काठमाडौं - आफू मातहतका कर्मचारीलाई खटाई घुस लिएको अभियोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका इञ्जिनियर दिपेन्द्र कुमार देव पक्राउ परेका छन् । काभ्रेको महाभारत क्षेत्रका विद्यालय भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि घुस मागेको सूचना एवं उजुरीका आधारमा अनुसन्धान गर्दा आफू मातहतका २ कर्मचारीलाई समेत खटाई उनले घुस लिएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दावी छ ।
शिक्षा समन्वय इकाइ काभ्रेका सव इञ्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इञ्जिनियर निरज कुमार चौधरलाई परिचालन गरी उनले घुस रकम बैंकमा जम्मा गर्न लगाएका थिए । आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस् र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस् भन्ने उद्देश्यले देवले भगतलाई र भगतले चौधरीलाई अह्राइ सिकाइ अग्रसर गराएको अख्तियारको दावी छ ।
विद्यालयको मर्मत सम्बन्धी कार्य फरफारक गर्ने गराउने सिलसिलामा सेवा ग्राहीबाट घुस रकम माग्ने र उक्त रकम बैङ्क खातामा जम्मा गर्न लगाउने उनीहरुको योजना अनुसार राष्ट्रिय वाणिज्य बैङ्क बनेपामा एक लाख पचास हजार रुपैंया जम्मा गर्न लगाई भौचर लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई एक लाख पचास हजार रुपैंया विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भगत विरुद्ध सरकारी र सार्वजनिक पदमा नरहेको अवस्थामा पनि विद्यालयको कार्य सम्पन्न प्रतिवेदन तथा विद्यालयको रोक्का रकम फुकुवा सम्बन्धी पत्रमा सार्वजनिक पद धारण गरेको कर्मचारी सरह दस्तखत प्रमाणित गरी आफूले नपाएको अधिकार प्रयोग गरेको अभियोगमा मुद्दा दायर गरेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया