Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकको 'गोल्डेन हेण्डसेक'मा घुस, किताबखानाका दुई कर्मचारी पक्राउ

बुधबार, १८ भदौ २०७६

काठमाडौं - अस्थायी शिक्षकको 'गोल्डेन हेण्डसेक' बुझ्ने क्रममा कागजात मिलाउने प्रयोजनका लागि घुस रकम लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखानाका दुई कर्मचारीलाई पक्रेको छ । ताहाचल स्थित किताबखानामा कागजात मिलाउन आएका अस्थायी शिक्षकसँग शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले घुस रकम बुझेको अख्तियारको दावी छ । 

अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग १५ हजार घुस र रिसवत माग गरिरहेको सूचना एवं उजुरीको आधारमा टोली परिचालन गर्दा उनीहरुलाई रंगेहात पक्रेको अख्तियारले जनाएको छ ।  घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित दुवै जनालाई  कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता  प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । 

लामो समय देखि समस्याका रुपमा रहेको अस्थायी शिक्षकको विषय समाधानका लागि शिक्षा ऐनको नवौं संशोधनमा अस्थायी शिक्षकलाई गोल्डेन हेण्डसेकको व्यवस्था गरिएको थियो । उक्त व्यवस्था अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा लिएर सबै प्रकृया पुरा गरेको थियो । गोल्डेन हेण्डसेक पाउने शिक्षकलाई शिक्षा मन्त्रालयले किताबखाना मार्फत् रकम भुक्तानीको व्यवस्था गरेको छ । 

प्रतिक्रिया