Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

मधेशी नेताको नरम आवाजको संकेत, बन्द विद्यालय चाँडै खुल्दै !

मंगलबार, ०१ मंसिर २०७२

काठमाडौं १ मंसिर / तीन महिनादेखि बन्द तराई क्षेत्रका विद्यालय सञ्चालनका लागि आन्दोलनरत दलहरु सकारात्मक देखिएका छन् । मधेसी मोर्चाको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा देशैभरको पठन पाठन प्रभावित भएको छ । दशैँ तिहारपछि देशका अन्य ठाउँका विद्यालय खुले पनि तराईका अधिकाँश जिल्लाका विद्यालय खुल्न सकेका छैनन् ।

विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य अन्यौलमा परेको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय दवाव बढ्न थालेपछि आन्दोलनरत दलहरु विद्यालय खोल्न सकारात्मक देखिएका हुन् । मधेसीदलका नेताहरु आउँदो आइतबारबाट विद्यालय सञ्चालन गर्न दिने मनस्थितीमा रहेको श्रोतले जनायो ।

राष्ट्रिय सदभा्वना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पनि छठपछि विद्यालय खुलाउन सकिने संकेत गरेका छन् । वार्ता र छलफलका माध्यमबाट तराईका केही जिल्लामा पठन पाठन भएपनि त्रासका कारण अझै केही जिल्लाका विद्यालय सञ्चालन हुन सकेका छैनन् । सर्लाही, रुपन्देही, कपिलवस्तु, दाङ, चितवनका विद्यालय खुलिसकेका छन् । तर अन्य जिल्लामा प्रभावकारी छलफल हुन नसकेकोले लाखौँ बालबालिकाको अध्ययन प्रभावित भइरहेकोे छ । जुन जुन जिल्लामा आन्दोलनरत दलका नेताहरुसँग प्रत्यक्ष र निरन्तर ंसंवाद भयो त्यहाँ विद्यालय खुलेका छन् भने छलफल नभएका जिल्लाको पठन पाठन ठप्पै छ ।

विद्यालय सञ्चालनका विषयमा मोर्चामा छलफल हुनुपर्ने र छठपछि विद्यालय खुलाउने बारेमा आफुहरुले सोचेको कर्णले बताए । सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलले आन्दोलनरत दलहरुसँगको छलफल तिब्र बनाएकोले समग्रमा सहमती हुने सम्भावना समेत बढेको अनुमान गर्दै आन्दोलनरत दलहरु विद्यालय सञ्चालन गर्न दिने मुडमा पुगेका श्रोतले जनायो ।

कथंकदाचित वार्ता सकारात्मक भएन भने पनि विहानी सिफ्टमा सञ्चालन गर्न दिने गरी मधेसी दलहरुले ग्रीन सिग्नल दिएको उक्त श्रोतको दावी छ । तर, यस बारेमा मधेसी नेताहरु खुलेर कुरा गर्न मान्दैनन् । 'विद्यालय खोल्ने विषयमा हामीले पनि सोचिरहेका छौँ, छठपछि केही हुन्छ' कर्णले भने, 'यस विषयमा मैले एक्लैले भनेर हुदैन मोर्चामा चार दल छन्, सबैसंग छलफल गुर्नपर्छ ।' विद्यालय किन बन्द ? भन्ने विषयमा यस अघिनै एडुखबरले गरेको रिपोर्टिङ्का क्रममा निकै कडा रुपमा प्रस्तुत भएका कर्ण यसपटक भने निकै नरम र लचक देखिएका छन् । विद्यालय बन्द हुँदा परेको दिर्घकालिन समस्या र प्रभावका बारेमा यसपटक प्रश्न गर्दा उनले गम्भिर भएर भने - 'हुन्छ त्यो गर्नुपर्छ ।'

सरकारसंग वार्ता जारी रहेको र आन्दोलन थप चर्काएर पठन पाठनमा अवरोध गर्दा अबको विरोध चर्को हुने मोर्चाले अड्कल काटेको अनुमान गर्न सकिन्छ । विद्यालय सञ्चालन गर्न दिन राजि हुनुको पछिल्तिर भारतको एकोहोरो नाकाबन्दीबाट ग्रसित नागरिकको विरोधका स्वर बढ्दै गएर मोर्चाका जायज भनिएका मागहरु समेत ओझेलमा पर्ने खतरा उनीहरुले अनुमान गरेको बुझिन्छ ।

यस्तोमा सरोकारवालाहरुले विद्यालय खोल्न गरेको आग्रहमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरु अब लामो जिरह गर्ने मुडमा नभएको प्रष्ट छ । त्यसैले मधेसी दलका नेताहरु विहानीपख विद्यालय खोल्न अनौपचारिक रुपमा राजी भएको श्रोतको दावी छ ।

गत आइतबार देखि विद्यालय सञ्चालन गर्न सफल सर्लाहीका जिल्ला शिक्षा अधिकारी बद्री नारायण भट्टराईले एडुखबरसंग भने 'जिल्लाका सम्पुर्ण सरोकारवालाहरुले आन्दोलनरत मोर्चासंग प्रभावकारी रुपमा निरन्तर छलफल चलाउन सके एक हप्तामै विद्यालय खुलाउन सकिन्छ ।'

यसअगाडी सर्लाहीमा सर्वपक्षीय बैठक गरेरै विद्यालय खुलाएपनि विचमा मोर्चाका कार्यकर्ताले दबाब दिएपछि विद्यालय बन्द गर्नुपरेको थियो । पछि सरोकारवालाहरुको सहभागितामा प्रभावकारी छलफल गर्दा विद्यालय खुलाउन सकिएको उनको अनसभव छ । यस्तै घटना यसअघि धनुषा, मोरङ, पर्सा, महोत्तरी लगायतका जिल्लामा भएका थिए ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत दलका नेताहरुसँग अनौपचारिक छलफल गरे पछि, विद्यालय खुलाउन मोर्चाका नेताहरु सकारात्मक रहेको मन्त्रालयका एक अधिकारीको दावी छ । तर, मन्त्रालयले आफु मातहतका अधिकारीहरुलाई विद्यालय खुलाउन पहल थाल्न निर्देशन दिएपनि जिशिका, क्षेत्रीय शिक्षा निर्देशनालयका अधिकारीहरु राजनीतिक मुद्धा भन्दै पन्छिदै आउँदा पहल समेत हुन नसकेको मन्त्रालयको बुझाई छ । 

त्यसैले मन्त्रालयले प्रत्येक जिल्ला शिक्षा कार्यालयहरुलाई सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै विद्यालय खुलाउने गरी कृयाकलाप गर्न अनौपचारिक निर्देशन दिएको मन्त्रालय श्रोतले जनाएको छ ।

मन्त्रालयका निकायहरुको समन्वय तथा सत्तारुढ दल, आन्दोलनरत दलका जिल्ला नेताहरु, अभिभावक, विद्यार्थी नेता, विद्यालय व्यवस्थापन समिती, शिक्षक, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरुबीच छलफल मात्रै गर्ने हो भने पनि विद्यालय सञ्चालन गर्न कुनै कठोर कदम नचाहिने देखिन्छ ।

सर्लाहीमा विद्यालय खुलाउन शिक्षा सरोकारवालाहरु भन्दा पनि स्थानीय सबैजना सक्रिय भएर आफुहरु कार्यक्रममा मात्र सहभागी भएको र विद्यालय खुलाउन आग्रह गर्दा मोर्चाका नेताहरुले बिहानी कक्षाहरु चलाउन दिएको जिशिअ भट्टराईको अनुभव छ ।

'बाहिर हल्ला भएजस्तो र मिडियामा आएजस्तो विद्यालय खुलाउनै नसकिने अवस्था छ भन्ने हैन, प्रयास भयो भने सबै जिल्लाका विद्यालय खुल्न सक्छन् ।' उनले भने ।

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता सरस्वती पोखरेलले तराईका धेरैजसो विद्यालय आइतबारबाट सञ्चालनमा आएको बताइन् । 'केही जिल्लाका बाहेक धेरै ठाउँका विद्यालय खुलेका जानकारी पाएका छौं” उनले भनिन्, 'यो हप्ताभित्र सबै जिल्लाका विद्यालय खुलाउने गरी पहल गरिरहेका छौँ ।'

कसले के पहल गर्दा पठन पाठन सञ्चालन हुन्छ भन्ने नबुझेपनि ३ महिनासम्म विद्यालयमा पाईलो नहालेका विद्यार्थीलाई यतिबेला लामो समय छुटेको पाठ कसरी पुरा गर्ने र परीक्षामा सहभागि हुने भन्ने चिन्ताले पिरोलेको छ ।

प्रतिक्रिया