Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

म्याग्दीका गाउँमै कम्प्युटर शिक्षा सञ्चालन 

शुक्रबार, २७ कार्तिक २०७२

म्याग्दी, २७ कात्तिक । म्याग्दीको एक गाउँमा समुदायको अग्रसरतामा प्राथमिक तहमै कम्प्युटर शिक्षाको पहुँच पु¥याइएको छ ।   त्लेखेत गाविसको बाखेत गाउँमा रहेको विद्योदय निम्नमाध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेपछि विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरु गाउँमै कम्प्युटर शिक्षा हासिल गर्ने अबसर पाएका छन् ।  

बाखेतका भारतीय र बेलायती सेनाका अवकास प्राप्त भूपू सैनिक र प्रवासमा रहेका जिल्लावासी तथा समुदायका अन्य व्यक्तिहरुको सहयोगमा विद्यालयले गत वर्षदेखि औपचारिक रुपमा कम्प्युटर शिक्षा सुरु गरेको थियो । विद्यालयमा कम्प्युटर शिक्षा र कम्प्युटर साक्षरता अभियान सञ्चालन गरेपछि गाउँले र विद्यार्थीले सूचना प्रविधिसम्बन्धी शिक्षा हासिल गर्ने अवसर पाएको विद्योदय निमाविका प्रधानाध्यापक मनवीर किसानले बताए ।

उनका अनुसार, अहिले कक्षा ४ र ५ मा ऐच्छिक तथा ६ देखि ८ कक्षासम्म अनिवार्य विषयको रुपमा बालबालिकालाई कम्प्युटर शिक्षा पठनपाठन गराइएको छ ।   त्यस्तै समुदायका अन्य व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको कम्प्युटर साक्षरता अभियानमार्फत एक वर्षमा ३० जनाले आधारभूत कम्प्युटर शिक्षा लिने अवसर पाएका छन् ।  

विद्यालयमा कम्प्युटर शिक्षाको लागि भूपू सैनिकहरुले रु छ लाख ५० हजारमा जग्गा तथा भवन व्यवस्थापन गरेका थिए भने प्रवासमा रहेका बाखेतवासीले २० थान कम्प्युटर उपलब्ध गराएका थिए । उक्त अभियानमा जिल्ला शिक्षा कार्यालयले सूचना प्रविधिको पहुँच विस्तार कार्यक्रमअन्र्तगत रु एक लाख ४० हजार अनुदान उपलब्ध गराएको विद्यालयले जनाएको छ । 

(रासस) 

 

प्रतिक्रिया