काठमाडौं - राहत शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना विद्यालय निरिक्षक सहित पूर्व र वर्तमान प्रधानाध्यापक गरी ३ जना विरुद्ध मुद्दा दायर गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका कार्यालयको शिक्षा शाखाका विद्यालय निरीक्षक राजेश्वर प्रसाद चौरसियाले रामवेलास प्रसाद पटेलसँग घुस खाएर बनाईदिएको नक्कली कागजातका भरमा राहत कोटामा नियुक्त भई श्री राम प्राथमिक विद्यालय पिपरडाढीमा प्रधानाध्यापक भएको अख्तियारको दावी छ ।
यस्तै श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले चौसियासँगको मिलेमतोमा नक्कली कागजातहरू बनाई विभिन्न व्यक्तिलाई राहत तथा बाल विकास सहयोगी कार्यकर्ताका रुपमा नियुक्ति गरेको अख्तियारको दावी छ । यादवलाई चौरसियाको मतियारको भूमिका निर्वाह गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
पटेलले कुनै पनि परीक्षाहरू नदिई दस्तुरको चौरसियालाई घुस वापत तीन लाख बुझाएर नक्कली कागजातहरू प्राप्त गरी राहत शिक्षकको पद तथा विद्यालयको प्रधानाध्यापक नियुक्त भएको अख्तियारले जनाएको छ । उक्त पदमा कार्यरत रही ४ लाख ७ हजार ५ सय ९० रुपैंया तलब भत्ता खाएको भन्दै अख्तियारले सात लाख सात हजार पाँच सय ९० रुपैंया विगो कायम मुद्दा दायर गरेको छ ।
यस्तै चौरसियाले पटेलसँग लिएको ३ लाख घुस जफत गरी सरकारलाई हानिनोक्सानी पुर्याएको चार लाख सात हजार पाँच सय ९० रुपैंया असुल उपर गराउन माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक यादवलाई चार लाख सात हजार पाँच सय ९० रुपैंया विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया