काठमाडौं - बसले ठक्कर दिदाँ पशुपति क्याम्पस चाबहिलमा स्नातक तह चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तको निधन भएको छ । भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले सोमबार बिहान ६ बजे सृष्टिलाई चाबहिलको सडकमा ठक्कर दिएको थियो । गोरखाको, गोरखा नगरपालिका - १४, देउराली प्युघरकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पन्तको गत बर्ष मात्रै विवाह भएको हो । उनका श्रीमान् रोजगारीका सिलसिलामा कोरियामा रहेको पारिवारिक श्रोतले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि ओम अस्पताल पुर्याइएको थियो । तर उपचारका क्रममा उनको निधन भए पछि पशुपति क्याम्पसका विद्यार्थीले प्रदर्शन गर्दै सोही रुटमा चल्ने बा ४ ख ७१०४ नम्बरको अर्काे बसमा आगजनी समेत गरिदिए । प्रदर्शनका कारण सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको प्रहरीले जनाएको छ ।
प्रदर्शन र आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेविसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापा मगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठ लगायतका विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
फोटो : पन्तकै फेसबुकबाट
प्रतिक्रिया