काठमाडौं १८ भदौ /विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला चिकित्सा शिक्षा ऐन कार्यान्वयन नभएसम्म नखोल्ने चेतावनी दिएका छन् । तालाबन्दीले २१ भदौदेखि सञ्चालन हुने एमबिबिएसको प्रवेश परीक्षा प्रभावित हुने भएको छ ।
नयाँ पत्रिकामा विद्यार्थीले ताला खोल्न मानेनन्, एमबिबिएसको प्रवेश परीक्षा अन्योलमा शिर्षकमा छापिएको खबर अनुसार चिकित्सा शिक्षा संघर्ष समिति र आइओएमका अधिकारीबीच मंगलबार भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले माग पूरा नभएसम्म परीक्षा हुन नदिने बताए । शिक्षा मन्त्रालयले भने वार्ताबाट समस्या समाधान गर्ने भन्दै संघर्ष समितिलाई ताला खोल्न आग्रह गर्दै आएको छ ।
ऐनविपरीत विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले आइतबारदेखि आइओएम र स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
संघर्ष समितिका प्रवक्ता कडरियाले आफूहरूले चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि मात्र दबाब दिएको बताए । आफ्ना मागमा अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनको पनि ऐक्यबद्धता रहेको उनको दाबी छ ।
ऐनअनुसार विद्यार्थी सिट संख्या तथा शुल्क निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा गर्नेलगायतका काम चिकित्सा शिक्षा आयोगले गर्ने व्यवस्था छ । सरकारले आयोग उपाध्यक्ष नियुक्तिमा ढिलाइ गरिरहेको छ । त्यसको फाइदा उठाउँदै विश्वविद्यालय र प्रतिष्ठानहरूले आफ्नो अनुकूलमा भर्ना प्रक्रिया सञ्चालन गरिरहेका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता प्रवीण लामालाई प्रहरीले प्रक्राउ गरी रिहा गरेको छ । चितवन मेडिकल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत लामालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनले प्रक्राउ गरेको थियो ।
प्रतिक्रिया