Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

निमाविको नतिजा मंसिर २ यता नआउने, एउटै क्षेत्रमा सय जनासम्म अनुपस्थित

आइतबार, २९ कार्तिक २०७२

भक्तपुर २९ कात्तिक / निम्न माध्यामिक तहका शिक्षकहरुको अन्तर्वार्ताका क्रममा एउटै क्षेत्रमा सय जनाको हाराहारीमा अनुपस्थित भएको फेला परेको छ । सबै भन्दा धेरै पूर्वाञ्चलमा ९४ जना अनुपस्थित भएका छन् । यसैगरी अन्य क्षेत्रमा समेत अनुपस्थित भएको आयोग श्रोतले जनाएको छ ।

माध्यामिक तर्फ पूर्वाञ्चल र मध्यमाञ्चलमा धेरै अनुपस्थित भएका थिए । निमाविमा भने कतिपय उम्मेद्वार माविमा नाम निकालेका कारण र कतिपय निजामती सेवामा नाम निकालेका कारण अनुपस्थित भएको हुन सक्ने आयोगको अड्कल छ ।

'कति अनुपस्थित भए भन्ने यकिन विवरण आईसकेको छैन' आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने, 'एक दुई दिनमा सबै तथ्याङ्क संकलन होला अनी मात्रै भन्न सकिन्छ ।' क्षेत्र क्षेत्रबाट विवरण संकलन हुने क्रम जारी रहेको उनले बताए । 

२० गतेबाट शुरु भएको र निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म मौका पाउने हुनाले मंसिर २ गते यता नतिजा प्रकाशन नहुने पक्का छ ।

काबु बाहिरको परिस्थिती उल्लेख गरेर १० दिन भित्र निवेदन दिएको खण्डमा यस अघि छुटेका उम्मेद्वारले फेरी अन्तर्वार्तामा उपस्थित हुन पाउने प्रावधान छ । निमाविका ८ विषयको लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य भएका थिए ।

प्रतिक्रिया