काठमाडौं १९ साउन / त्रिभुवन विश्वविद्यालय सेवाआयोगका अध्यक्ष र सदस्यको नियुक्तिको खबर आजका पत्रपत्रिकाले प्रकाशन गरेका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर उड्नु अघि प्रधानमन्त्री केपी ओलीले शनिबार अध्यक्ष प्रा.डा. लालु पौडेललाई अध्यक्षमा र हेमराज ढकाललाई सदस्यमा नियुक्त गरेका थिए । उक्त नियुक्तिमा फेरी पनि भागवण्डा भएको कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् । उक्त खबर अनुसार पौडेल पूर्व एमाले र ढकाल पूर्व माओवादी निकट हुन् ।
शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय समितिले शनिबारै उनीहरूको नाम सिफारिस गरेको थियो । उनीहरूले नियुक्तिपत्र भने बुझिसकेका छैनन् ।
यस्तै आजको नयाँ पत्रकिाले बिएलाई चारवर्षे बनाउने त्रिविको तयारी शिर्षकमा समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरेको हो । कक्षा १२ को नतिजा सार्वजनिक भएर बिएमा भर्ना लिने समय आइसक्यो, तर अधिकांश विषयका कोर्स नै तयार छैनन् भनदै भवानीश्वर गौतमले लेखेको उक्त खबरमा कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयको कोर्स तयार नभएको उल्लेख छ ।
विश्वविद्यालयले छिटो कोर्स तयार गर्न निर्देशन दिएपछि कतिपय विषय समितिले तीनवर्षेको पहिलो वर्षको कोर्र्सलाई तलमाथि गरेर बुझाउने तयारी गरेका छन् ।
प्रतिक्रिया