Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : तीन वर्षमा तीन अर्ब ठगी

मंगलबार, ०७ असोज २०७६

काठमाडौं ७ असोज / पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन् । नयाँ पत्रिकामा सरकारले नै गठन गरेको छानबिन समितिको प्रतिवेदन भन्छ–मेडिकल कलेजले तीन वर्षमा गरे तीन अर्ब ठगी शिर्षकमा नवराज मैनालीले लेखेको खबर अनुसार सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो । 

अझ ठगीको यो रकम नेपाली विद्यार्थीबाट मात्रै असुलिएको हो । विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन । ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रुपमा असुलिएको रकम पनि जोड्न झन् धेरै हुने समितिको अनुमान छ । 

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे छानविन गर्न सरकारले ६ महिनाअघि सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानविन तथा अध्ययन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो । 

समितिले डेढ महिनाअघि प्रतिवेदन तयार गरिसकेको छ । तर, प्रधानमन्त्रीलाई बुझाउन पाएको छैन । ‘सतर्कता केन्द्रका सचिवज्यू हेरफेर हुनुभएकाले प्रतिवेदन बुझाउने निर्णय हुन पाएको छैन, तर चाँडै प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ,’ सतर्कता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले भने । 

राष्ट्रिय सतर्कता केन्द्रले चार महिना लगाएर स्थगलत अध्ययन गरी सन् २०१५ देखि २०१८ सम्मको रिपोर्ट तयार गरेको छ । भर्नामै सरकारले तोकेभन्दा बढी शुल्क असुल्ने कलेजहरूले भर्नापछि विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएर ठगेको छानबिनमा देखिएको छ । यो तथ्यांक नेपाली विद्यार्थीमाथि मात्रै भएको ठगी हो । विदेशी विद्यार्थीसहितको जोड्दा चार अर्ब पुग्ने केन्द्रका अधिकारीहरू बताउँछन् ।

चिकित्सा शिक्षाका विद्यार्थीले मेडिकल कलेजहरूले असुलेको अवैध शुल्क फिर्ता नगर्दासम्म सिट निर्धारण रोक्न माग गरेका छन् । 

प्रतिक्रिया