Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बगाएको विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री

विहीबार, २६ कार्तिक २०७२

काठमाडौँ, २६ कात्तिक । पहिरो र भूकम्पबाट प्रभावित वनसाघुँ मावि ड्यामसाइडका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। २०७२ साउनमा गएको जुरे पहिरो र भूकम्पबाट प्रभावित बालबालिकालाई विद्यालय आउन प्रोत्साहन गर्ने उद्धेश्यले हिन्दु स्वंयमसेवक संघ नेपालले प्रत्येकलाई झोला, कापी, ज्यामिती बक्स, पेन्सिल लगायत वितरण गरेको हो । 

पहिरो स्थलमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेलले १ सय ३० छात्रछात्रालाई ती सामग्री हस्तान्तरण गरेका हुन् । सुनकोशी थुनिने गरी डेढ बर्ष अघि गएको पहिरोमा परेर आ आफ्नै घरमा सुतिरहेका अवस्थामा उक्त विद्यालयमा अध्ययनरत ३१ बालबालिकाको मृत्यु भएको थियो ।

संघका शैक्षिक सामग्री वितरण संयोजक तथा नेविसंघ केन्द्रिय सदस्य बलदेव तिमिल्सेनाका अनुसार अहिलेसम्म जिल्लाभर २१ विद्यालयलाई सामग्री वितरण गरि सकिएको छ । जिल्लाका प्रत्येक गाविसका कम्तीमा १ विद्यालयमा उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए । 

पहिरोले बगाएपछि बनाइएको बन साँघुको अस्थायी भवन पनि भूकम्पले भत्काएपछि अध्यापनमा समस्या आएको छ। कार्यक्रममा केन्द्रिय सदस्य पौडेल, हास्यकलाकार देवीराम पराजुली (भोकलाग्यो), प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष पुष्प बस्नेतले विद्यालयलाई थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

(आजको कान्तिपुर दैनिकको पृष्ठ ५ मा प्रकाशित समाचार) 

प्रतिक्रिया