Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : विद्यार्थी अंग्रेजीभन्दा नेपालीमा कमजोर

शुक्रबार, १० असोज २०७६

काठमाडौं १० असोज / नेपाली विद्यार्थी नेपाली भाषामै कमजोर देखिएका छन् । नयाँ पत्रिकामा अनुसार मंगलबार प्रकाशित कक्षा ११ को नतिजाअनुसार अन्य विषयको तुलनामा नेपाली विषयमा विद्यार्थीले अत्यन्त कमजोर ग्रेड प्राप्त गरेका छन् । नेपालीमा भन्दा अंग्रेजीमा ए प्लस हासिल गर्ने विद्यार्थीको संख्या अत्यन्त बढी छ । अनिवार्य अंग्रेजीमा चार सय ७३ विद्यार्थीले ए प्लस ल्याउँदा अनिवार्य नेपालीमा ५३ जनाले मात्र उच्चतम ग्रेड प्राप्त गरेका छन् । अझ, ऐच्छिक नेपालीमा त एकजनाले पनि ए प्लस ल्याएका छैनन् । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ को परीक्षामा कुल पाँच लाख नौ हजार विद्यार्थी सहभागी भएका थिए । अंग्रेजीमा चार लाख ३८ हजार ९७ र नेपालीमा तीन लाख २१ हजार एक सय ८० ले आवेदन फारम भरेका थिए । जसमध्ये अंग्रेजी विषयमा २१ हजार एक सय ७५ र नेपालीमा १५ हजार एक सय ४६ अनुपस्थित रहे । परीक्षार्थीमध्ये अंग्रेजीमा ग्रेड ए ल्याउने १३ हजार सात सय एक र नेपालीमा तीन हजार एक सय १५ छन् । बी प्लस ल्याउने अंग्रेजीमा ३३ हजार सात सय ३१ र नेपालीमा १८ हजार चार सय तीनजना छन् । नेपालीमा बी, सी प्लस र सी ग्रेड ल्याउने विद्यार्थी धेरै छन् । ४२ हजार आठ सय २९ जनाले बी, ६१ हजार चार सय ९८ जनाले सी प्लस र ७२ हजार तीन सय ६० जनाले सी ग्रेड हासिल गरेका छन् । अंग्रेजीमा भने बी ल्याउने ३९ हजार आठ सय ६५, सी प्लस ल्याउने ४३ हजार दुई सय ९४ र सी ग्रेड ल्याउने ५९ हजार ६ सय सातजना छन् । 

अंग्रेजीमा डी प्लस, डी र ई ल्याउने धेरै छन् । ७८ हजार ६ सय ५३ ले डी प्लस, ६८ हजार नौ सय ३४ ले डी र ७८ हजार ६ सय ६४ ले ग्रेड ई ल्याएका छन् । त्यसैगरी, नेपालीमा डी प्लस ल्याउने ६१ हजार आठ सय ७७, डी ल्याउने ३१ हजार ५६, ई ग्रेड ल्याउने १४ हजार आठ सय ४३ छन् । ऐच्छिक नेपालीमा ८४ हजार विद्यार्थीले फारम भरेकामा एकजनाले पनि ए प्लस ग्रेड हासिल गर्न सकेनन् । ए ग्रेड ल्याउने जम्मा १३ जना छन् । 

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर अनुसार कक्षा ११ को परीक्षामा सैद्धान्तिकमा ए प्लस ल्याउने कम भए पनि प्रायोगात्मक परीक्षामा भने धेरै विद्यार्थीले यो ग्रेड हासिल गरेका छन् । सैद्धान्तिक मात्र परीक्षा हुने विषयमध्ये म्याथमा ए प्लस ल्याउनेको संख्या धेरै छ । म्याथमा ६४ हजार नौ सय ६७ जनाले परीक्षा फारम भरेकामा तीन हजार ६ सय ४२ जनाले ए प्लस ल्याएका छन् । एन्भाइरोमेन्टल एजुकेसन, रुरल डेभलपमेन्टलगायतका विषयमा सैद्धान् ितकमा ए प्लस ल्याउने शून्य भए पनि प्रयोगात्मकमा हजारौँ विद्यार्थीले ए प्लस ल्याएका छन् । 
प्रा.डा. विद्यानाथ कोइराला भन्छन्–शिक्षकले नेपाली पढाउनै जानेनन्

प्रतिक्रिया