काठमाडौं २ कात्तिक / भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि विद्यालयको पुनर्निर्माण सम्पन्न हुन सकेको छैन । राजनधानीमा पूर्णभक्त दुवालले पाँच हजार विद्यालय पुनर्निर्माण : काठमाडौंमा नै बन्न सकेन विद्यालय शिर्षकमा लेखेको खबर अनुसार केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार १२ वैशाख २०७२ को भूकम्पबाट ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेकोमा हालसम्ममा ५ हजार ६३ वटा विद्यालयको मात्र पुनर्निर्माण भएको छ । एकाइका सूचना अधिकारी किरणकुमारी लेखकले भनिन्, ‘विद्यालय पुनर्निर्माणका लागि बजेट पर्याप्त छ तर विद्यालय पुनर्निर्माणका लागि जग्गाको समस्या छ ।’
एकाइका अनुसार १ हजार ५ सय १६ वटा विद्यालय निर्माणको प्रक्रियामा छन् भने ३ सय ३ वटा विद्यालय निर्माणका लागि छनोट भइसकेका छन् । यस अवधिमा २६ हजार ८ सय ५७ वटा विद्यालयका कोठा निर्माण भइसकेका छन् ।
विद्यालय पुनर्निर्माणका लागि अन्य जिल्लाहरूमा खासै ठूलो समस्या नभए पनि काठमाडौंमा भने जग्गा समस्याले गर्दा भवन निर्माण नहुने स्थिति उत्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा नभएका कारण पुनर्निर्माण हुन नसकेको हो ।
२०७२ को विनाशकारी भूकम्पका कारण काठमाडौंका २ सय ८१ मध्ये २ सय ४१ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमध्ये ६० वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने १ सय ८१ वटामा सामान्य क्षति पुगको थियो । क्षतिग्रस्त २ सय ४१ मध्ये हालसम्ममा ८५ वटा विद्यालयको मात्र पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख अर्जुनबहादुर रायमाझीले बताए ।
अन्य ४३ वटा विद्यालय निर्माणका चरणमा छन् । जसमध्ये २९ वटा विद्यालय व्यवस्थापन समितिले बनाउँदै छ ।
चार कोठे भवन निर्माणका लागि न्यूनतम ११ मिटर लम्बाइ र ९ मिटर चौडाइ भएको जमिन आवश्यक हुन्छ । तर, २५ विद्यालयमा यति पनि जग्गा छैन । सामान्यतः ४ कोठे भवनका लागि १४ बाई १० मिटर आवश्यक पर्छ । काठमाडौंका २५ वटा विद्यालयसँग यस्तो जग्गा नभएका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको हो ।
जग्गाको अभाव भएर पुनर्निर्माण हुन नसकेका विद्यालयहरू काठमाडौंको पुरानो बस्तीमा छन् । जग्गा नभएर विद्यालय पुनर्निर्माण हुन नसकेका विद्यालयहरूमध्ये १९ वटा काठमाडौं महानगरपालिकाभित्रै छन् ।
प्रतिक्रिया