Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

शिक्षा र स्वास्थ्य अध्ययन गर्न उपसमिति

बुधबार, ०८ असोज २०७६

काठमाडौं ८ असोज / संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) ले विभिन्न प्रदेश बगएर शिक्षा तथा स्वास्थ्य नीति र कार्यान्वयनको अवस्था अध्ययन गर्न दुई उपसमिति बनाएको छ । कान्तिपुरका अनुसार संसद्को चौथो अधिवेशन सकिएसँगै सोमबारको समिति बैठकले असोज र कात्तिकमा काम गर्न उपसमिति बनाएको हो । यी महिनामा दसैं, तिहार, छठ लगायत पर्व छन् ।

राज्यका निर्देशक सिद्धान्त समिति दुवै संसद्को संयुक्त हो । समितिले सुदूरपश्चिम र कर्णाली प्रदेश पुगेर अध्ययन गर्न खेमप्रसाद लोहनीको संयोजकत्वमा गणेश ठगुन्ना, रामलखन चमार, दुर्गा पौडेल र कालीबहादुर मल्ल सदस्य रहेको उपसमिति बनाएको छ । त्यस्तै प्रदेश १ र २ का लागि राधेश्याम अधिकारीको संयोजकत्वमा लक्ष्मी परियार, प्रभु साह र देवप्रसाद तिमिल्सिना सदस्य रहेको उपसमिति गठन भएको छ । दसैं, तिहार र छठ बिदा आसपासको बेला काम गर्न आफ्नो समितिको कार्यतालिकाअनुसार दुई उपसमिति बनाइएको समिति सभापति नीरादेवी जैरुले जानकारी दिइन् । उपसमितिहरूले शिक्षा तथा स्वास्थ्यको नीतिगत व्यवस्था र कार्यान्वयनबारे विद्यालय, स्वास्थ्य चौकीहरू पुगेर अवलोकन गर्नेछन् ।

सिंहदरबारमा बसेर मात्र वस्तुस्थिति नबुझिने भएकाले स्थलगत अध्ययन गर्न उपसमिति बनाइएको प्रदेश १ र २ का लागि गठित उपसमिति सदस्य देवप्रसाद तिमिल्सिनाले बताए । दुवै समितिले जाने स्थान र कार्यक्रम तय गर्न बाँकी छ । उपसमितिहरूले प्रदेश र स्थानीय तहमा शिक्षा र स्वास्थ्य हेर्ने निकायसँग समन्वय गरी स्थलगत अध्ययन गर्नेछन् ।

राज्यका निर्देशक सिद्धान्त समितिको कार्यतालिकाअनुसार समितिले मंसिरमा स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि गर्ने तथा सरकारी अस्पतालमा राज्यका तर्फबाट भएको लगानीको अनुगमन र मूल्यांकन गर्नेछ ।

प्रतिक्रिया