काठमाडौं १५ कात्तिक / वीरगन्जको नेसनल मेडिकल कलेजले परीक्षाको मुखमा एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीसँग करिब ६ करोड अतिरिक्त असुली गरेको छ । नयाँ पत्रिकामा नेसनल मेडिकल कलेजले पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट मात्रै उठायो ६ करोड शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार एक सय विद्यार्थी कोटा रहेको कलेजले पहिलो वर्षमा प्रतिविद्यार्थी तीन लाख २७ हजार ६ सयसम्म र दोस्रो वर्षका विद्यार्थीबाट दुई लाख ६७ हजार पाँच सय रुपैयाँसम्म बढी असुलेको छ । यसरी दुई वर्षका विद्यार्थीसँग करिब ६ करोड अवैध असुली गरिएको छ । कलेजले तोकेको शुल्क नतिर्ने विद्यार्थीलाई परीक्षामै सहभागी हुन नदिने धम्की दिँदै रकम असुलिएको विद्यार्थीले बताएका छन् । पहिलो र दोस्रो वर्षको परीक्षा २१ कात्तिकदेखि हुँदै छ ।
विद्यार्थीले कलेजलाई बुझाएको रकमको बिल नयाँ पत्रिकालाई प्राप्त भएको छ । पहिलो वर्षमा चार शीर्षकमा प्रतिविद्यार्थी एक लाख ७८ हजार मात्रै उठाउन पाउनेमा नेसनलले सात शीर्षक थपेर पाँच लाख पाँच हजार ६ सय उठाएको छ । त्यस्तै, दोस्रो वर्षका प्रतिविद्यार्थीबाट चार शीर्षकमा एक लाख ९४ हजार तीन सय उठाउन पाउनेमा चार शीर्षक थपेर चार लाख ६१ हजार आठ सय उठाएको छ ।
कलेजको अवैध असुलीविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएपछि सञ्चालक बसरुद्दिन अन्सारीले ८० भन्दा बढी विद्यार्थीलाई होस्टेलमा थुनेका थिए । गत आइतबार (लक्ष्मीपूजाको दिन) विरोधसभाको तयारी गरिरहेका वेला विद्यार्थीलाई कलेज प्रशासनले दिनभर होस्टेलमा थुनेको हो । बिहान ११ बजेदेखि साँँझ ५ बजेसम्म होस्टलको गेटमा चाबी लगाएर थुनेको पीडित विद्यार्थीले बताएका छन् ।
अन्सारीले ज्यान मार्ने धम्की दिँदै होस्टेलमा थुनेका विद्यार्थी तिहारपछि कलेज जानै डराएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले नेसनल मेडिकल कलेजले गुण्डा लगाएर बन्धकसमेत बनाएकाले तिहार बिदा सकिए पनि विद्यार्थी कलेज फर्किन नसकेको बताए । ‘होस्टेलमै बसेर पढ्ने वातावरण छैन, बन्धक बनाइएका विद्यार्थी मानसिक रूपमा त्रसित छन्,’ प्रवक्ता भट्टले भने, ‘यो अवस्थामा २१ कात्तिकदेखि परीक्षामा कसरी सहभागी हुन सक्छन् ? परीक्षा सार्नुपर्ने अवस्था छ ।’
संघर्ष समितिकै अगुवाइमा अघिल्लो बिहीबारदेखि विद्यार्थीले कलेजमा आन्दोलन सुरु गरेका थिए । सोही दिन विद्यार्थीको ब्यानर, माइक, पोस्टर खोस्दै दुर्व्यवहार र कुटपिट भएको थियो । सञ्चालक अन्सारीले विद्यार्थीको ज्यान लिने धम्कीसमेत दिएका थिए । शुक्रबार विद्यार्थीले सुरक्षाको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।
तर, आइतबार अन्सारीकै निर्देशनमा होस्टेलमा थुनिँदा प्रशासनबाट सहयोग नपाएको विद्यार्थीको गुनासो छ । आइतबारको घटनापछि प्रशासनले मौनता साँध्दा पनि विद्यार्थी त्रसित बनेका छन् । घटनापछि विभिन्न दलसँग आबद्ध नौ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेसनल मेडिकल कलेजमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरूमाथि यथाशीघ्र कडा कारबाहीको माग गरेका छन् ।
अतिरिक्त शुल्क फिर्ता तथा समायोजनको माग गर्दै रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पनि विद्यार्थीले आन्दोलन गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिको आह्वानमा बिहीबार विरोध र्याली तथा कोणसभा गरिएको हो ।
आन्दोलित विद्यार्थीले बिहीबारै कलेजका प्रिन्सिपल र सिइओलाई ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर, उनीहरूले अस्वीकार गरेपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको संघर्ष समितिका सचिवालय सदस्य प्रवीण स्याङतानले बताए । विरोध र्याली तथा कोणसभामा कलेजका विद्यार्थीको भव्य सहभागिता रहेको उनको भनाइ छ ।
आन्दोलनमा सहभागी विद्यार्थीलाई कलेजले होस्टेल प्रवेशमै रोक लगाएको छ ।
नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारी भन्छन्, 'हामीले मात्रै होइन,सबै कलेजले बढी शुल्क उठाएका छन्'
संघर्ष समिति संयोजक प्रकाश चन्द भन्छन्– कलेजहरूले ४० देखि ५६ करोडसम्म फिर्ता गर्नुपर्नेछ
प्रतिक्रिया