Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

शिक्षा सचिवमा दहाल, सहसचिवहरुको पनि सरुवा तयारी

मंगलबार, ०३ भदौ २०७६

काठमाडौं - सरकारले शिक्षा सचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गर्ने क्रममा शिक्षा सचिव खगराज बराललाई हटाएर उनका ठाउँमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहाललाई शिक्षा सचिव बनाउने सरकारले निर्णय गरेको हो । 

प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार सोमबारको उक्त निर्णय बुधबार बस्ने मन्त्रीपरिषद् बैठक पछि औपचारिक रुपमा सार्वजनिक गरिने छ । उपचारका लागि बिहीबार प्रधानमन्त्री केपी ओली सिंगापुर जानु अघि बुधबार बेलुका ४ बजेका लागि मन्त्रीपरिषद् बैठक डाकिएकाले त्यस पछि मात्रै उक्त निर्णय सार्वजनिक गर्ने तयारी रहेको उक्त श्रोतले जानकारी दियो । बराललाई स्वास्थ्य मन्त्रालयको सचिव बनाईएको छ ।* 

२०४४ सालमा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका दहालले लामो समय श्रम र स्थानीय विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा रहेर कार्य गरेका थिए । उनको शुरुको पोष्टिङ् नै तत्कालिन श्रम र समाज कल्याण मन्त्रालयमा भएको थियो । ०४९ मा उपसचिव र ०६३ सालमा सहसचिव भएका दहाल हङ्कङ्को महावाणिज्य दूत पनि भएका थिए । उनी ०७२ साल असोजमा सचिवमा बढुवा भएका हुन् ।  

तत्कालिन समयमा प्रधानमन्त्री कार्यालयमा कार्यरत बराललाई सरकारले २०७४ साल चैत २३ गते शिक्षा सचिव बनाएको थियो । तत्कालिन सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेर बराललाई शिक्षा सचिव बनाईएको थियो । 

२०५१ सालमा विद्यालय निरिक्षक बने देखि सचिवमा बढुवा हुँदा सम्मको सेवा अवधिमा शिक्षा मन्त्रालय अन्र्तगत कार्य गरेका बराल सचिव भएसँगै शिक्षा बुझेको ब्यक्ति भन्दै प्रभावकारी कार्य हुने अपेक्षा गरिएको थियो । तर उनले प्रभावकारी कार्य गर्न नसकेको मन्त्रालय भित्रै तिव्र गुनासो रहँदै आएको छ । 

संघीयता कार्यान्वयनको चरणमा शिक्षाका विषयलाई जुन रफ्तारमा गति दिनु पर्ने थियो सो कार्य गर्न नसकेको र उनकै फितलो कार्यशैलीका कारण कर्मचारी समायोजनमा शिक्षाका कर्मचारी माथि विभेद भएको उनी माथि आरोप छ । उनकै कार्यशैलीले मन्त्रालयको कार्य सम्पादन चुस्त हुन नसकेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको विश्लेषण पछि उनको सरुवा गर्न सहमती दिएका उनी निकट श्रोतले जनाएको छ ।  

पछिल्लो समय बरालले शिक्षकका नेताहरुको मागमा 'ल्याप्चे लगाएर' स्थानीय सरकारबाट विद्यालय शिक्षाका अधिकार कटौतीको प्रयास गरी संविधानको मर्म विपरित कार्य गरेको आरोप समेत लाग्दै आएको छ । स्थानीय सरकारले कडिकडाउ गर्न थाले पछि उनीहरु मातहत नबस्ने शिक्षकका नेताहरुको मागमा उनले मन्त्रालयका तर्फबाट लिखित सहमती गरेका थिए । 

राष्ट्रिय शिक्षा ऐन जारी गर्न नसक्नु, सरोकारवालाहरुसँग छलफल नै नगरी गोप्य रुपमा शिक्षा नीति तयार गर्नु जस्ता उनका शैली पनि आलोचना मुक्त हुन सकेकनन् । 

नयाँ आएका सचिव दहालका अघिल्तिर बरालले गरिसकेका गल्ती सच्याउने र निर्माणका चरणमा रहेका शिक्षा ऐन र नीतिलाई अन्तिम निश्कर्षमा पुर्याउनु पर्ने अभिभारा छ । संघीयता सँगै पेचिलो बनेको शिक्षाको समग्र विषयलाई कार्यान्वयन गरी पूर्वाधारको पनि पूर्वाधार शिक्षा सुधार गर्ने उक्त चुनौती उनका लागि ठूलो अवसर पनि हो । यो चुनौतीलाई उनले कसरी अवसरमा रुपान्तरण गर्छन् त्यो भने उनको कार्यशैलीले प्रष्ट पार्दै जाने छ । 

सचिवहरुको सरुवा अन्र्तगत लामो समय शिक्षा मन्त्रालयमै रहेर सचिव भए पछि महालेखा नियन्त्रक बनेका सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैबीच शिक्षा मन्त्री पोखरेलले मन्त्रालय अन्र्तगतका सहसचिवहरुको सरुवाको आन्तरिक तयारी समेत गरेको उनी निकट श्रोतले जनाएको छ । उनीहरुसँग मन्त्रीले एक्ला एक्लै छलफल शुरु गरेका छन् । पछिल्लो समय मन्त्रालयको कार्य सम्पादन सोचे जस्तो प्रभावकारी नभएको भन्दै गुनासो बढ्न थाले पछि मन्त्री पोखरेलले सबै सहसचिवहरुलाई जिम्मेवारी फेरबदल गर्ने गरी गृहकार्य शुरु गरेका उक्त श्रोतले जनाएको छ । 

'कुन सहसचिवलाई कहाँ भन्ने निश्कर्षमा त पुगिसकिएको छैन तर कसको रुची कहाँ हो र उनीहरुको क्षमता केमा छ भन्ने कोणबाट छलफल शुरु भएको छ' उक्त श्रोतले भन्यो 'सके सम्म रुची भएकै ठाउँमा राख्दा कार्य सम्पादन प्रभावकारी हुन्छ की भन्ने अपेक्षा अनुसार छलफल जारी छ ।'

* सच्याईएको - सं. 

प्रतिक्रिया