काठमाडौं - न्याय विषयका शिक्षक फेला पर्न नसकेपछि रानीपोखरीको संस्कृत माध्यमिक विद्यालयले सो विषयको पठनपाठन हटाइदिएको छ ।
संस्कृत माध्यमिक विद्यालयमा अध्यापनरत न्याय विषयका शिक्षक आन्तरिक स्थायी परीक्षामा अनुत्तीर्ण भएपछि सो विषय अध्यापन गर्ने स्थायी शिक्षकको अभावमा सो विषयको पठनपाठनमा समस्या सिर्जना हुँदै आएको थियो ।
'नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि शिक्षक फेला नपरेपछि पहिलो त्रैमासिक परीक्षामा न्याय विषयको परीक्षा सञ्चालन हुन सक्ने अवस्था बन्ने देखियो' संस्कृत माविका प्रधानाध्यापक बद्री दाहालले भने, 'यस्तो अवस्था सिर्जना हुनसक्ने डरले कक्षा ९ मा न्यायको सट्टा साहित्य विषय राखेर पठनपाठन अगाडि बढायौँ ।'
एसईई परीक्षाका कारण कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि वाल्मीकि क्याम्पसबाट एक जना प्राध्यापकलाई कक्षा लिएको आधारमा पारिश्रमिक दिने गरी अध्यापन कार्यमा लगाइएको छ ।
शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि परीक्षा सञ्चालन गर्दा न्याय विषयमा कोही पनि उत्तीर्ण हुन सकेनन् । त्यसैले न्याय विषय अध्यापन हुँदै आएको काठमाडौंको संस्कृत विद्यालयमा अरू विषयका शिक्षकले आफूले न्याय विषय अध्यापन गर्न सक्ने भन्दै सरुवाका लागि माथिल्लो तहबाट ‘सोर्स’ लगाउन थालेका छन् ।
संस्कृत माविमा व्याकरण, भाषा, ज्योतिष, यजुर्वेद लगायतका फरक विषयका शिक्षक गएर न्याय विषय अध्यापन गर्न सक्ने भन्दै आफूलाई सिफारिस दिन आग्रह गर्ने गरेका छन् । शिक्षक नपाएको पीडामा रहेको विद्यालयले ती शिक्षकलाई सरुवा गरिदिन भनेर शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाइदिने गरेको छ ।
दाहालले भने, 'पढाउन सक्छु भनेर आएकालाई पत्र लेखेर पठाइदिएका हौँ । न्याय विषयका शिक्षक नै फेला नपरेपछि अरू विषयकाले पढाउन सक्छु भनेकाले पढाइदेलान् भन्ने आशाले एकाइलाई आग्रह गरेर पत्र दिने गरेका हौँ ।'
काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीले ज्योतिष पढेका आफन्तलाई जसरी भए पनि न्याय विषयको शिक्षकमा राख्न निकै दवाव दिने गरेको संस्कृत माविका शिक्षकहरूले सुनाए ।
शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले 'संस्कृत माविमा खाली भएको न्याय विषयको शिक्षकमा मलाई पठाइदिनुस् भनेर २० भन्दा बढी शिक्षकहरू आइसके' भन्दै थपे, 'कतिपयले माथिबाट पनि दवाव दिएका छन् । ठूलो दवाव खेपिरहेका छौँ, तर न्याय विषय पढाउन ज्योतिष पढेकालाई कुनै पनि हालतमा पठाउँदैनौँ ।'
उनले न्याय विषयलाई मर्न नदिने र न्याय विषयको अस्थायी करारमा शिक्षक राख्ने योजना आफूले बनाएको बताए । “खुला प्रतिस्पर्धाबाट उत्तीर्ण भएका फलानो शिक्षकलाई नियुक्ति दिनु भनेर विद्यालयले पत्र पठाएका भरमा हामीले नियुक्ति दिने कुरै हुँदैन” उनले भने ।
यसैबीच एकाइमा यतिबेला सरुवाका लागि दैनिक ५० जनाभन्दा बढी शिक्षकहरु पुग्ने गरेका छन् ।
'फलानो ठाँउमा खाली छ, त्यहाँ सरुवा गरिदिनुपर्यो भन्ने शिक्षकहरुको चाप थेगिनसक्नु भइसकेको छ' उनले भने, 'जतिसुकै माथिको दवाव आए पनि हामीले सरुवा गरेका छैनौँ ।'
प्रतिक्रिया