दक्ष बिषय शिक्षक र नेतृत्व सीप भएको प्रधानाध्यापकको व्यवस्था विना सार्वजनिक विद्यालयको सिकाइ सुधार असम्भव हुन्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस विषयमा विज्ञहरुको वकालत मात्रै हैन नीतिगत तहमा रहेकाहरु समेत चर्चा परिचर्चा गर्न छुटाउँदैनन् । मुख्य दस्तावेज सार्वजनिक नगरिकनै जारी गरिएको भनिएको राष्ट्रिय शिक्षा नीतिका बारे सञ्चारमाध्याममा आएका केही बुँदा हेर्दा विद्यालयहरुमा सुधार ल्याउन ५ बर्ष भित्रमा योग्य, दक्ष र स्वउत्प्रेरित बिषय शिक्षकको व्यबस्था गर्ने भनिएको पढ्न पाईएको छ । एक त त्यो नीति अझै सार्वजनिक गरिएको छैन, अर्को कुरा कागजमा लेखेर मात्रै बनाईएका नीतिको औचित्य छैन भन्ने कुरा विगतका धेरै नीतिको चांग हेर्दैमा प्रष्ट हुन्छ ।
प्रस्तुत आलेखमा चर्चा गर्न खोजिएको विषयकै सन्दर्भमा प्रारम्भिक चुनौतीको कुरा के हो भने विद्यालयको समग्र व्यबस्थापन गर्न सक्ने योग्य, नेतृत्वसीप भएको प्रधानाध्यापकको व्यवस्था गर्ने बिषयमा ठोस योजना बनाएको पाईंदैन ।
विद्यालयको चुस्त व्यबस्थापनको लागि प्रधानध्यापकको ठूलो भूमिका रहन्छ । हाल सम्म प्रअ हुनको लागि के कस्तो शैक्षिक तथा प्रशासनिक वा व्यबस्थापकिय क्षमताको आवस्यकता हुन्छ भन्ने बिषयको कुनै मापदण्ड नै छैन । शिक्षकहरु मध्येबाट सबै भन्दा पुरानो व्यक्ति नै प्रअ हुने व्यबस्था भएकोले विद्यालयहरुको गुणस्तर खस्कँदै गएको हो । अहिले पनि सक्षम प्रअ भएका विद्यालयहरुको गुणस्तर अब्बल नै रहेको तथ्याङ्कहरुले देखाउँछन् । यसरी हेर्दा राज्यले विद्यालयमा क्षमतावान प्रअको नियुक्ति गर्ने नितिगत व्यबस्था गर्न जरुरी देखिन्छ ।
त्यसो त गुणस्तरीय शिक्षाका लागि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति तथा अभिभावककहरुको भूमिका पनि कम महत्वपूर्ण हुँदैन । तथापि प्रअमा सक्षम नेतृत्व क्षमता भएमा मात्र विद्यालयहरुको गुणस्तरीय शिक्षण सिकाइ हुन सक्दछ । सार्वजनिक विद्यालयका शिक्षकहरुले प्रशिक्षकहरुबाट तालिममा सिकेका कुराहरु शिक्षण सिकाइमा अवलम्बन हन नसकेको समाचारहरु आउने गरेका छन् । विद्यार्थीको सिकाइ उपलब्धीको मापनले पनि यो कुरालाई पुष्टि गर्दछ । प्रअले शिक्षकहरुलाई नियमित बनाउने, बिषयगत शिक्षकहरुले प्रभावकारी रुपमा पढाए नपढाएको मूल्याङ्कन गर्ने, उनीहरुका कमी कमजोरीहरुमा सल्लाह सुझाव दिने, विद्यार्थीको मनोविज्ञानमा आधारित बाल मैत्री पठनपनठन व्यबस्था गरी वैज्ञानिक मूल्याङ्कन गर्न सकेमा मात्र शिक्षण सिकाइ स्तरीय हुन सक्दछ । सक्षम नेतृत्वको अभावमा विद्यालयको व्यबस्थापन र गुणस्तरीय पठनपाठन हुन सक्दैन ।
त्यसो त सबै सामुदायिक विद्यालयहरुलाई एउटै वास्केटमा राख्न मिल्दैन । कतिपय सामुदायिक विद्यालयहरु अब्बल पनि छन् । चुस्त प्रशासन, गुणस्तरीय शिक्षण सिकाइका साथै भौतिक सुविधा सम्पन्न विद्यालयहरुको नतिजा राम्रो छ । तथापि धेरै जसो सरकारी विद्यालयहरुमा गणुस्तरीय शिक्षण सिकाइ हुन नसकेको तथ्याङ्कहरुले पुष्टि गर्दछन् । गत बर्ष काठमाडांै महानगरपालिकाले शैक्षिक सत्र २०७६ देखि सक्षम नेतृत्व दिएर विद्यालयहरुलाई गुणस्तरीय शिक्षा दिन सफल भएका प्रधानाध्यापकहरुलाई कमजोर व्यबस्थापन भएका विद्यालयहरुमा सरुवा गरी सबै विद्यालयहरुको शैक्षिक पठनपाठनलाई उकास्ने नीति लिएको समाचार आएको थियो । तर लागु हुन सकेको छैन । राज्यले मुलुकका सम्पूर्ण विद्यालयहरुमा प्रधानाध्यापको पद ग्रहण गर्ने व्यक्ति योग्य, सक्षम र नेतृत्व सक्षमता भएको हुनुपर्ने मापदण्ड राखेको भए विद्यालयहरुको अवस्था धरासायी हुने थिएन ।
प्रधानाध्यापकले विद्यालयको भौतिक सुविधा सम्पन्न शिक्षण कक्षाहरुको व्यबस्थापन, खेलमैदान, विज्ञान प्रयोगशाला, कम्युटर शिक्षा, ई–शिक्षा, पुस्तकालय, खानेपानीको व्यबस्था, शौचालयको सुविधा, बालमैत्री शिक्षण सिकाइको व्यबस्था गर्नुको साथै शिक्षक विद्यार्थी तथा शिक्षक अभिभावकहरुका बीचमा छलफल, अन्तरक्रिया एवं विचार आदान प्रदान गर्ने शैक्षिक क्रियाकलापहरु गर्न आवस्यक हुन्छ । यसको साथै विद्यालयमा विद्यार्थीलाई पढ्ने शैक्षिक वातावरण, शैक्षणिक सामाग्रीहरुको उचित प्रयोग, सरल र अर्थपूर्ण शिक्षण, शिक्षक र विद्यार्थीबीचको मैत्रीपूर्ण व्यबहार, विद्यार्थीको पूर्व ज्ञानको जग, उमेर, सिकाइ क्षमता आदिका आधारमा अध्ययन अध्यापन गर्ने र गराउने तौर तरिकाहरुलाई लागु गर्न र गराउन प्रअ व्यबस्थापक हो । यसका साथै विद्यालय र समाजको सम्बन्धलाई सुमधर बनाउन पनि प्रअको त्यत्तिकै भूमिका हुन्छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासको लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । सिकारुहरुलाई पढाउने गुरुजनहरु सक्षम हुन सकेनन् भने विद्यार्थी लगायत देशको भविष्य अन्धकार हुन्छ । शिक्षा व्यक्ति, व्यक्तित्व र समाज विकासको भरपर्दो आधार हो । नेलसन मण्डेलाले शिक्षा यस्तो शक्तिशाली साधन हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्दछौ भनेका छन् । शिक्षाले हाम्रा शिक्षार्थी, समुदाय र देशलाई बदल्न सकेन भने कसरी संसार बदल्न सक्छ ? शिक्षाविद बोब् टल्वेर्ट्ले त असल शिक्षकहरु अमूल्य हुन्छन् तर खराव शिक्षकले नोक्सान पराउँछन् भनेका छन् । यसको अर्थ गुणस्तरीय शिक्षण सिकाइमा असफल शिक्षकहरुले व्यक्ति, समुदाय र राष्ट्रलाई नै नोक्सान पुराइ रहेका हुन्छन् भन्ने अर्थ लाग्दछ । यसरी हेर्दा विद्यालयहरुमा असल शिक्षकहरुको व्यवस्थापनका साथै पठन पाठनको वातावरण सिर्जना गर्ने मियोको रुपमा प्रधानाध्यापक हुने भएकोले उनको भूमिका महत्वपूर्ण ठानिन्छ ।
सक्षम शिक्षकले कुनै पनि पाठ्यवस्तुका निर्धारित उद्देश्यहरु पुरा गराउनको लागि विद्यार्थी केन्द्रीत शिक्षण प्रणाली अपनाउनु पर्दछ । यसो गर्दा शास्त्रीय शैलीको शिक्षण प्रयोगलाई बदलेर अभिनय, प्रदर्शन, अन्तरकृया, विद्यार्थी सहभागिता, सहपाठी अन्तरक्रियाका साथै प्रविधि मैत्री शिक्षण सिकाइलाई जोड दिन आवश्यक हुन्छ । यसका साथै अध्यापन गराउने गुरुजनमा आकर्षक व्यक्तित्व, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, स्पष्ट वक्ता, सहयोगी, विनयसील, जिज्ञाशुका साथै शिक्षणमा निपूर्णता जस्ता प्राज्ञिक गुणहरु आवश्यक ठानिन्छ । हाम्रा विद्यालयहरुमा पुरानो शिक्षा प्रणालीबाट प्रशिक्षित धेरै उमेर विताएका शिक्षक एवं हेडसरहरु आधुनिक शिक्षण शैली र शैक्षिक व्यबस्थापनमा अपडेट छन् त ?
शिक्षण सिकाइको एउटा महत्वपूर्ण पाटो विद्यार्थीको मनोविज्ञानमा आधारित शिक्षण कौशल हो । शिक्षणको मनोवैज्ञानिक पक्षले बालकेन्द्रीत शिक्षण पद्धतिमा जोड दिन्छ । शिक्षकहरुले शिक्षण सिकाइ गर्दा विद्यार्थीको अभिरुची, व्यक्तिगत वा अन्य समस्या लगायत सिकाइलाई प्रभावपार्ने तत्वहरुमा ध्यान दिन आवश्यक ठानिन्छ । शिक्षा शास्त्री रोवट् फोस्टर्ले शिक्षण सिकाई शिक्षकमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो भनेका छन् । यो ज्ञान स्थानान्तरणको कलाको सीप विद्यालयमा शिक्षण गर्ने सबै शिक्षकहरुमा हुन अनिवार्य ठानिन्छ ।
देशका शिक्षालयहरु भोलिको समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रका जनशक्ति उत्पादनगर्ने स्रोत केन्द्र हुन् । राज्यले शिक्षा क्षेत्रलाई समय सुहाउँदो बनाउन सकेन भने समाजका हरेक क्षेत्रहरु कमजोर हुन्छन् । देशका विद्यालयहरु भविष्यका सक्षम, सिर्जनशील, स्वाबलम्बी, उद्यमशील, अनुशासित, कर्तव्यनिष्ठ, प्रविधिमैत्री नागरिक उत्पादन हुन सक्दैनन् । यति महत्वपूर्ण ठाउँको नेतृत्व गर्ने विद्यालयका प्रधानाध्यापक लगायत अन्य बिषयगत गुरुजनहरु योग्य हुन नसकेमा शिक्षाको गुणस्तरमा ह्रास त आउँछ नै देशको भबिष्य समेत अन्धकार हुन्छ ।
हाम्रो देशको शिक्षामा आमूल परिवर्तनको खाँचो छ । शिक्षा क्षेत्रका कमी, कमजोरी तथा विसङ्गतिहरुको शल्यक्रिया नगरी विद्यालय शिक्षाको सुधार हुन सक्ने अवस्था देखिंदैन । यसो गर्दा एकातिर शिक्षा नीति, शिक्षाको उद्धेश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कन पद्घति र प्रकृयामा परिवर्तन गर्न जरुरी छ भने अर्कोतिर विद्यालयहरुमा सक्षम प्रअ र शिक्षकहरुको व्यबस्था गर्न पनि त्यत्तिकै चुनौति छ । विद्यालयमा आएका विद्यार्थीलाई टिकाउन र सिकाउन विद्यालयहरु सक्षम हुनु पर्दछ ।
अहिलकोे सन्दर्भमा विद्यालयको शैक्षिक सुधारमा आधुनिक शिक्षण सिकाईको अवलम्बन एउटा महत्वपूर्ण पक्ष हो । अहिले हाम्रा शिक्षालयहरुमा प्रचलित शिक्षण पद्घतिमा कथा कथन, प्रश्नोत्तर, व्याख्यान, प्रवचन र घोकन्ते विद्याको शास्त्रीय शैली हावी छ । कतिपय विद्यालयहरुमा पुरानो शिक्षण शैलीबाट बाहिर आउन नसकेका गुरुजनहरुले विद्यार्थीलाई तर्साउने, हप्काउने, दण्ड सजाय दिने, मानसिक पिडा र त्रासमा राख्ने गरेका समाचार आउने गर्दछन् । विद्यार्थीको रचनात्मक चिन्तनको विकासमा बाधा पुर्याउने यस्ता कार्य परम्परागत शिक्षण शैलीका आउटकम हुन् । यदि विद्यालयका हेडसर नै आजको युगमा सिक्न–सिकाउन र बुझ्न –बुझाउनको लागि विविध प्रकारका सैद्धान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधिहरुको ज्ञान र सीपबाट वञ्चित छन् भने उनले विद्यालयमा कसरी गुणस्तरीय पठनपाठन गर्न र गराउन सक्दछन् ?
प्रतिक्रिया