Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बन्द र नाकाबन्दीले शैक्षिक सत्र एक वर्ष सर्ने !

मंगलबार, २४ कार्तिक २०७२

काठमाडौँ, २४ कात्तिक । लगातार जसो आन्दोलनरत मधेसी मोर्चाको बन्दले निम्त्याएको भारतीय नाकाबन्दीले शैक्षिक क्षेत्रमा ठूलो समस्या पारेको छ। नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनले यस वर्षको शैक्षिक सत्र एक वर्ष पर सर्ने अवस्था सिर्जना भएको छ । यसले विश्वविद्यालयहरूको अवस्था बेहाल बनेको छ ।

विश्वविद्यालय मात्र होइन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले एकपटक स्थगित गरेर परीक्षा लिने तयारी गरे पनि सञ्चालन गर्न सकिनेमा ढुक्क हुन सकेको छैन । सिटिइभिटीले एक–डेढ महिनाभित्रै परीक्षा सञ्चालन गर्न नसके शैक्षिक वर्ष नै नोक्सान हुने जनाएको छ । हाल मुलुकमा नौवटा विश्वविद्यालय सञ्चालनमा रहे पनि नाकाबन्दी र तराई–मधेसको आन्दोलनको सबैभन्दा ठूलो मारमा त्रिभुवन विश्वविद्यालय परेको छ ।

६० भन्दा बढी आंगिक क्याम्पस र लाखौँको संख्यामा विद्यार्थी भएकाले अन्य विश्वविद्यालयको भन्दा त्रिविले ठूलै समस्या भोग्नुपरेको छ । मुलुकमा देखिएको पछिल्लो घटनाक्रमका कारण त्रिविले परीक्षासमेत स्थगित गरेको छ ।  दसैँअघि सम्पन्न गर्नुपर्ने परीक्षा रोकिएका छन् । त्रिवि उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले भूकम्पले ठूलो क्षति व्यहोरेको विश्वविद्यालयले नाकाबन्दीका कारण अर्को संकट भोग्नुपरेको बताए । 

त्रिविले असुरक्षा र इन्धन अभावका कारण तराईमा स्नातक तहको परीक्षा स्थगित गरेको थियो । परीक्षा सञ्चालनको अवस्था देखिए पनि कागज ल्याउन नसक्दा उत्तरपुस्तिकामा ठूलो समस्या भोग्ने देखिन्छ । उपकुलपति खनियाँले कागज नहुँदा प्रेसका काम रोकिएको र उत्तरपुस्तिकाको स्टक तयार पार्न नसकेको बताए ।

परीक्षा सम्पन्न भएका विषयको उत्तरपुस्तिका परीक्षणका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्ने भए पनि इन्धन अभावले काम हुन नसकेको उनको भनाइ छ । त्रिविको आगामी दीक्षान्त समारोहको तयारीसमेत रोकिएको छ । इन्धन अभावले कर्मचारी आवत–जावत र काममा परेको समस्या त छँदै छ, कार्यालयकै दैनिक कामसमेत प्रभावित बनेका छन् ।

(आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार) 

प्रतिक्रिया