काठमाडौं - लाईसेन्स परीक्षा वहिष्कार गर्न उत्रिएका २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रिय उपाध्यक्ष विष्णु दौल्याल र सचिव वेदप्रसाद जोशीलाई प्रहरीले कैलालीबाट पक्रेको यूनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपानेले जानकारी दिए ।
'साथीहरु परीक्षा वहिष्कारको आह्वान गर्दै हिँडेका बेला पक्राउ गरिएको हो' उनले भने, 'केन्द्रको निर्णय बमोजिम पम्प्लेट टाँस्दै हिँडेका बेला पक्राउ गरिएको हो, यूनियनले यसको निन्दा गरेको छ ।'
सर्वोच्च अदालतले शिक्षक लाईसेन्सको परीक्षा रोक्न नपर्ने आदेश दिए पछि यूनियनले परीक्षा वहिष्कार गर्ने निर्णय गरेको थियो । शिक्षक सेवा आयोगले खोलेको विज्ञापन नम्बर ३५ ले आफुहरुलाई नसमेट्ने भन्दै यूनियनका तर्फबाट शिक्षकहरुले अदालतमा रिट दायर गरेका थिए ।
उक्त विज्ञापन अन्तर्गत रहेका ६ हजार २ सय जना शिक्षक मध्ये प्रारम्भिक तथ्याङ्क अनुसार ७५ प्रतिशतले परीक्षा वहिष्कार गरेको न्यौपानेले बताए ।
'कतिपय जिल्लामा त सत प्रतिशत वहिष्कार गरेके खबर आएको छ' उनले भने 'सबै भन्दा धेरै परीक्षामा सामेल भएको काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतले वहिष्कार गरेका छन् ।'
उक्त परीक्षा शुक्रबार विहान ८ बजेबाट शुरु भएको थियो ।
प्रतिक्रिया