काठमाडौं १२ असोज / काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएको पाइएको छ । नयाँ पत्रिकामा एमबिबिएसको प्रवेश परीक्षामा केयूको चरम लापरबाही, २५० विद्यार्थीको नतिजा परिवर्तन शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले लिएको प्रवेश परीक्षामा दुई सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन गरिएको छ ।
एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजामा विश्वसनीयता नै नभएपछि विद्यार्थी आक्रोशित भएका छन् ।विश्वविद्यालयले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको थियो । तर, नतिजामा विद्यार्थीले चित्त बुझाएनन् । त्यसैले रिटोटलिङ गर्दा शुक्रबार पुनः अर्को नतिजा सार्वजनिक भएको थियो । जसमा, करिब दुई सयजनाको नतिजा हेरफेर भएको छ । पहिलो नतिजामा उच्च अंकसहित पास भएका विद्यार्थी दोस्रोमा फेल भएका छन् भने पहिले फेल भएका विद्यार्थी दोस्रोमा उच्च अंकसहित पास भएका छन् ।
६ हजार आठ सय विद्यार्थीले परीक्षा दिएकामा पहिलोपटक चार हजार ६ सय ४८ जना पास भएका थिए । नतिजामा चित्त नबुझाएका करिब एक हजार विद्यार्थीले रिटोटलिङ गरेका थिए । रिटोटलिङपछि प्रकाशित नतिजामा भने चार हजार चार सय ८९ जना मात्र पास भएका छन् ।
केयूले पहिलोपटक प्रकाशित गरेको नतिजामा मोहम्मद नसिर फेल भएका थिए । दोस्रो नतिजामा उनको ७४ नम्बर आएको छ । उनले अहिले पनि आफ्नो नतिजामा चित्त बुझाएका छैनन् । ‘केयूको रिजल्टमा अहिले पनि विश्वास गर्न सकिने अवस्था छैन । मेरो ८५ भन्दा बढी आउनुपर्छ, मजस्ता धेरै साथी पीडित भएका छन्,’ उनले भने । कतिपयको अंक घटेको पनि छ । अमृत खनालको पहिले ७१ आएकोमा पछिल्लोमा ६४ आएको छ ।
काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । छात्रवृत्तिमा पढ्न पाउने आशामा वर्षौँदेखि तयारी गरेका विद्यार्थी विश्वसनीय नतिजा नआएपछि निराश र आक्रोशित भएका छन् ।
चिकित्सा शिक्षाका विद्यार्थीले काठमाडौं विश्वविद्यालयबाट भएको लापरबाहीको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षाबाट प्रश्नपत्र बाहिरिएको छ । परीक्षासम्बन्धी नियममा कुनै पनि प्रश्नपत्र विद्यार्थीले बाहिर लैजान नपाउने व्यवस्था छ । तर, विद्यार्थीमार्फत प्रश्नपत्र बाहिरियो । ‘विद्यार्थीले प्रश्नपत्र बुझाएर निस्कनुपर्छ, प्रश्नपत्र बाहिरिनु भनेको परीक्षा फितलो हुनु हो,’ केयूका एक प्राध्यापकले भने । परीक्षा चलिरहँदा प्रश्नपत्र बाहिरिएको हो वा सकिएपछि भन्ने चाहिँ छानबिनपछि थाहा हुने उनले बताए ।
प्रतिक्रिया