भक्तपुर - चाँगुनारायण नगरपालिकाले ल्याएको स्वेच्छिक अवकासको 'अफर'मा शिक्षकले अरुची देखाएका छन् । आफूहरुलाई 'अयोग्य र काम गर्न नसक्ने' रुपमा ब्याख्या गर्ने पालिकाको तयारी त हैन ? भन्ने शंकाको उचित निवारण नभए पछि उक्त अफरमा रुची देखाउने शिक्षकहरुको संख्या कम भएको एक जना शिक्षक बताउँछन् । आफ्ना नेताहरुका कारण पनि शिक्षकहरु खुलेर अफरमा सहभागी हुन नसकेको एक जना शिक्षक अड्कल काट्छन् । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेसँगै नजिकको सरकारबाट नियमन हुन थाले पछि शिक्षक नेताहरुको विरोध जारी छ ।
'हुन त पेन्सन भईसके पछि बसिरहन मन त छैन तर, यसले पुराना शिक्षक भनेका अयोग्य हुन् भन्ने कुरा स्थापित गर्ने त हैन भन्ने नेताहरुले शंका व्यक्त गरिदिनु भएको छ' ती शिक्षक भन्छन्, 'नयाँ नयाँ प्रविधि र तरिकाले पढाउन नसक्ने भए पछि नयाँ पुस्तालाई ठाउँ छाड्ने वातावरण बनाईदिदाँ त राम्रै हुने हो तर सबै कुरा आफैंले सोचे जस्तो पनि नहुने नेताहरुका कुरा पनि सुन्नै पर्यो ।'
फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याएर सार्वजनिक शिक्षा सुधार गर्ने उद्धेश्य सहित आफ्नो क्षेत्र भित्र कार्यरत स्थायी शिक्षकलाई लक्षित गरी पालिकाले उक्त योजना ल्याएको थियो ।
२५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकहरुले स्वेच्छिक अवकास रोजेमा एक लाख रुपैंया थप उपदान रकम उपलब्ध गराउने निर्णय गरेर नगरपालिकाले साउन मसान्त सम्मको म्याद दिएको थियो । तोकिएको म्याद भित्र जम्मा ८ जनाले मात्रै रुची देखाए पछि उक्त म्याद थप्ने आन्तरिक तयारी भएको नगरपालिका श्रोतले जनाएको छ ।
पालिका भित्र रहेका ३५ सामुदायिक विद्यालयमा कार्यरत ३ सय ५६ मध्ये २ सय ५८ स्थायी शिक्षक छन् । स्थायी मध्ये लगभग २२ –२५ जनाले यो अफर रोज्ने पालिकाको अनुमा थियो ।
'अफरलाई शिक्षकले पालिकाले हेपेको रुपमा पनि बुझेको देखिएको छ' उक्त श्रोतले भन्यो, 'तर केही शिक्षकहरुले दशैं पेश्की खाएर अफरमा सहभागी हुने मनशाय व्यक्त गरे पछि म्याद थीने की भन्ने अनौपचारिक छलफल चलेको छ ।'
पाँचौ नगर सभाबाट स्विकृत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार उक्त योजना सार्वजनिक गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
बढ्दो प्रविधिको प्रयोगले ल्याएको अवसर र चुनौतीलाई कक्षा कोठामा रुपान्तर गर्ने शिक्षकहरु नभए सम्म समय सुहाउँदो शिक्षाको कल्पना गर्न नसकिने भएकाले पाका शिक्षकहरुलाई धन्यवाद सहित विदाई गर्ने योजना ल्याईएको मिश्रले बताए ।
'लामो समय शिक्षा सुधारमा व्यतित गरिसक्नु भयो, उहाँहरुलाई धन्यवाद छ' उनले भने 'अबको समय भनेको प्रविधिको प्रयोग सहित समय सुहाउँदो शिक्षा दिनु पर्ने समय हो, उहाँहरु भन्दा फ्रेस शिक्षक कक्षा कोठामा जाने वातावरण निर्माण गरियो भने सार्वजनिक शिक्षा सुधारमा सहयोग पुग्छ, त्यसैले उहाँहरुलाई सम्मान स्वरुप विदाई गर्ने पालिकाको योजना हो ।’
संविधानले विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकार मातहत गरेसँगै पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियान अन्र्तगत यो पनि एउटा कार्यक्रम रहेको मिश्रले बताए ।
प्रतिक्रिया