रसम्म सबैको फैसला यस्तै समितिले गरिरहेको हुन्छ । विद्यार्थीले परिक्षा शुल्क तिर्छन् । समितिले निश्चित शुल्क लिन्छ र प्रश्नहरु बनाइदिन्छ । यसो गर्दा शिक्षकहरुलाई हाई सञ्चो !

‘सकेसम्म उत्तर पुस्तिका जाँचिदिए नि हुने’ शिक्षकहरुले ठट्टाको शैलीले भनिरहन्छन् ।

प्रश्नपत्र अरुले नै बनाइ दिने हुनाले शिक्षकलाई न त विशिष्टिकरण तालिका तिर घोत्लिनु पर्यो न त पाठ्यक्रममा । शिक्षकले पाठ्य पुस्तक दिन गनेर, महिना गनेर, घोकाइ दिए भयो । जरुरी छैन कि कुन प्रश्न कस्तो खालको हो ? विद्यार्थीको सीप जाँचको लागि कस्तो प्रश्न कुन पाठबाट सोधिन्छ ? ज्ञान जाँच गर्न, सृजनशिलता जाँच गर्न, समस्या समाधान गर्ने सिपको जाँच गर्न कस्ता प्रश्न कुन पाठबाट कति अंक भारका सोधिन्छ ? शिक्षकले खासै ध्यान दिन परेन । विशिष्टिकरण तालिका बारे शिक्षकले विद्यार्थीको ज्ञान, सीप र बुझाइ विकास गर्ने हेतुले शिक्षण गर्ने कुरा त आकाशको फल हुने नै भयो !

कुनै कारण परीक्षा समितिमा नअल्झिएका, समितिको पहुँचमा नरहेका विद्यालयमा त्रैमासिक परीक्षाका लागि प्रश्न पत्र स्वयं शिक्षकहरुले बनाउँछन् । अलि कति पाठ्यक्रम । अलि कति विशिष्टिकरण तालिका बुझ्नेहरुले ति प्रश्नहरु हेरे भने मानसपटलमा अनेकौं प्रश्नहरु उम्रिन्छन् । जस्तो विजगणितको सामान्य सुत्र लेखे भने विद्यार्थीले ५ अंक पनि पाउन सक्छन् । सामान्य साझा लिएर खण्डीकरण गर्नु पर्ने प्रश्नमा विद्यार्थीले ४ अंक प्राप्त गर्छ । यो भन्नुको अर्थ अधिकांश शिक्षकहरुले विशिष्टिकरण तालिकालाई ख्यालै गर्दैनन् । कक्षा कोठाको सिकाइ स्तर पनि यो तालिकासँग जोडिदैन । यति मात्रै होइन प्रश्न पत्र त्रुटीले भरिएका पनि भेटिन्छन् । यस्तो हालतको प्रश्न पत्रले विद्यार्थीको सिकाइ जाँच कसरी गर्ला ? अवस्था डरलाग्दो छ । परीक्षा त झारा टार्ने बाहेक अरु बन्नै सकेको छैन । गलत परीक्षा प्रणालीले बच्चाको सहि मुल्यांकन कसरी हुन सक्छ ?

निजी विद्यालयहरु आफ्नो अस्तित्व टिकाउ र नाफाको लागि परिणाममुखि देखिन चाहन्छन् । परीक्षा प्रणाली उस्तै हो रटेर छाद्ने तर सामुदायिक विद्यालयको जस्तो भद्रगोल भने अलि कम भेटिन्छ । हामी शिक्षामा खुब गुणस्तर खोज्नेहरुले परीक्षालाई थप अपराधिकरण र जटिल बनाइदिएका छौं । विद्यार्थीले निश्चित समय भित्र निश्चित प्रश्नको जवाफ दिनको लागि भरी पेट कक्षा कोठामा छिर्नु पर्छ । र सुचनाहरु बान्ता गरेर निस्किनु पर्छ !

एकाङ्की परीक्षा : घातक नतिजा

बालबालिका फरक फरक क्षमताका हुन्छन्, सिकाइ फरक हुन्छ, तर परीक्षा लिने तरिका एउटै ?

किन फेल र पासको विभेदको रेखा ?

किन सक्षम र असक्षमको फैसला ?

रहस्यले भरिएको हरेक व्यक्तिको परीक्षा ३ घण्टा भित्र कसरी हुन सक्छ ?

लेखेरै मात्रै किन परीक्षा लिने ?

परीक्षामा फेल हुनु अर्थात् अंक कम ल्याउनुलाई सिक्नु पर्ने धेरै छ भनि बुझाउने कि ‘गयो, सकियो, आलु, खत्तम, भुस, वर्वाद ।’ भन्ने ? परीक्षाले पढ्नको लागि विद्यार्थीलाई झन् उत्प्रेरित बनाउनु पथ्र्यो । तर हाम्रो परीक्षा प्रणालीले बच्चालाई ‘जिन्दगीमा केही गर्न नसक्ने रहेछ’ु हिनता बोधको सिकार बनाइ रहेको छ ।

यति पास । उति फेल भन्दै अंक गणितमा अल्झेका छन् यो देशका शैक्षिक अभियन्ता ।

‘छोरोले पढेर खाला जस्तो छैन । छोरी फेल भई यसको दिमाखले पढेको टिप्नै सकेन ।’

खोटै खोटको माला पहिराइ रहेका छन् अभिभावक । परीक्षालाई यति जटिल हामी शिक्षक र अभिभावकले बनाइदिएको हौं । बनाइरहेका छौं । र बनाइ रहन चाहन्छौं । विद्यार्थीलाई चिट चोर्न बाध्य पार्दै छौं । अहिले चोर्न । छल्न पल्केको विद्यार्थी भविष्यमा कसैको घर नफोर्ला भन्न सकिन्न ।

प्रविधि विग ब्याङझैं विष्फोट भएर हरेक बालबालिकाको हातसम्म पुगि सक्यो । यता शिक्षकले वर्षौदेखि लौरी देखाउँदै विद्यार्थीलाई कँुज्याउने प्रयासमा जिन्दगी खेर फालिरहेको छ । बालबालिकाको रुचि पत्ता लगाउने र रुचि जगाउने दायित्व शिक्षकको हो । गाउन मन पराउने विद्यार्थीलाई गाउन उत्प्रेरित गर्दै, उसको सिकाइ मुल्यांकन यसैमा गरिनु पथ्र्यो ।

हाम्रो परीक्षा प्रणालीले त हाम्रा शेक्सपिरहरुलाई मारेर अंक गणितका सुत्र घोकाउन बाध्य बनाइ रहेछ । हाम्रा पेलेहरुलाई साँघुरो कक्षा कोठा भित्र कैदी बनाइ रहेको छ । हाम्रा मोजार्टहरुको हृदय विभाजित भइ रहेछ । यति हुँदा हुँदै पनि हामी यही दुषित परीक्षा प्रणालीको ढलमा हाम फाली रहेका छौं । असफलताको लुतो लागि रहेको छ । हाम्रो समग्र प्रणाली कन्याउन मै व्यस्त छ । हामीसँग प्रश्न गर्ने सामथ्र्य पनि छैन ।
शिक्षकहरु रात दिन खटेको नाटक गर्ने । विद्यार्थी रातदिन पढेको नाटक गर्ने । अभिभावक रातदिन बालबालिकाको पढाइ पढाइ भन्दै पिरोलि टोपल्ने । हतियारधारी प्रहरी घेरा भित्र परीक्षा सञ्चालन गरेर बालबालिकाको मुल्यांकन गर्ने । यस्तै कर्मकाण्डी मै हरेक बालबालिकाको विद्यालय उमेर सकिन्छ ।

आफ्नो रुचि र खुबी के हो ? आफुलाई के गर्दा आनन्द आउँछ ? यो देशको १६ वर्ष के ३० वर्ष पुगेको युवा कन्फ्युज छ । था छैन किन पढें ? के पढें ? कस्तुरीले बिना खोज्दै भौतारी रहेझैं भौतारी रहेछ । कवि बन्ने व्यक्ति इञ्जिनियरीङ पढ्छ । इञ्जिनियर बन्ने व्यक्ति कृषि पढ्छ । खेलाडी बन्ने व्यक्ति चिकित्सा शास्त्र पढ्छ । गायक बन्ने व्यक्ति बजार शास्त्र पढ्छ ।

किन पढेको ?

‘परीक्षामा राम्रो अंक आयो सबैले डाक्टर, इञ्जिनियर पढ् भने त्यसैले पढियो ।’

वास्तवमा अंक ल्याउने खेति भन्दा रुचि केमा छ ? खोज्न सिकाउनु पथ्र्यो । उल्टै परीक्षाको करौंतिले रुचीको मुन्टा छेदन गरिन्छ । परीक्षाको राप, ताप र दवावले बालबालिकाको सृजशिलता फुलाउने होइन । सुकाइ रहेको छ ।

परीक्षा त वहाना बनि सकेको छ । शिक्षकले लिए जस्तो विद्यार्थीले दिए जस्तो । उत्प्रेरणा दिने अस्त्र बनाउन सकिएको छैन । उत्प्रेरणा जगाउने अस्त्र बनाउने हो भने परीक्षा लिने तरिका बदल्न जरुरी छ ।

कसरी गर्ने त ?

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संवैधानिक व्यवस्था छ । आधारभूत तहसम्मको परीक्षा लिने अधिकार स्थानीय सरकारको, कक्षा १० को प्रदेश र माध्यमिक तहको अन्तिम परीक्षा संघीय सरकारले लिने व्यवस्था छ ।

परम्परागत सुचना छाद्न लगाउने कर्मकाण्डको अन्त्य गर्ने सुवर्ण मौका हाम्रा अघिल्तिर आएको २ बर्ष वितिसक्यो । तर, गर्न सक्दैनन् भन्ने वहानामा संघीय सरकारले अझै पनि न त्यो काम हस्तान्तरण गर्न चाहेको छ न उसैले भने जस्तो गर्न सक्दैनन् भने गर्न सक्ने बनाउन आवश्यक जनशक्ति र संरचना निर्माणमा ध्यान नै दिएको छ ।

नजिकको सरकारले गर्ने काम प्रभावकारी हुने मान्यतामा अपनाईएको संघीय व्यवस्थामा अझै पनि टाढैको सरकार हावी बनाउने कृत्य जारी छ, जुन शिक्षाको विकास र विद्यार्थीको सिकाइका लागि घातक हुने पक्का छ ।

मुल्याँकन कसरी ?

जानेका । बुझेका । सिकेका । भोगेका विषयहरुमा अन्तरक्रिया भयो भने विद्यार्थीले अभिव्यक्त गर्न सक्छ । एक अर्कामा धारणा तथा दृष्टिकोणको विकास गराउँछ । अन्तरक्रिया समुहमा पनि गर्न सकियो । एकल पनि । लेख्नेलाई मात्रै पासको माला नत्र फेलको गालीको थिती यसले कम गर्छ र विद्यार्थीलाई सिक्न हौसला प्रदान गर्न सक्छ ।

हाम्रा विद्यालयले भ्रमण विरलै गराउँछन् । भ्रमण सिकाइ भन्दा पनि रमाइलोको लागि केन्द्रित छ । भ्रमणको दौरानमा के देखियो ? के नयाँ लाग्यो ? कसरी त्यस्तो भयो ? अनेकौै कुराहरुको सुक्ष्म अवलोकन गर्न सिकाउन सक्यो भने विद्यार्थीको स्वनेतृत्व विकास हुन सक्थ्यो । अन्तरक्रिया गर्न सक्ने क्षमता विकास हुन्छ । हामीले भ्रमणलाई सिकाइको र विद्यार्थीको मुल्यांकनको आधार बनाउन सकेका छैनौं ।

यसै गरि सर्वेक्षण, अवलोकन, समुह अध्ययन, साथीको मुल्यांकन, आफ्नै मुल्यांकन, किताब हेरेरै लिने जाँच, अन्तरर्वार्ता, व्यवहार जाँच लगायतका विधीहरु मार्फत परीक्षा किन नलिने ? किन ३ घण्टे परीक्षा नै चाहियो र ? अधिकांश हाम्रा विद्यालयहरु विद्यार्थीका लागि किन रुचिकर छैनन् ? किन भने परीक्षा लिने प्रणाली रुचिकर छैन । सृजनशील तथा जिवन उपयोगी कोणबाट परीक्षा लिन सक्ने हो भने शिक्षक तथा विद्यार्थी दवै सृजनशील हुन सक्थे । शिक्षकले पनि गालि कम पाउँथे । विद्यार्थीमा परीक्षाको भय शुन्य हुने थियो । चिट् काण्ड, अंक कम आए पछि आत्महत्या काण्ड, प्रश्नपत्र किनबेच काण्ड घट्थ्यो ।

सिकाइलाई मर्यादित र बालबालिकाको समग्र विकास गर्ने हो भने निरन्तर मुल्यांकनमा सबैको ध्यान जान जरुरी छ । अन्यथा ३ घण्टे परीक्षाले विद्यार्थीलाई कमजोर, निराश र भुत्ते बनाइ रहने छ । शिक्षकलाई दोषको भागिदार र शिक्षकको बदनाम भइरहने छ ।

प्रतिक्रिया