Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

शिक्षक छनौट गर्न विज्ञ समूह, ईच्छुक शिक्षकबाट निवेदन माग

मंगलबार, १७ भदौ २०७६

नवलपरासी - आफ्ना क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा आवश्यक शिक्षक छनौटका लागि रामग्राम नगरपालिकाले विज्ञ समूह निर्माणको प्रकृया शुरु गरेको छ । पालिका भित्र रहेका विद्यालयमा कुनै पनि कारणले शिक्षक वा विद्यालय कर्मचारी अभाव भयो भने तत्काल नयाँ नियुक्ति गर्न आवश्यक प्रकृयाका लागि विषय विज्ञका रुपमा कार्य गर्न ईच्छुक शिक्षक तथा प्रधानाध्यापकहरुबाट पालिकाले निवेदन माग गरेको छ । 

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेसँगै नजिकको सरकारबाट हुने कडिकडाउ नियमनबाट शिक्षकका नेताहरु आत्तिएका छन् । सोही कारण स्थानीय सरकार र शिक्षकहरु बीचको सम्बन्ध धुमिल भईराखेको बेला रामग्राम नगरपालिकाले शिक्षकहरुलाई नै साथमा लिएर काम शुरु गर्न लागेको हो । 

माध्यमिक तहको विज्ञका लागि सम्बन्धित विषय वा शिक्षा शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी १० महिने तालिम वा सो सरहको योग्यता हासिल भएको हुनु पर्ने मापदण्ड निर्धारण गरिएको छ । आधारभूत तहको हकमा उक्त तालिम सहित स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड तय गरिएको छ । विज्ञका रुपमा काम गर्न चाहनेहरुसँग कम्तिमा ५ बर्ष शिक्षण अनुभव र सोही तहको स्थायी शिक्षक हुनु पर्ने छ । दुवै तहका लागि विज्ञ हुन चाहनेले अलग अलग निवेदन दिनु पर्ने पालिकाका शिक्षा शाखा प्रमुख रुद्र प्रसाद रेग्मीले जानकारी दिए । 

'शिक्षा भन्ने वित्तिकै शिक्षक जोडिएर आउने पक्ष हो, शिक्षा सुधारका लागि पालिका र शिक्षकहरु मिलेर काम गर्नुको विकल्प छैन, त्यसैले हामी शिक्षकहरुसँग सहकार्यमै काम गरिरहेका छौं' रेग्मीले भने, 'स्थानीय सरकारको क्षेत्र भित्रका विज्ञ भनेको शिक्षक नै हुन्, उहाँहरुको क्षमता र विज्ञतालाई सार्वजनिक शिक्षा सुधारमा कसरी अधिकतम प्रयोग गर्ने भन्ने बारेमा हामी दुबै पक्ष सचेत र गम्भिर छौं ।'  

शिक्षक र विद्यालय कर्मचारी नियुक्तिका लागि पालिकाले बनाएको कार्यविधिका आधारमा काम हुने उनले बताए । यस अघि जिल्ला शिक्षा कार्यालयले बनाएको विज्ञ  समूहको पदावधि सकिएका कारण विज्ञको सूची अद्यावधिक गर्न लागिएको उनको भनाई छ ।  

पालिका भित्र रहेका ३२ वटा सामुदायिक विद्यालयमा प्राविधिक धार सहित २ सय ६ जना शिक्षक छन् । प्राविधिक तर्फबा ६ जना बाहेक ३९ जना राहत कोटामा, अस्थायी तर्फ ३२ जना प्राविमा, २, २ जना निमावि र माविमा छन् । बाँकी १ सय २५ जना स्थायी शिक्षक छन् । 

स्थायी शिक्षकको मात्रै भर पर्ने हो भने प्रति विद्यालय औषतमा ३ जना मात्रै शिक्षक पर्ने भए पछि पालिकाले आफ्नै श्रोतबाट अस्थायी शिक्षक नियुक्तिका लागि शिक्षण सिकाइ सहयोग अनुदानको समेत ब्यवस्था गरेको छ । 

'कतिपय विद्यालयमा त शुन्य दरबन्दी छन्, कतिपयमा १ जनाको मात्रै दरबन्दी छ, यसरी त बालबालिकाको पठन पाठन हुँदैन, त्यसैले पालिकाको श्रोतबाटै भए पनि शिक्षक नियुक्ति गर्नु पर्छ भनेर हामी अघि बढेका छौं' रेग्मीले भने, 'सरकारले तोकेको स्केल मै त तलब दिन नसकिएला तर बालबालिकाको पढ्न पाउने हक सुनिश्चित गर्ने दायित्व स्थानीय सरकारको भएकाले हामीले तत्काल १८–१९ वटा कोटा थप्ने गरी गृहकार्य गरेका छौ ।'

पालिका भित्र २८ निजी विद्यालय र २ वटा सामुदायिक क्याम्पस छन् । 

 

प्रतिक्रिया