Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एमबिबिएस भर्ना विषयमा आईओएम विरुद्ध उजुरी

मंगलबार, ०१ मंसिर २०७२

काठमाडौं, १ मंसिर । छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षामा उच्च अंक ल्याएका विद्यार्थीलाई भर्ना गर्न नमानेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) विवादमा तानिएको छ। 

प्रवेश परीक्षामा सहभागी भएर ९४ प्रतिशत अंक ल्याएका राजु मण्डलले आफूलाइ भर्ना गर्न इन्कार गरेको भन्दै आईओएमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र पुनरावेदन अदालत पाटनमा उजुरी दिएका छन्।

आईओएमले भने निर्धारित समयतालिकाभित्र कलेजमा विद्यार्थी उपस्थित नभएकाले भर्ना गर्न नसकिएको स्पष्ट पारेको छ। परीक्षामा सहभागी एक हजार ६ सय विद्यार्थीमध्ये आफूले नवौं स्थानमा नाम निकालेको तर भर्ना गर्न नमानेको दाबी उनको छ। छात्रवृत्तिमा अध्ययनमा छनोट भएका विद्यार्थीका लागि परामर्श कक्षा लिने मिति कात्तिक १७ गते तोकिएको थियो।  

तर सार्वजनिक सवारीमा आउँदा कलेजले निर्धारण गरेको भन्दा आधा घन्टा ढिलो कक्षामा पुगेका कारण छोरालाई भर्ना नगरिएको राजुका बाबु रामआशिष मण्डलले बताए।  उनले भने, ‘दस बजे तोकिएको परामर्श कक्षाका लागि छोरा साढे दस बजे पुग्यो। तर कलेजले ढिलो आएको भन्दै त्यतिखेर कक्षामा छिर्न दिएन। परामर्श कक्षा सकिएपछि तपाईंको सिटमा अर्कैले भर्ना गर्‍यो भन्दै छोरा भर्ना हुन पाएन। 

आफ्नो समस्याका कारण छोरा ढिलो आएको स्पष्टीकरणसहित डिन कार्यालयमा निवेदन दिन खोज्दा अस्वीकार गरिएको मण्डलले बताए।  संस्थानका डिन राकेश श्रीवास्तवले ढिलो आएकै कारण राजुले भर्ना हुन नपाएको बताए। ुनौ बजेदेखि दस बजेभित्रमा कक्षामा जानुपर्ने सूचना पहिले नै सार्वजनिक गरेका थियौं। 

 निर्धारित समयमा विद्यार्थी आएन भने प्रतीक्षासूची (वेटिङ लिस्ट) मा बसेका विद्यार्थीलाई भर्ना गर्ने चलन छु, श्रीवास्तवले भने, ुकुन विद्यार्थी के समस्या परेर आउँदैन हामीलाई सरोकार हुँदैन। विद्यार्थीका समस्या व्यक्तिगत हुन्। त्यसमा संस्थान जिम्मेवार बन्न सक्दैन। 

आशिषको स्थानमा अन्य विद्यार्थीलाई भर्ना गरिसकिएकाले तत्काल उनलाई भर्ना गर्न नसकिने आईओएमले स्पष्ट पारेको छ । ‘पुनरावेदन अदालतमा मुद्दा विचाराधीन छ। अदालतको निर्देशन आएपछि मात्र के गर्ने भन्ने थाहा हुन्छु, श्रीवास्तवले भने। 

(आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

 

 

प्रतिक्रिया