Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

‘विद्यार्थीमाथि बाउन्सर लगाएर हातपात’

शुक्रबार, ०८ कार्तिक २०७६

काठमाडौं ८ कात्तिक / सरकारले तोकेभन्दा बढी शुल्क असुलेको विरोधमा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा विद्यार्थीले आन्दोलन गरेका छन् । बढी शुल्क असुल्ने  नेसनल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन शिर्षकमा नयाँ पत्रिकामा तिवारी यादवले लेखेको खबर अनुसार एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट बढी शुल्क उठाएको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । 

कलेजले तोकेको शुल्क नबुझाए परीक्षा नै दिन नमिल्ने धम्की दिँदै बढी रकम उठाएको विद्यार्थीको गुनासो छ । सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार शुल्क तोकेकोमा नेसनलले पहिलो वर्षका विद्यार्थीबाट ५५ देखि ६० लाखसम्म उठाएको विद्यार्थीले जनाएका छन् । कलेजले परीक्षा रजिस्ट्रेसन शुल्क ३५ हजार, लाइब्रेरी शुल्क ३५ हजार, ल्याब शुल्क ३५ हजार, प्रमोसन शीर्षकमा एक लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, विलम्ब शुल्क १६ हजार आठ सय र अन्य शीर्षकमा ४० हजार उठाएको छ । 

‘कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले अभिभावकलाई समेत बोलाएर डर, त्रास र धम्की दिँदै बढी शुल्क तिर्न बाध्य गराएका छन्,’ एक विद्यार्थीले गुनासो गरे । विद्यार्थी/अभिभावकलाई धम्क्याउँदै उठाएको शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोक्ने संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘नेसनल मेडिकल कलेजले विगतदेखि नै विद्यार्थीसँग गैरकानुनी रूपमा बढी रकम उठाएर दुःख दिँदै आएको छ । त्यो रकम फिर्ता नगरेसम्म अब आन्दोलन रोकिँदैन,’ चन्दले भने । 

विद्यार्थीले बढी असुलेको शुल्क फिर्ताको माग राख्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा कलेजले बाउन्सर लगाएर हातपात गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता नरेश भट्टले कलेजअगाडि प्रदर्शनका क्रममा ब्यानर र माइक तोडफोड गरेर हातपात भएको बताए । ‘शोषित विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा गुन्डा लगाएर हातपात गरिएको छ,’ उनले भने । 

प्रतिक्रिया