काठमाडौं ८ मंसिर / चिकित्सा शिक्षा अध्ययन गर्ने कलेजहरु बदनाम बन्दै गएको र यसले गर्दा विद्यार्थी अन्योलमा पर्दै गएको विषयलाई आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले उठाएका छन् ।
राजधानी दैनिकमा प्रशान्त वलीले बदनाम बन्दै, डाक्टर उत्पादन गर्ने थलो शिर्षकमा लेखेको खबर अनुसार आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र कास्कीस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन ।
देशभर रहेका १२ मेडिकल कलेजले २ अर्ब ८५ करोड रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिसकेको छ । ती मेडिकल कलेजमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सूक्ष्म अध्ययन अघि बढाएको छ । सरकारले पटकपटक अतिरिक्त शुल्क असुलेका मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउन भने पनि कार्यान्वयनमा आउन सकेको छैन ।
डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् ।
यस्तै नेपाल समाचारपत्रमा मेडिकल पढ्ने विद्यार्थी अन्योलमा शिर्षकमा भगवती तिमिल्सिनाले लेखेको खबर अनुसार नेपाल सरकारले निजीक्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन नसक्दा यसमा पढ्ने विद्यार्थी अन्योलमा छन्।
निजीक्षेत्रबाट सञ्चालित केही मेडिकल कलेजले सरकारले तोकेभन्दा फरक शीर्षक राखी विद्यार्थीसँग अवैध शुल्क असुलेका कारण पीडित विद्यार्थीले सरकारलाई गुहार्दासमेत कलेजहरूले बढी लिएको शुल्क फिर्ता गर्नुको सट्टा विद्यार्थी र अभिभावकलाई धम्क्याउने र सरकारको निर्देशन अटेर गर्ने गरेका कारण यो अन्योल कायम रहेको हो।
एकाथरी कलेजले बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्ने सम्झौता गरे पनि कार्यान्वयन भने गरेका छैनन्। सरकारले पटक–पटक मेडिकल कलेज सञ्चालकलाई बढी लिएको शुल्क फिर्ता गर्न समय नै तोकेर पत्राचार गरेको छ, तर उनीहरू विभिन्न बहानामा अटेर गरिरहेका छन्।
प्रतिक्रिया