काठमाडौं ८ कात्तिक / निजी विद्यालयका पूर्वाधार कत्तिको भरपर्दा छन् भन्ने कुराको उदाहरण बनेको छ काठमाडौं जितपुरफेदी स्थित तारकेश्वर विद्याकुञ्ज इङलिस बोर्डिङ स्कुल । कमजोर टहराको बार्दली बुधबार दिउँसो विद्यालय समयमै ढल्दा ४५ विद्यार्थी घाईते भए ।
बार्दली भत्केर ४५ विद्यार्थी घाइते : ‘विद्यालय सञ्चालक र प्रिन्सिपलको लापरबाही’ शिर्षकमा कान्तिपुरमा सुदीप कैनीले लेखेको खबरमा पनि यही विषयलाई उल्लेख गरिएको छ । उक्त खबर अनुसार काठमाडौं उपत्यकाभित्र करिब १० प्रतिशत निजी विद्यालयको मात्रै आफ्नो भवन रहेको अनुमान छ । आफ्नै भवन भएका वा भाडाका घरमा चलेका शिक्षण संस्थाको पूर्वाधारमा पनि नियामक निकाय र अभिभावकको खासै चासो देखिँदैन । विद्यालय सञ्चालनको अनुमति दिने र अनुगमन गर्ने निकायले पनि कस्तो भवनमा कक्षा सञ्चालन भइरहेको छ भन्नेमा समेत ध्यान दिएका छैनन् ।
शिक्षा मन्त्रालयको संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिकाले विद्यालयहरूको भौतिक संरचनाको मापदण्ड तोकेको छ । त्यसमा भवन, कक्षाकोठा, खेलमैदान, प्रयोगशाला, फर्निचरको आकारप्रकार पनि उल्लेख छ । माध्यमिक शिक्षासम्मको अधिकार पाएका स्थानीय तहले समेत समयमै स्कुलको भौतिक संरचनाको निरीक्षण र अनुगमन गर्न सकेका छैनन् । शिक्षण संस्थाहरूको अनुगमन गरेर मापदण्ड नपुगे कारबाही प्रक्रिया अघि बढाउने तारकेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीले बताए ।
उक्त खबरमा बुधबार बार्दली खसकेको विद्यालयको अवस्था र विद्यार्थीको भोगाईको समेत यसरी चित्रण गरिएको छ :
विद्यालय प्रांगण छिर्नेबित्तिकै देब्रेतिर आमनेसामने एकतले दुई टहरा छन् । दाहिनेपट्टि अर्को टहरा छ, दुईतले । तिनको बीचमा सानो खेलमैदान छ, तर खेल्नका लागि उपयुक्त लाग्दैन । दाहिनेपट्टिको टहरोको भर्याङैदेखि बार्दली खसेको छ । माथिल्लो तलामा प्रिफ्याबको गारो लगाइएको टहराको तल्लो तलामा ब्लकको गारो छ ।
यो टहराको बार्दली बुधबार दिउँसो विद्यालय समयमै ढल्यो, जसबाट ४५ जना विद्यार्थी घाइते भए । यसका अन्य संरचना पनि तन्दुरुस्त लाग्दैनन् । भित्तातर्फका दुई टहरा देख्दा पनि लाग्छ, ढलिहाल्छन् । सिमेन्ट ब्लकको गारो रहेको टहरामा जस्तापाताको छानो लगाइएको छ । तिनको पछाडिपट्टि पहिरो छ । दायाँबायाँ झाडी । बोरामा माटो हालेर थामिएको पहिरो कति बेला खस्छ पत्तो छैन ।
बिहीबार दिउँसो काठमाडौं जितपुरफेदीस्थित तारकेश्वर विद्याकुञ्ज इङलिस बोर्डिङ स्कुल पुग्दा धेरैजसो अभिभावक चिन्तामग्न अवस्थामा देखिन्थे । उनीहरू भनिरहेका थिए, ‘कुनै टेवा र पर्खालबिनै अड्याइएको बार्दली एक्कासि खस्दा यस्तो दुर्घटना भयो ।’ दुर्घटनाबाट १५ जना विद्यार्थीका कसैका हात त कसैका खुट्टा भाँच्चिएका छन् । सामाखुसीस्थित ग्रिनसिटी हस्पिटलमा उनीहरूको उपचार भइरहेको छ । अन्य सामान्य चोट लागेका विद्यार्थी घरमै आराम गरिरहेका छन् । उनीहरूका किताबकापी र झोला भने स्कुलमै छन् । कमजोर संरचनाका कारण वेल्डिङबाट जोडिएको बार्दलीमा बसी चौरमा चलिरहेको फुटबल खेल हेरिरहेका बेला दुर्घटना भएको थियो । दुर्घटनापछि विद्यालय परिसर रगताम्मे बन्यो । ४५ विद्यार्थीमध्ये कसैको टाउको, कसैको निधार, नाक, कान, ओठ, दाँत, हातखुट्टा र शरीरका विभिन्न ठाउँमा चोट लाग्यो । त्यसमध्ये गम्भीर चोट लागेका चार जना विद्यार्थी अस्पतालमा उपचाररत छन् ।
देब्रे हात भाँच्चिएकी नौ वर्षीया मध्येस्ता लामिछाने घटनापछि बेलाबेला झस्किरहेको आमा दुर्गा लामिछानेले बताइन् । ‘समय–समयमा हामीले बार्दली कच्चा छ भनेर विद्यालय प्रशासनसमक्ष गुनासो गर्दै आएका थियौं,’ उनले भनिन, ‘धन्न बार्दलीमुनि कोही पनि विद्यार्थी रहेनछन् र ज्यानचाहिँ जोगियो ।’ बालबालिका पढ्ने, खेल्ने ठाउँ सुरक्षित नहुँदा अप्रिय घटना हुन पुगेको स्थानीयले बताए ।
‘हामी घाइते भएपछि स्कुल बसमा राखेर अस्पताल लगियो,’ मध्येस्ताले भनिन्, ‘अब स्कुल जान पनि डर लागेको छ । झोला लिन कसरी जाने ?’ उनको झोला बार्दली भई जानुपर्ने कक्षाकोठामा थुनिएको छ । ‘दोस्रो तलामा रहेको कक्षामा बसेर अब कसरी पढ्ने ?’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यो पनि त खस्न सक्छ ।’ पक्की संरचना नहुँदा दुर्घटनामा परेर बालबालिका घाइते भएको स्थानीय ६० वर्षीय विष्णु लामिछानेले बताए । ‘एकछिनअघि म स्कुल हुँदै पसल गएको थिएँ, विद्यार्थी खेलिरहेका थिए,’ उनले भने, ‘पसल पुगेर चिया नपिउँदै विद्यार्थीहरू दुर्घटनामा परेको खबर आयो ।’
विद्यालयको खेलमैदान पनि साँघुरो छ । २ सय ६० जना विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा १–५ का विद्यार्थी फुटबल खेल्दै थिए । मैदान साँघुरो भएपछि खेलाडीबाहेकका विद्यार्थीलाई बार्दलीमा बसेर खेल हेर्न भनिएको थियो । ४५ भन्दा बढी विद्यार्थी बार्दलीमा बसी खेल हेर्दै थिए । उनीहरूको बोझले कच्चा बार्दली करिब ९ फिट तल भुइँमा खसेको हो । ‘वेल्डिङले थामिएको बार्दलीमा टेवापर्खाल केही थिएन, पिलर वा डन्डी राखेर टेवा दिनुपर्थ्यो,’ अभिभावक राजाराम लामिछानेले भने, ‘स्कुल खोलेर पैसा कमाउने काम मात्र भयो, विद्यालयका कुनै पनि पूर्वाधार गतिला छैनन् ।’ विद्यालयमा खानेपानी र शौचालयको अवस्थासमेत उपयुक्त नरहेको उनको भनाइ छ । छात्रछात्राका लागि शौचालय पनि पर्याप्त छैनन् । छात्रा र छात्रलाई एक–एकवटा मात्र शौचालय छुट्ट्याइएको छ ।
करिब १० वर्षअघिसम्म उक्त स्कुल भाडाको पक्की घरमा सञ्चालित थियो । विद्यालय सञ्चालक नवीन डंगोलले आफ्नो भिरालो जग्गा समथर पारेर विद्यालय त्यहाँ सारेका थिए । संरचना भने कच्ची नै बनाएर पठनपाठन गराइँदै आएको थियो । ‘आफ्नै गामठामको स्कुल मिलेर चलाउनुपर्छ भनेर छोराछोरी भर्ना गर्यौं,’ राजारामले भने, ‘तर कमजोर संरचनाले यस्तो दुर्घटना भयो । अब विकल्प खोज्नुपर्छ ।’ दुर्घटना भइसकेपछि विद्यालयका प्रिन्सिपल दीपक धिताल र शिक्षकहरूले उपचारमा लैजानसमेत कन्जुस्याइँ गरेको अभिभावक बताउँछन् । ‘स्कुल बसमा लैजानुपर्छ भनेर डेढ घण्टासम्म ड्राइभर (चालक) खोज्न अलमल गरेर घाइतेलाई पानी खुवाएर राखियो,’ एक प्रत्यक्षदर्शीले भने ।
दुर्घटनापछि महानगरीय प्रहरी वृत्त बालाजुले घटनास्थलको मुचुल्का तयार पारेको छ । कमजोर संरचनाकै कारण बार्दली खसेको पाइएको वृत्तका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।
‘फलाममा वेल्डिङ गरेर बार्दली निकालिएको रहेछ,’ उनले भने, ‘पक्की किसिमले संरचना नबनाएका कारण विद्यार्थीको लोड थाम्न नसेर भत्किएछ ।’ घटनापछि तारकेश्वर नगरपालिका कार्यालयले समेत स्कुलको निरीक्षण र छानबिन थालेको जानकारी दिएको छ । नगरकी उपमेयर भवानी डोटेल धिताल र शिक्षा अधिकारी होमनाथ न्यौपानेले स्कुल निरीक्षण गरेका छन् । विद्यालय भवन बनाउँदा प्राविधिक त्रुटि भएको पाइएको न्यौपानेले बताए । ‘टप निकालेर सामान्य वेल्डिङ मात्र गरिएको रहेछ,’ उनले भने, ‘यसबारे विस्तृत छानबिन गर्छौं ।’ विद्यालयका प्रिन्सिपल धितालले भने आवेशमा आएका अभिभावकले भौतिक संरचनालाई दोष लगाएको प्रतिक्रिया दिए । घटनाबारे कान्तिपुरले जिज्ञासा राख्दा भेटेर मात्र कुरा गर्ने भन्दै उनी फोनमा खुल्न चाहेनन् ।
प्रतिक्रिया