Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : तीन लाख बालबालिका विद्यालयबाहिर

सोमबार, ०६ असोज २०७६

काठमाडौं ६ असोज /सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, नयाँ पत्रिकाका अनुसार तीन लाख बालबालिका विद्यालयबाहिर छन् ।

अनिवार्य शिक्षामै तीन लाख बालबालिका विद्यालय बाहिर स्कुल नजानेमा छात्राभन्दा छात्र धेरै शिर्षकमा भवानीश्वर गौतमले लेखेको खबर अनुसार यो तहमा अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ ।

अघिल्लो वर्ष सरकारले तामझामका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यालयबाहिरका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य अभियानले राखेको थियो । तर, अझै लाखौँ बालबालिका विद्यालयबाहिर रहेकाले भर्ना अभियान असफल देखिएको छ । 

केन्द्रको ०७५ को तथ्यांकअनुसार आधारभूत तहमा अध्ययन गर्ने पाँचदेखि १२ वर्ष उमेर समूहका छात्राभन्दा बढी छात्र विद्यालयबाहिर छन् । केन्द्रको प्रतिवेदनअनुसार विद्यालयबाहिर रहेका तीन लाख चार हजार चार सय ७६ मध्ये एक लाख ४९ हजार आठ सय एक छात्रा र एक लाख ५४ हजार ६ सय ७५ छात्र छन् ।

प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्यालयबाहिर रहेका छात्राको संख्या धेरै छ । प्रदेश २ मा ३९ हजार चार सय ३४ छात्रा र ३५ हजार ६ सय ९० छात्र विद्यालयबाहिर छन् । कर्णालीमा छात्रा १५ हजार सात सय ७२ र छात्र १५ हजार दुई सय ५३ विद्यालयबाहिर छन् । सुदूरपश्चिममा १८ हजार पाँच सय १९ छात्रा र १६ हजार सात सय १४ छात्र गरी ३५ हजार दुई सय ३३ बालबालिका विद्यालयबाहिर छन् ।

सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश २ का बालबालिका विद्यालयको पहुँचबाहिर छन् । अन्य प्रदेशको तुलनामा प्रदेश २ का झन्डै दोब्बर बालबालिका विद्यालय जान पाएका छैनन् । प्रदेश २ मा आधारभूत तहमा अध्ययन गर्ने कुल ७५ हजार एक सय २४ बालबालिका विद्यालयबाहिर छन् । 

प्रदेश १ का केही जिल्लामा विद्यालयबाहिरका विद्यार्थीको संख्या धेरै छ । सुनसरीमा सात हजार दुई सय ५७, मोरङमा ६ हजार नौ सय ४५ र झापामा ६ हजार सात सय ८२ बालबालिका विद्यालय जाँदैनन् । विद्यालय नजाने केटाकेटी धेरै रहेका जिल्लामा कपिलवस्तु, रूपन्देही, मकवानपुर, बाँके र बर्दिया पनि पर्छन् ।

शिक्षा मन्त्रालयका अधिकारीले दुईपटकको भर्ना अभियानपछि अत्यन्तै कम बालबालिका विद्यालय आउन बाँकी रहेको दाबी गर्दै आएका थिए । यद्यपि, विद्यालयबाहिर रहेका कति बालबालिकालाई भर्ना गरियो भन्ने तथ्यांक मन्त्रालयले तयार गरेको छैन । तर, विद्यालयबाहिरका बालबालिकाको संख्या उल्लेख्य रूपमा नघटेको तथ्यांकले देखाउँछ ।

 

प्रतिक्रिया