Edukhabar
विहीबार, १३ मंसिर २०८१
विचार / विमर्श

शिक्षा सुधारमा भाषण हैन, व्यवहार रुपान्तरणको खाँचो

विहीबार, ०९ असोज २०७६

प्रत्येक दिन दर्जनौं कार्यक्रम, सभा, समारोह । प्रमुख अतिथिमा सबैलाई चाहिने ठूला मान्छे । सकेसम्म राष्ट्रपति, त्यस पछि प्रधानमन्त्री, मन्त्रीगण, कतैकतै उपराष्ट्रपति, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु, स्थानीय तहमा पनि मेयर, पालिका प्रमुख, नपाउँदा उपमेयर, उप प्रमुख आदि । देशमा २८ हजार सरकारी विद्यालय, ७ हजार संस्थागत विद्यालय, विश्वविद्यालय, सरकारी कलेज, सम्बन्धन प्राप्त सामुदायिक र निजी कलेज गरी हजारौं संख्याका शिक्षण संस्थाहरु, सरकारी कार्यालयहरु पनि जोड्दा अझ धेरै छन् । कतै स्थापना दिवस, कतै अभिभावक दिवस, वार्षिक दिवस, क्याम्पस सभा, समिति पुनर्गठन समारोह यस्ता अनेकौं नामका कार्यक्रम प्रत्येक दिन अनेकौं शिक्षण संस्थामा भइरहेका छन् । ती सबै कार्यक्रमहरु संस्थागत जीवनका अंगहरु र तिनका नियमित प्रक्रिया बनिसकेका छन् । 

हरतहरले ठूला मान्छेको समय लिएर उनीहरुलाई यी कार्यक्रममा बोलाउँदा आयोजकहरु युद्धमा विजयी बनेको अनुभूति गर्दछन् । संस्कारै यस्तो स्थापित भएको छ । हुन त व्यक्तिलाई नभएर त्यो पदलाई बोलाएको हो । व्यक्तिलाई हो भने त पूर्व पदाधिकारी, मन्त्री धेरै हुने थिए । त्यसो त होइन । बहालवाला पदाधिकारी अर्थात् प्रमुख अतिथि, अतिथि त व्यक्ति नभएर पद नै हो, यसमा शंका छैन । तर पनि सम्बन्धित पदको कार्य प्राथमिकता यहाँ स्पष्ट छैन । निजी सचिवहरुले ठूलो पदको सेड्युल बनाउँदा नीतिगत काम, सम्बन्धित मन्त्रालयको आवश्यकता, दृष्टिकोण भन्दा पनि बाहिरको सभालाई प्राथमिकता दिने गर्दछन् । उनीहरुको बुद्धि पनि त्यही सभा–समारोहले ज्यादा प्रभावित पारेको देखिन्छ । 

यस आलेख, व्यक्ति विशेष लक्षित नभई सम्बन्धित पदको प्राथमिकता अनुसारको काम के हो ? त्यो स्मरण गर्न जरुरी छ भन्ने तर्फ आकर्षित छ । एउटै विषय र कुरा भाषणमा धेरैबेर भनिन्छ । यही कुरा दश पटक कक्षा कोठमामा जस्तो भाषणमा दोहोरिन्छ । नयाँ विषय आउँदैन । एक दिनमा चारवटा कार्यक्रम, ती चारैवटा स्पीचलाई विश्लेषण गर्दा झण्डै नब्बे प्रतिशत कुरा उही हुन्छ । ती ठूला मान्छेहरु एउटा प्राथमिक विद्यालयको अभिभावक भेलामा र क्याम्पसको सभामा प्रायः उही वाक्य बोलिरहेका हुन्छन् । जति धेरै समय बोल्यो, उति ठूलो मान्छे बन्ने संस्कार त छ नै । धेरै समय कटाउन कुरा उही, पटक धेरै गर्नै पर्छ ।

वक्तालाई आफूले बोलिरहेको विषय र सन्दर्भसँग सम्बन्धित वातावरण मेल खाए नखाएको पर्वाह छैन । विद्यालयको वार्षिक उत्सवमा विमानस्थल निर्माणमा रुख काट्ने चर्चा भाषणको मुख्य भाग बन्छ, विश्लेषकहरु सुनेर दिक्क मान्छन् । कलेजका स्वर्ण वर्षमा ठूला मान्छेले बोल्दा सरकार गठन, सांसदको भोट, चुनावको जीतहार जस्ता विषयले समय पाउँछ । तर, संस्थागत विकास र त्यसको दृष्टिकोण कतै आउँदैन । यो उदेकलाग्दो अवस्थाको अन्त्य जरुरी छ । 

उराठपूर्ण, विसंगति अर्थात् सभाको मूल विषय र उद्देश्य एक, भनाई भाषण अर्कै हुँदा टिप्पणीकारहरुले गर्ने आलोचनालाई स्वभाविक भन्नुपर्ने हुन्छ । सम्बन्धित मन्त्रालयको महत्वपूर्ण नीतिगत निर्णय छाडेर राज्यकोषको खर्च गरेर दूरदराजको गाउँमा अभिभावक भेलाको प्रमुख अतिथि बन्ने मन्त्री वा ठूला पदले कहाँ के बोल्ने, त्यहाँको नागरिकको, आयोजकको भावना के हो ? आवश्यकता के हो ? यस्ता सवालमा सम्बिन्धत पद धारण गर्ने व्यक्ति सचेत रहनु राम्रो हुन्छ ।

संघीय शिक्षा ऐन दिन नसकेर लज्जित भएका शिक्षा मन्त्रीले गाउँका अभिभावक भेलामा गरेको भाषणले के अर्थ राख्छ ? व्यक्तिगत रुपमा अत्यन्त भलाद्मी भनेर चिनिएता पनि काममा जरुरी विषय ओझेलमा परेकाले अहिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल आलोचित बन्दै गईरहेका छन् ।  विश्वविद्यालयको उपकूलपति सिफारिस गर्न विलम्ब गर्नेले ठूला कुराको के अर्थ रहन्छ र ? सिंगो शिक्षा मन्त्रालय, जसले विद्यालय देखि कलेजसम्म प्रचलित काूनन बमोजिमका शैक्षिक नेतृत्व तोक्न सक्दैन, त्यो भन्दा शरम कहिले बन्ला ? 

यहाँ तारिफ र चाकडी गरे मात्र प्रशंसा पाइने तर यथार्थताको उजागर भएमा विरोधी बनिने संस्कार र त्यसको त्रासले सत्य छोपिएको छ । यसको अर्थ भेला, समारोह, उत्सवमा ठूला मान्छे पुग्न नहुने भन्न खोजिएको पटक्कै होइन । समय पुग्दा प्राथमिकतामा परेका काममा ती पदको उपस्थितिले समारोहको भव्यता बढाउँछ र आयोजकलाई थप ऊर्जा मिल्छ नै ।

उच्च पद भनेको नीति, ऐन, कानून बनाउने र त्यसको कार्यान्वयनको खाका सहित मातहतलाई सक्रिय बनाउने स्थान हो । कार्यक्रम एका तर्फ, भाषणको भाव अर्कै तर्फ हुँदा राम्रो हुँदैन । दिन खोजेको सन्देश सटिक र व्यवहारोपयोगी हुनुपर्छ । प्रस्तुति वजनदार बन्नै पर्छ अन्यथा पदको उपहास मात्र हुनेछ । विद्यालयको सभामा सहकारी र वनको कुरा भएमा स्रोताले के मूल्यांकन गर्ने ? नयाँ विचार, भावना, सन्देश र दृष्टिकोणको अपेक्षा आयोजकले गर्दछन्, त्यो दिनु राम्रो हुन्छ । 

तरकारी पसलेसँग ग्राहकले खुर्सानी माग्दा आलु दिएमा ग्राहकले के बुझ्छ र वातावरण कस्तो बन्ला ? यो सवालमा ठूला र उच्च पद धारण गर्ने व्यक्तित्व जानकार बन्नुपर्छ । हाम्रा प्रतिनिधि, हाम्रो सरकारका मान्छे, देशका ठूला मान्छे, उच्च पदासीनबाट के अपेक्षा गरिन्छ ? सभा, उत्सव, समारोहमा किन बोलाइन्छ ? त्यो गम्भीर रुपमा बुझ्नुपर्छ । ठूला मान्छेको सम्मान हुनुपर्छ । ठूलो पदको मर्यादा गर्नुपर्छ । यो आम नागरिकको बुझाई हो ।

एउटा शिक्षण संस्थाको सभा, उत्सव, समारोह कम्तिमा तीन घण्टाको हुन्छ नै । प्रमुख अतिथिको आसन ग्रहण पश्चात् स्वागत गर्ने वित्तिकै उद्घाटन अनि ठूलो पदका व्उक्तिलाई अरुका कुरा सुन्ने समय हुँदैन, तुरुन्तै आफ्नो भाषण राखेर उठ्न हतार हुन्छ, बैठक भ्याउनु छ, मन्त्रालयमा धेरै काम छ, व्यस्त मान्छे, व्यस्त पदलाई यहाँ मोफसलको कसैसँग वास्ता, पर्वाह गरेर बस्ने फुर्सद हुँदैन । सँगै आएका निजी सचिवालयका मान्छेले जाँदा पनि घेरेर लान्छन् । आउँदा पनि घेरेर नै मञ्चमा पु¥याउँछन् । बोल्ने पनि फुर्सद हुँदैन । काठमाडौंदेखि आएका केही नयाँ कुरो सनौं र आफ्नो कुरो पनि राखौं भन्ने आयोजकलाई तपाईंको कुरा टिपेर दिनोस् भन्दछन्, स्वकीय सचिवले । प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई समारोहका तल्लो तहका नागरिकले बोलेको सुन्ने, अन्तरक्रिया गर्ने फुर्सद पटक्कै हुँदैन । एक दिनमा दर्जन समारोहमा पुग्ने कार्यक्रम बनाएका हुन्छन् । हाम्रो यो पद्दतिबारे चिन्ता र गम्भीरता आउनु जरुरी छ । नभ्याए नजाने, गए पछि कम्तिमा दुईचार कुरा पद नभएकाको वा तल्लो पदकाको सुन्नु पर्छ, नोट गर्नुपर्छ । आफ्नो सचिवालय त सधैं सँगै हुने हो, त्यो नयाँ ठाउँमा त्यहीँका नागरिकसँग बस्नुपर्छ । तब पो केही अर्थ रहन्छ । 

ठूलो भन्दा पनि असल र महान योगदानका लागि विश्व प्रसिद्ध व्यक्तित्वहरु फिडेल क्यास्त्रो, चे ग्वेभारा, माओ, गान्धी, बुद्ध, लेनिनका जीवनशैली जो उच्च पदमा पुगे वा प्रसिद्धिको शिखर भेट्न सफल भए, उनीहरुबाट केही सिक्न त सकिन्छ । कार्ल माक्र्स जो यस तेस्रो सहस्राब्दीका महान पुरुष भनेर पूँजीवादका अनुयायीले घोषणा गरे, उनको जीवन शैलीबाट पनि केही सिक्न सकिन्छ । लिंकन, मार्टिन लुथर किंग, आइन्सटाइनदेखि धेरै त्यस्ता व्यक्तित्व आजसम्म जन्मिए, केही दिएर गए । उनीहरुको योगदान भजाएर हामी बाँचेका छौं । सिंगै ती महान व्यक्तित्व जस्तो बन्नुपर्छ भन्ने होइन, अरु कोही सक्दैन पनि । थोरै असल कुरा सिक्नेसम्म हो । 

हाम्रा नेतृत्वले वर्तमान सरकारले हाल अरुलाई दोष दिने छुट कतै पनि छैन । यस्तो सहज अवस्थामा पनि भाषणमात्र गर्ने, व्यवहारमा देखिएन भने त्यो गम्भीर त्रुटी हुनेछ । 

शिक्षा सबै विकासको मुहान हो । शिक्षामा सुधार भएमा अन्य सबै कुरामा आफैं सुधार हुन्छ । यो तथ्य बुझेर पनि बुझ पचाउने शैक्षिक नेतृत्व, जिम्मेवार पदासीन व्यक्तित्वहरु अझ गम्भीर नबन्नु दुर्भाग्यपूर्ण हुनेछ । ठूलो पद ओगट्नु र पदीय जिम्मेवारी बहन गर्नुमा अन्तर छ । तोकिएका विविध विषयगत संरचनाका पदासीन व्यक्तिले पदीय भार पूरा गर्नैपर्छ अन्यथा उक्त पद ओगटेर राष्ट्रलाई लुट्ने काम गर्न पाइन्न, त्यो छुट कसैलाई छैन । यो राष्ट्रको साँच्चै समृद्धिको सपना साकार पार्ने महत्वपूर्ण अवसर प्राप्त गर्न वर्तमान सरकारले ऐतिहासिक मौका गुम्न दिनु हुँदैन ।

मलको डोको घोप्ट्याएको ठाउँमा सागको ठूला बोट मैले बनाएँ भनेर गीत गाएर अरुको आँखामा छारो हाल्ने दुस्साहस भन्दा रुखो, बालुवा भरिएको बाँझो जमिनलाई उर्वरयुक्त बनाएर त्यो ठाउँमा झरिलो सागको बोट देखाउन सके त्यसको महत्व फरक हुन्छ । हामीले कुनै ढुंगा फोर्दा पछिल्लो प्रहारको कारणले मात्र फोरिएको भन्न थाल्यौं भने त्यो सतही र दरिद्र विश्लेषण बन्न सक्छ । हुन त पछिल्लो प्रहारले नै फुटेको देखिएता पनि त्यस अघिका दशौं प्रहारको कारणलाई नजरअन्दाज गर्न सकिँदैन । यी सबै सन्दर्भ सरकारसँग खासगरी शिक्षा मन्त्रालयसँग जोडेर शिक्षामा ऐतिहासिक फड्कोको अपेक्षा गरिएको हो । 

अवसरसँग स्वभाविक चुनौती त छन् नै । जिम्मेवार पदले वास्तविकता बुझेर निर्णय लिनुपर्छ । सतहमा र भाषणमा दौडेर उही कुरा पटकपटक बोलेर केही अर्थ छैन । तसर्थ, शैक्षिक फड्कोले समृद्धि हासिल गर्न सहज हुने यथार्थताको व्यवहारमा रुपान्तरणको हामीले अपेक्षा गरेका छौं ।

प्रतिक्रिया